यो बेलाको आफ्नो दायित्वमा सरकार स्पष्ट बन्नुपर्छ

पूर्व तयारीबिना नै महामारीसँग जुझ्नपर्ने वाध्यता नेपालका लागि आइलाग्यो । यद्यपि चस्नमा यो संक्रमण देखिएको अवधि र नेपालमा यसको प्रवेशको अवधिमा धेरै समय थियो, त्यो बेलामा प्रशस्त तयारी गर्न सकिन्थ्यो, यसो हुन सकेन । सिङ्गो देश संक्रमणको विरुद्धको लडाईमा एक ठाउँमा उभिँदा पनि संक्रमण फैलिरहेको छ ।

एक ठाउँ उभिएको भनिए तापनि सबै पक्षसँग सहकार्य गर्ने तत्परता भने सरकारले देखाइरहेको छैन । सरकारमा सँगै नरहे पनि कोरोनाको विरुद्धको लडाईमा सरकारसँगै छौँ भन्ने प्रतिपक्ष दलसँग पनि सरकारले पर्याप्त छलफल गरेन । यो अवसर थियो सरकारका लागि तर यसको एक्लै हिड्ने महत्वाकांक्षाले आवश्यक अन्तत्र्रिmया र सहकार्यको सम्भावनालाई नकार्दियो ।

महामारी र आपतकालीन भनेकै यहाँबाट सुरु भएर यहाँ जान्छ भन्ने हुँदैन । पूर्व तयारी हुनुपर्छ । महामारी विरुद्धको लडाईमा होमिनु नै पर्छ तर कहाँ पुगिन्छ भन्ने थाहा हुँदैन । भ्याक्सिन बनेको भोलि नै सुन्न पनि सकिन्छ, वर्षौ लाग्न पनि सक्छ । महामारीको समयमा यस्तो अनिश्चितता हुनु स्वभाविक हो । त्यसकारण नागरिकले सामाजिक दूरी, स्वासप्रस्वासमा र हातको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । यो कुरा संस्कारका रुपमा विकास गर्न नागरिक अग्रसर हुनुपर्छ ।

नागरिकको यो दायित्व भएजस्तै यस्तो बेलामा राज्यको पनि विशिष्ट दायित्व हुन्छ । त्यो दायित्व निर्वाह गर्न सरकार सक्षम देखिनु पर्दछ । यो अवस्थामा राज्य पनि नियमित भ्याक्सिनको खोज अनुसन्धानमा लाग्नुपर्छ । आफ्नो क्षमता र जनशक्तिको अधिक्तम परिचालन यसका लागि गर्न सक्नु पर्दछ । त्यस्तै संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ र परीक्षणको दायरा बढाउनुपर्छ । राज्यले यो बेलामा नागरिकले वाह ! भन्ने खालका सान्दर्भिक नियम र तरिका बताउन सक्नुपर्छ । जनताले आइसोलेशन, क्वारेन्टाइनको कस्ता समस्या भोगेका छन् ? अरुहरुको स्वास्थ्य सेवामा पहुँच के छ ? सुत्केरी, गर्भवतीको जाँच के छ ? दीर्घरोगी, आकस्मिक उपचारको व्यवस्थापन कस्तो छ ? विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई दिने स्वास्थ्य सेवा र उनीहरुलाई पहुँचयोग्य भाषामा सूचना दिइएको छ कि छैन ? यीतर्फ पनि विशेष ध्यान दिनपर्ने हुन्छ ।

साथै यस्तो महामारीको बेलामा हुने मानसिक आघातको व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्दछ । यी राज्यका महामारीका समयका प्राथमिक दायित्वभित्रका कुराहरु हुन् । विज्ञहरु भन्छन्– ‘उल्लेखित सवालको जवाफ पाइयो भने मानसिक आघातको समस्या न्यून भएर जान्छ ।’

क्वारेन्टाइनको सुरक्षा महत्वपूर्ण हुन्छ यस्तो बेला । जो महशुस हुनसकेको छैन । क्वारेन्टाइनबाट बाहिर गएर समुदायमा होहाल्ला, झैझगडा गरेका घटनाहरु, आन्दोलनको तयारीका सूचनाहरु आइरहेका छन् । त्यहाँको सुरक्षा भनेको गेटमा पाले राखेर रोक्ने मात्र हैन, भित्रको वातावरण डररहित र स्तरीय बनाउनु पनि हो । त्यहाँबाट मान्छे नभाग्ने अवस्था बनाउन सरकारले ध्यान दिनुपर्दछ । सरकारले आफ्नो दायित्वको दायरालाई समयमै बुझेर त्यसअनुसार प्रस्तुत हुने कुरालाई गम्भीरताका साथ लिन आवश्यकताको महशुस भएको छ ।