कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै नेपालका पनि कम्तिमा ७१ जिल्लालाई छोइसकेको छ । त्यसमा पनि पाँच नँम्बर प्रदेश, २ नम्बर प्रदेश र ७ नम्बर प्रदेशमा पनि संक्रमणको दर दिन दुईगुणा र रात चौगुणाका दरले फैलिइरहेको अवस्था छ । यसले समुदाय तहमा कोरोना संक्रमण फैलने त्रास पनि व्यापक रुपमा बढिरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पनि सोमवार साँझ पार्टी कार्यालयमा सम्पन्न भएको छ । कोभिड–१९को संक्रमण नियन्त्रणमा सरकारले गरेका क्रियाकलापहरु तथा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका हैसियतमा उठाउने विषयवस्तुमा केन्द्रित रहेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपाईंलाई गोरक्ष सातावार्तामा ।
धन्यवाद तपाईं अनि गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । कोभिड—१९ को विश्वव्यापी महामारीका विषयमा पार्टीको तर्फबाट केही कुरा राख्ने मौका दिनुभएकोमा ।
मुलुक कोरोना संक्रमणको उच्च जोखिममा रहेकै बेला तपाईंको पार्टीको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ ? के कस्ता निर्णयहरु गरियो ?
हो, यस विषम परिस्थितिलाई मध्यनजर गर्दै पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमवार केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले कोरोना संक्रमण नियन्त्रणमा सरकार पूरै योजनाविहीन र असफल भएको पार्टीको निष्कर्ष हो । यसकै सन्दर्भमा कोभिड—१९ को संक्रमण नियन्त्रणका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा एउटा कमिटी बनाएर सरकारलाई विशेष ध्यानाकर्षण गराउने निर्णय पनि भइसकेको छ । वरिष्ठ नेता पौडेलले यो सन्दर्भमा चाँडै प्रधानमन्त्री केपी ओलीलाई भेटेर कोरोना संक्रमणको व्यवस्थापनका विषयमा केही कार्ययोजना समेत दिनुहुने छ ।
बैठकमा अरु पनि कुरा भए होलान् नि ?
खास गरी यो बैठकले सरकार कोरोनाको संक्रमण नियन्त्रणमा भन्दा पनि कोरोनाको महामारी रोकथामका नाममा अकूत सम्पत्ति आर्जन गर्ने निशामा लागेको हाम्रो निष्कर्ष हो । कार्ययोजनाविहीन सरकारले फिल्डमा व्यवस्थापन गरिएका क्वारेन्टाइनको अवस्था होस् वा आइसोलेशन अस्पतालका विषयमा होस्, खाली प्रचारबाजी काम मात्र ग¥यो । मिडियाबाजी गर्ने र क्वारेन्टाइनबाटै समुदायमा संक्रमणको जोखिम बढाउनेमा सरकार लागिरहेको हाम्रो पार्टीको निष्कर्ष हो ।
समयमा परीक्षण नै नगरी हुलका हुल नागरिकलाई क्वारेन्टाइनमा जम्मा पारेर कष्टकर रुपमा राखिनुले कोरोनाको संक्रमण नियन्त्रण हुने अवस्था भन्दा पनि कोरोनाको संक्रमण क्वारेन्टाइनबाटै फैलाउनेमा सरकार लागिरहेको छ । क्वारेन्टाइनमा राखिएका विरामीलाई आवश्यक रुपमा सक्दो चाँडो पिसिआर परीक्षण गर्न हामीले पटक–पटक संसद् मार्फत् दबाब दिइरहँदा पनि सरकारले पिसिआर परीक्षणको दायरा बढाउनुको साटो विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले प्रतिबन्धित गरेको तथा अन्य विश्व समुदायले पनि प्रयोगमा प्रतिबन्ध लगाएको आरडिटी खरिदमा लागिरहेको छ । यो आर्थिक चलखेल बाहेक अरु केही होइन भन्ने आम नागरिकले समेत बुझिरहेको अवस्थामा पनि सरकार नियमित रुपमा आरडिटी परीक्षणमै लाग्नु सबैभन्दा ठूलो दुर्भाग्य हो र सरकारको अकर्मण्यताको पराकाष्ठा हो भन्ने हाम्रो ठहर पनि हो ।
सरकारले सकेन भन्नुभयो, प्रमुख प्रतिपक्षि दलका हिसावले कांग्रेसले पनि त केही योजना ल्याउनुपर्ने होइन र?
हो, हामीले चीनमा कोरोनाको संक्रमण फैलिइरहेकै बेला नेपाल पनि कुनै दिन यसको उच्च जोखिममा पर्ने छ, त्यसका लागि आवश्यक तयारी गरौँ, अस्पताल निर्माणको प्रक्रिया थालौँ । परीक्षणका लागि टेकुको ल्याबले मात्र सम्भव हुँदैन, प्रत्येक जिल्लामा पिसिआर परीक्षणका लागि प्रयोगशाला निर्माण गरौँ, आवश्यकता अनुसारका क्वारेन्टाइन निर्माण गरौँ भनेका थियौँ । कोरोना संक्रमणका बेला विश्व एक भइरहेका बेला हामीले पनि प्रतिपक्षीका रुपले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेका थियौँ । तर सत्तारुढ नेकपाका केही साथीहरु त यस्तो भयावह परिस्थितिमा पनि वर्तमान सरकारको नेतृत्व फेर्ने कसरतमा लाग्नु भयो । मानौँ कोरोनाको संक्रमणलाई उहाँहरुले अकूत पैसा कमाउने अवसरका रुपमा पो लिनुभयो । यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ?
अहिले कोरोनाको संक्रमणले मुलुक आर्थिक रुपमा थलिएका तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन्, अर्थतन्त्रलाई गति दिन तपाईंको पार्टीको तर्फबाट सरकारलाई केही सल्लाह र सुझावहरु पनि थिएनन् ?
हो, नेपाली कांग्रेसले कोरोनाको संक्रमणसँगै जारी भएको लकडाउनका कारण मुलुकको अर्थतन्त्र निकै ओरालोमा लागिसकेको विश्लेषण गरी सरकारको ध्यानाकर्षण गराइसकेका थियौँ । लकडाउनकै कारण मुलुकको अर्थतन्त्रमा भारी गिरावट आउने, आर्थिक बृद्धि दर बढीमा ३ प्रतिशतभन्दा माथि उक्लन नसक्ने निक्र्यौल गरिसकेका थियौँ । यसका लागि राष्ट्रिय गौरवका योजनाहरु रामाजिक दूरी कायम गराएर निर्माण कार्यलाई अघि बढाउने, लकडाउनलाई सहज र व्यवस्थित बनाउँदै उद्योगधन्दा र कलकारखाना पनि सञ्चालनमा ल्याउनुपर्ने, स्वास्थ्य र सुरक्षाका कर्मचारीजस्तै अन्य निजामति कर्मचारीहरुलाई पनि कोरोनाको संक्रमण व्यवस्थापनका काममा लगाइनुपर्ने सुझाव दिएका थियौँ । तर सरकार त यो विषयमा कहिल्यै पनि प्रतिपक्षीका सल्लाह र सुझाव सुन्नै तयार देखिएन । यस्तो परिस्थितिमा पनि प्रमुख प्रतिपक्षीलाई गाली गरेर सस्तो लोकप्रियताका लागि मिडियाबाजीमै लागिरहेको छ । यसले मुलुकमा ठुलो संकट ल्याउने सम्भावना बढाएको छ ।
के संकट भन्न खोज्नुभएको हो ?
अहिले हजारौँ नागरिक भारतलगायत खाडी मुलुकहरुबाट नेपाल भित्रिइरहेका छन् । उनीहरु नेपालको माया र माटोको मायाले जन्मभुमि आएका हुन् । उनीहरुलाई श्रममा लगाउन सरकारले बृहत योजना ल्याउनुपथ्र्यो । उनीहरुलाई कृषि कर्ममा लगाउने वातावरण व्यवस्थापन गर्न सरकारको पटक–पटक ध्यानाकर्षण पनि गरायौँ । अहिले खेतीपातीको सिजन सुरु भएको छ । समयमा रासायनिक मल र वीऊ ल्याउन सरकारलाई सुझाव दिएका थियौँ । यसका लागि विज्ञ टोली बनाएर उनीहरुको सल्लाह सुझाव अनुसार रासायनिक मल ल्याउन सरकार लाग्नुपर्छ भनेका थियौँ । तर सरकार किसानका समस्यामा कत्ति पनि गम्भीर देखिएको छैन । किसानका बारीमा तरकारी तथा अन्य कृषि उत्पादन कुहिरहेको अवस्था छ, तर किसानको उत्पादनको बजारीकरण गर्न र उनीहरुलाई प्रोत्साहन गर्न सरकार लागेको देखिँदैन ।
किसानका बारीमा सयौँ टन तरकारी कुहिरहेकाबेला सरकार अझै पनि भारतबाटै तरकारी आयातमा लागिरहेको छ । केही महिनामै नेपालमा लाखौँ नागरिक अन्य मुलुकबाट आउने छन् । उनीहरुलाई काममा लगाउने र आय आर्जनको व्यवस्थापन हुन सकेन भने गाउँ–गाउँमा चोरीचकारी, लुटपातलगायत विभिन्न आपराधिक घटनाहरु बढ्नेतर्फ हामीले सरकारको ध्यानाकर्षण गराएका थियौँ । तर सरकार त यो विषयमा कानमा तेल हालेर बसिरहेको छ । मैले सुनेको छु, प्रधानमन्त्री स्वयम्ले भारतले संक्रमित बनाएर नेपालीलाई घर फर्काएकाले नेपालमा संक्रमण फैलियो भनेर ।
भारत आफै संक्रमणले ग्रस्त र भयावह स्थितिमा पुगिरहेका बेला अनावश्यक आरोप लगाएर अर्बौं रुपैयाँ रेमिट्यान्स भित्राउन योगदान पु¥याउने नेपालीलाई संक्रमण फैलाएको आरोप लगाउनु प्रधानमन्त्रीको एकदमै आलोचनायोग्य अभिव्यक्ति हो । यसमा प्रधानमन्त्रीले आत्मालोचना गर्नु पर्दछ । उखान टुक्काले नै यो विश्वव्यापी कोरोनाको संक्रमणबाट मुक्त हुने प्रधानमन्त्रीको अभियान नै आपत्तिजनक छ ।
मुलुक एकातिर संक्रमणले थला परेको छ भने अर्कोतर्फ अर्थतन्त्र नै धरापमा परिरहेको छ । यस्तो अवस्थामा सधैँ लक्जरी लकडाउनले निकाश दिन सक्दैन भन्ने पनि नागरिक तहबाट कुरा उठिरहेका छन् नि?
रोगले मर्ने त्रास देखाएर भोकले मर्ने अवस्था आउनसक्छ भनेर हामीले सरकारलाई बार–बार घच्घच्याइरहेका छौँ । अहिले विश्व समुदाय नै करिब–करिब लकडाउनको अवस्थामा रहेका बेला लकडाउनलाई पूरै हटाउनु पर्छ भन्ने हाम्रो मान्यता होइन, तर लकडाउनको विकल्प खोजिनु पर्छ भन्ने हाम्रो भिजन हो । यसका लागि सरकारले लकडाउन खोल्ने रोडम्याप तयार गर्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । मुलुक समग्र रुपमा ७६ प्रतिशत मात्र सेल्फ सफिसेन्ट भएको अवस्थामा लक्जरी लकडाउनलाई धेरै समयसम्म निरन्तरता दिनु हुँदैन । शारीरिक र सामाजिक दूरी कायम गरी मास्क र ग्लोब लगाएर पनि मुलुकमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले विशेष योजना ल्याउनु पर्दछ ।
हो अहिले कोरोनाको संक्रमणको सामना गर्नुपरेको छ । यसबीचमा अन्य प्राणघातक रोगहरु पनि छन् नि । कसैको मृगौलाको समस्याले ज्यान जान सक्छ, कसैको कलेजोको संक्रमण हुन सक्दछ । दमका रोगीहरु पनि प्रशस्तै छन् । हो यस्ता जोखिममा रहेका विरामी, बृद्धबृद्धाहरु तथा बालबालिकाहरुलाई सकेसम्म सेफ गरेर अन्य उमेर समूहका नागरिकलाई सुरक्षित गर्ने वातावरण मिलाउन त सकिन्छ नि । रोगको त्रास देखाएर भोकले मर्ने अवस्था हुनु हुँदैन ।
लकडाउनलाई सहज बनाउने कुरा उठिरहेका छन् नि ?
सरकारको लक्ष्य जुन थियो, अहिलेको आर्थिक प्रक्षेपणले कम्तिमा ३ प्रतिशत पनि आर्थिक बृद्धि दर हुन सक्दैन । अब भोकमरीको अवस्था हुनसक्छ भन्ने विषयलाई गम्भीरतापूर्वक लिएर कोरोनाकै बीचमा पनि आर्थिक गतिविधि बढाउनु पर्छ, जनजीविका सामान्य बनाउँदै लैजानु पर्दछ । रोगले मर्ने त्रास देखाएर भोकले मर्ने अवस्था ल्याउनु हुँदैन ।
अन्त्यमा यस पत्रिकामार्फत् आम पाठक र जिल्लाबासीलाई केही भन्न चाहनुहुन्छ कि ?
सबैभन्दा पहिले आफू बाँचौ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा साथ दिन आम पाठक तथा जिल्लाबासीलाई आग्रह गर्न चाहन्छु । विश्वव्यापी कोरोनाको कहरले धेरै नागरिकले दुःख, कष्ट व्यहोर्नु परेको छ । यो नेपालको मात्र नभएर विश्वभरिकै समस्या हो । यो अवस्थामा दैनिक जनजीविका पनि सहज बनाउँदै लैजाने र आर्थिक गतिविधिहरुलाई पनि गतिशील बनाउने सवालमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीनै तहका सरकार लाग्नु पर्दछ ।
सरकारले यसमा कुशल व्यवस्थापकीय क्षमता देखाउन सकोस् भन्ने हाम्रो मान्यता हो । त्यसमा पूरै दिलोज्यान दिएर सहयोग गर्न प्रतिपक्षी तयार छ । सबै संक्रमितहरुलाई हाम्रो स्वास्थ्य प्रणालीले सम्बोधन गर्न सकोस् । कुनै पनि संक्रमितले उपचार सेवा नै नपाएर घरमै ज्यान गुमाउने अवस्था नआओस् भन्न चाहन्छु ।