कांग्रेसका माग : चार्टर्ड उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गरियोस्

दाङ २८ जेठ । नेपाली कांग्रेसले तोकिएको भन्दा महंगो शुल्कमा हवाई उडानवाट नेपालीलाई देशमा ल्याउन अनुमति दिन निकायमाथी कारबाहीको माग गरेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीले विश्व नै आक्रान्त भैरहेका बेला पछिल्लो समय नेपालबाट विभिन्न देशमा चार्टर्ड उडान गरेर चार गुणासम्म महङ्गो शुल्क लिने गरेको विभिन्न संचार माध्यामहरुबाट सार्वजनिक भैरहेको छ भन्दै कांग्रेसले यस्तो कार्यमा संलग्न हुने निकायमाथी तत्काल छानबिनको माग गरेको हो ।

‘चार्टर्ड उडानका नाममा भएका सबै उडानको अनुसन्धान गरी सरकारको मिलेमतोमा तोकिएको भन्दा महङ्गो शुल्क लिने अनुमति दिने पर्यटन मन्त्रालय, वायु सेवा निगमका अधिकारी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, गृह मन्त्रालय लगायत माथि छानविन सुरु गरियोस्’ नेपाली कांग्रेस, जनसम्पर्क समिति समन्वय विभागका प्रमखु गोबिन्द भट्टराईले एक विज्ञप्तिमार्फत भनेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महाव्याधीले विश्वभरी नै असर गरिरहेका बेला केही निजि ट्राभल्स कम्पनी पोस्ने मनसायले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायु सेवा निगमको जहाज चार्टर्ड उडान गरेको कांग्रेसको आरोप छ ।

‘मानिसहरुले रोजगारी गुमाएको र पेशा÷व्यवसाय संकटमा परेको अहिलेको अवस्थामा सरकारले नै सक्रियता देखाएर सस्तोमा उडान गर्नुपर्ने हो’ भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर तोकिएको भाडादर भन्दा चार गुणा महङ्गो भाडा असुलेर जापान, हङकङ, भारत, ढाका, अष्ट्रेलिया लगायतका मुलुकमा चार्टर्ड उडान गरिरहेका छन् । यो महामारीको समयमा सामाजिक उत्तरदायित्वबोध समेत नगरी भएका यस्ता कार्य तत्काल रोक्न म सरकारसँग निम्न अनुसारको माग गर्दछुु ।’

त्यसैगरी विज्ञप्तिमा नेपाल वायु सेवा निगमको चार्टर्ड उडान कुन कार्यविधि अनुसार कुन कुन कम्पनीलाई के आधारमा दिएको हो ? भन्ने प्रश्न गर्दै त्यसको तत्काल सार्वजनिक गरी महङ्गो भाडा लिएका ट्राभल्स एजेन्सी माथि छानविन गरी कारबाही प्रक्रिया अघि

बढाउन माग पनि गरिएको छ । कांग्रेसले कुवेत लगायतका केही मुलुकहरुले नेपाली कामदारलाई उनीहरुकै खर्चमा नेपाल फिर्ता गर्ने अनुमति मागिरहेको अबस्थामा नेपाल सरकारले अझैसम्म किन उनीहरुलाई आउने अनुमति दिएको छैन भन्ने जिज्ञासाका साथ आंका गरेको छ, ‘कि ति नेपाली ल्याउन पनि चार्टर्ड उडानका नाममा कमिसनको खेल सुरु गर्नका लागि रोकिएको हो ?’ विज्ञप्तिमा तत्काल नेपाल आउन चाहने ति नेपालीहरुलाई फिर्ता ल्याउने अनुमति दिइयोस् भनिएको छ ।