सुप्रिया मां
(भाग–२)
यो संसारमा आफ्ना भन्ने मानिसहरु पनि छन्, त्यसकारणले पनि हामीलाई रमाइलो लागेको छ । आफ्ना भन्ने मानिसहरु कोही पनि नहुने हो भने हामीलाई यो संसार नरमाइलो, निराश र अर्थहीन लाग्छ । मानिस एक्लो भएर जीउन चाहँदैन । आफ्ना भन्ने मानिसहरु पनि छन्, सबैको प्रेम र सहयोग मैले पाइरहेको छुँ, मलाई अरुले प्रेम गर्छन् भन्ने महशुस मानिसले गरिरहन चाहन्छ । मानिसको यो आन्तरिक स्वभाव हो ।
सबै मानिसहरु मेरा आफ्ना हुन्, सबैसँग मेरो राम्रो सम्बन्ध छ, म अरु मानिसहरुलाई प्रेम गर्छु र अरु मानिसहरुले पनि मलाई प्रेम गर्छन् भन्ने भावना राखेर जीवन जीउनुको छुट्टै आनन्द छ । सबैसँग राम्रो सम्बन्ध राख्न जान्नु एउटा दिव्य कला हो । यस्तो कला भएको मानिस संसारमा सफल हुँदै जान्छ र आफू भित्रबाट खुशी, शान्त र आनन्दित पनि भइरहन्छ । राम्रो सम्बन्ध राख्ने कलाको कुरा गर्दा मैले पुस्तकमा पढेको एक जना रशियन सन्त जाँर्ज गुरजिएफको जीवनसँग सम्बन्धित एउटा घटना मलाई याद आयो ।
जॉर्ज गुरजिएफ सानो छँदा उँहालाई आफ्ना पिताले जीवनको अन्तिम समयमा एउटा कुरा भन्नुभएको रहेछ । पिताको मृत्युको अन्तिम समय आएको थियो । पिताले उहाँलाई बोलाएर भन्नुभयो ‘मेरो जीवनको अन्तिम समय आयो, तिमी मेरो छोरा हौ, मैले तिमीलाई यो अन्तिम समयमा एउट कुरा भन्दै छु । मेरो यो कुरा तिमीले आफ्नो जीवनमा उतार्नु र जीवनभरि पितालाई दिएको वचन भनेर मानिदिनु ।’ पिताले उहाँलाई भन्नु भयो ‘कुनैबेला तिमीलाई अरु मानिसहरुसँग रिस उठ्यो र तुरुन्तै केही नराम्रो कुरा भन्न मन लाग्यो भने त्यसलाई तुरुन्तै नभनेर चौबीस घण्टा कुर्नु र चौबीस घण्टापछि मात्र भन्नु तर मन खुशी र रमाएको बेलामा कसैलाई केही राम्रो कुरा भन्न मन लाग्यो वा कसैको प्रशंसा गर्न मन लाग्यो भने त्यो तुरुन्तै गरिहाल्नु ।’
जॉर्ज गुरजिएफ भन्नुहुन्छ–‘मैले पितालाई उहाँको अन्तिम समयमा दिएको त्यो वचन आफ्नो जीवनमा उतारेँ र कहिल्यै पनि भुलिन । पिताको त्यो बचन पालन गरेको कारणले गर्दा जीवनभरि सबैसँग मेरो सम्बन्ध राम्रो बनिरह्यो, सम्बन्धले मलाई सधैँ खुशी र आनन्द दियो । यति सानो कुराले पनि मेरो जीवनमा कति ठूलो परिवर्तन ल्याइदियो, मलाई सबैको सहयोग मिल्यो र म आज यो ठाउँमा छु ।’ चौबीसघण्टा कुर्दा के हुन्छ ? चौबीस घण्टामा हामीभित्र उठेको क्रोधको ताप र नकारात्मक भावना हराएर जान्छ । क्रोधको तापले मानिसलाई बेहोस बनाएको हुन्छ । रिस वा क्रोधको तापमा मानिसले के सही हो र के गलत हो भनेर छुट्याउन सक्दैन । क्रोधमा भएको मानिसले राम्रो र नराम्रो कुरा कहिल्यै पनि छुट्टाउन सक्दैन । रिसको वेगमा मानिस विवेकशून्य भएको हुन्छ र अरुलाई जे पनि भनिदिन्छ । क्रोधको अग्नि सेलाएपछि मात्र के सही र के गलत हो, के भन्न हुन्छ र के भन्न हुँदैन, त्यो कुराको ज्ञान हुन्छ ।
चौबीस घण्टा पनि कुर्नु पर्दैन मात्र तीन घण्टा कुर्न सक्ने हो भने पनि हामीभित्र रहेको त्यो रिसको अग्नि सेलाएर जान्छ । रिस कम भएपछि र मन शान्त भएको बेलामा जे भन्न खोजेको हो त्यो कुरालाई सम्बन्ध नबिगारिकन राम्रो तरिकाले भन्न सकिन्छ । अब विवाद होइन सम्वाद गर्न सकिन्छ । अरुको गल्ती भए राम्रोसँग सम्झाएर बुझाएर आफ्नो कुरा राख्न सकिन्छ र आफ्नो गल्ती भए माफी माग्न पनि सकिन्छ । क्रोधमा मानिसले आफ्नो गल्ती कहिल्यै पनि देख्दैन र माफी माग्ने कुरै हुँदैन ।
केही समयपछि रिस हराउँछ र नकारात्मक भावनाहरु पनि कम हुन्छन् अनि बल्ल मानिसलाई पछुतो लाग्छ, तर सम्बन्ध बिग्रिसकेको हुन्छ । धेरै मानिसहरुको सम्बन्ध यसरी नै रिसको वेगमा बोलेर बिग्रिएको हुन्छ । मन खुशी, उत्साहित र शान्त छ र कसैलाई केही राम्रो कुरा भन्न मन लागेको छ अथवा कसैलाई प्रशंसा गर्न मन छ भने त्यो तुरुन्तै भनिहाल्नु पर्छ । किनकि त्यो भावना पनि केही समयपछि हराएर जान्छ ।
हामीभित्र उठेका भावनाहरु लामो समयसम्म एउटै प्रकारको रहँदैन । त्यो परिवर्तन भइरहन्छ । त्यसकारणले रिस उठेको छ र कसैलाई केही नराम्रो कुरा भन्न मन छ भने चौबीस घण्टा कुर्ने र केही राम्रो कुरा भन्न मन छ भने तुरुन्तै भनिहाल्नु पर्छ । यसो गर्ने हो भने अरुसँगको सम्बन्ध बिग्रन पाउँदैन र राम्रो रहिरहन्छ । यस्ता कुराहरुमा ध्यान दिने हो भने सम्बन्धलाई राम्रो बनाइराख्न सकिन्छ ।
१. सबैका विचारहरुलाई सम्मान गर्ने
मानिस एउटा चेतनशील प्राणी हो । प्रत्येक मानिसको आ–आफ्नो सोच्ने, बुझ्ने, मनन् गर्ने र ग्रहण गर्ने क्षमता हुन्छ । सोच्ने र मनन् गर्ने क्षमता आ–आफ्नो भएपछि विचार पनि फरक–फरक हुनसक्छ । हामीलाई आफ्नोभन्दा फरक विचार राख्ने मानिस मेरो शत्रु हो भन्ने लाग्छ, यो हाम्रो सोच गलत हो । विचार नमिल्ने बित्तिकै हामी त्यो मानिसलाई शत्रुको नजरले हेर्न थाल्छौँ र बारम्बार वादविवाद गरिरहन्छौँ ।
अरुको विचारलाई सम्मान नगर्नु र मूल्य नदिनु भनेको अति संकुचित मानसिकता हो । यो संसार विभिन्न विचार भएका मानिसहरुको एउटा सुन्दर फूलबारी हो । सबैको विचार एउटै भइदिएको भए सायद हामीलाई यो संसार रमाइलो लाग्दैनथ्यो होला । विभिन्न फूलहरु फूलेको फूलबारी नै हेर्न राम्रो लाग्छ । यसैगरी विभिन्न विचार भएका मानिसहरुसँग धेरै कुरा सिक्ने र बुझ्ने मौका पाइन्छ । अरुका फरक विचारलाई पनि हामीले सम्मान गर्न सक्नुपर्छ । यसो गर्ने हो भने सबै मानिसहरुसँग मिलेर रहन सकिन्छ र सम्बन्ध पनि राम्रो रहन्छ ।
२. आफूमा केही त्यागको भावना
सम्बन्धलाई राम्रो बनाउन आफूमा पनि केही त्यागको भावना हुनुपर्छ । स्वार्थी मानिसले कहिल्यै पनि सम्बन्ध राम्रो बनाउन सक्दैन । स्वार्थीपनबाट माथि उठेर सोच्नु र मनन् गर्नु पर्दछ । हाम्रो र हामी भन्ने बानी बसाल्नु पर्छ । म र मेरो मात्र भनिरहने हो भने हामीले धेरै मित्रहरु र आफन्तहरु गुमाउँदै जान्छौँ ।
३. कसैसँग पनि कुनै प्रकारको आशा र अपेक्षा नगर्ने
अरुसँग धेरै आशा र अपेक्षा गर्नु राम्रो होइन । मैले अरुलाई यस्तो सहयोग गरेँ र अरुले पनि मलाई यस्तो सहयोग गरे हुन्थ्यो भनेर आशा र अपेक्षाहरु राखेका छौँ भने त्यो पूरा नहुन सक्छ । हामीले गरेका आशा र अपेक्षाहरु एकदिन टुट्छन् र हामीलाई दुःख लाग्छ ।
आशा र अपेक्षाहरु पूरा नभएपछि सम्बन्ध पनि विस्तारै बिग्रिन्छ । कुनै प्रकारको आशा र अपेक्षा गरेको छैन भने अरुले थोरै राम्रो गर्दा पनि हामीलाई रमाइलो, खुशी र आनन्द लाग्छ । आफूले जति सकिन्छ सहयोग र राम्रो गर्ने हो । अरुले आफूलाई सहयोग गर्छन् भने ठिक छ र गर्दैनन् भने त्यो पनि ठिक छ भन्ने सोच बनाउनुपर्छ । आशा र अपेक्षाहरुले मानिसलाई दुःखतिर लैजान्छ ।
४. आन्तरिक शान्ति र खुशी
मन शान्त, खुशी र रमाइलो लागेको बेलामा अरु मानिसहरुसँग कुरा गर्ने हो । मन अशान्त र निराशाका भावनाहरु आएको बेलामा चुप लागेर बस्ने हो । मन शान्त छ, विचार र भावना सकारात्मक छ भने मात्र अरुसँग पनि सकारात्मक सोच र राम्रो व्यवहार गर्न सकिन्छ । सकारात्मक भावनाहरु छन् भने अरुलाई राम्रो दृष्टिले हेर्न सकिन्छ । अशान्त मानिसले कहिल्यै पनि अरुसँग राम्रो सम्बन्ध राख्न सक्दैन ।
अशान्त मनले सम्बन्धलाई बिगार्छ । दुःखका मात्र कुरा गर्ने मानिस कसैलाई पनि राम्रो लाग्दैन । दुःखका कुरा कसैले पनि सुन्न चाहँदैन । सबै मानिसहरु उसैका छेउमा बस्न मन पराउँछन जो सकारात्मक, खुशी, उत्साहित, शान्त र आनन्दित छ । सबैसँग राम्रो सम्बन्ध बनाउनका लागि भित्रबाट खुशी, शान्त र आनन्दित रहने कला हामीले सिक्नु पर्छ । योग, ध्यान र सत्सँगले हामीलाई भित्रबाट शान्त, सकरात्मक र उत्साहित बनाउँछ र सबैसँग मित्रताको भावना रहन्छ । सबैसँग राम्रो सम्बन्ध बनाउनका लागि अध्यात्मले हामीलाई ठूलो सहयोग गर्दछ । आफूलाई आन्तरिक रुपमा म को हूँ ? भनेर राम्रोसँग चिनेपछि मात्र अरु मानिसहरुलाई पनि चिन्न र जान्न सकिन्छ ।
हामी अरु सबै मानिसहरुलाई जान्न र चिन्न चाहन्छौँ, जगतमा फैलिन चाहन्छौँ, सबैको परिचय खोज्छौँ तर आफ्नो असली स्वरुप के हो, आफ्नो परिचय के हो त्यो नै थाहा हुँदैन । आफ्नो स्वरुपको बोध वा आत्मज्ञान भएपछि अब अरु मानिसहरुलाई पनि जान्न र बुझ्न सकिन्छ र अरुसँग राम्रो व्यवहार गर्न सकिन्छ । आफूलाई जानेको मानिसले स्वतः अरुलाई पनि प्रेम, आदर र सम्मान गर्दछ । सबैका विचारहरुलाई सम्मान गर्ने, आफूमा केही त्यागको भावना बनाउने, कसैसँग पनि कुनै प्रकारको आशा र अपेक्षा नगर्ने, सबैलाई आदर, सम्मान र प्रेम गर्ने र आफ्नो असली स्वरुपलाई जान्ने हो भने सबैसँग राम्रो सम्बन्ध राख्न सकिन्छ ।
आजलाई यति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।