कक्षा ७ पास भएको सुन्दाको दिन …

  •   
  •  

‘अहिले जस्तो बोर्डिङ स्कूल पनि थिइन, त्यतिबेला हामी कक्षा ४ मा पुग्दा अंग्रेजी पढ्ने चलन थियो । फेएर भनेको मैले राम्रोसँग बुझिन । फेएर भनेको सरले पास भन्नुभएको रहेछ । मैले त्यतिबेला अंग्रजी शब्द बुझिनँ’ यातायात व्यवस्था कार्यालय दाङमा नासु पदमा कार्यरत रमेश रेग्मीले भने ।

‘म फेल भएको रहेछु भनेर निराश हुँदै म महेन्द्र माविबाट घर फर्किएँ । तर बाटोमा जाँदाजाँदै मनमा खुल्दुली लाग्यो एकपटक फेरि विद्यालयमा सोधेर आउँछु कति विषय लागेको रहेछ भनेर बाटोबाटै फर्किएँ’ उनी बोल्दै थिए ‘फेरि विद्यालयमा गएर झग्गु सरलाई सोधेँ, सर मलाई कति विषय लागेका छ ?’

‘सरले भन्नुभयो, मैले पहिले नै भने नि फेएर पास भएको, विषय लागेको छैन पास भएको भनेर, –सरले भन्नुभयो ।’ रेग्मीले हँसिलो मुहार लगाउँदै भने ‘मेरा धेरै खुशीहरु छन् तर कक्षा सातमा फेल भएको निराश मैले पास भएको पत्तो पाउँदा मलाई जीवनमै पहिलो खुशी प्राप्त भएको थियो ।’

उनले त्यसपछि खुशीले उफ्रिँदै घर गएको सुनाए । ‘मेरो पहिलो खुशी त्यही लेखिदिनुहोला, कक्षा ७ मा फेएर पास हुँदाको खुशी’–रेग्मीले भने । मिजासिला लगनशील तथा सहयोगी रमेश रेग्मीले अर्को खुशी २०६८ सालमा लोकसेवा आयोगमा खरिदार पदमा नाम निकाल्दा औधी खुशी भएको सुनाए । रेग्मीले लोकसेवा आयोगमा पहिलो पटक परीक्षा दिएको र पहिलो पटकमै पास भएको सुनाए ।

त्यसपछि सल्यानको भल्चौर गाविसको सचिव भएर जाँदा खुशीमा अर्को खुशी थपिएको बताए । ‘म शिक्षण पेशा पनि गरेँ, सञ्चार क्षेत्रमा पनि लामो समय काम गरेँ, त्यस सँगसँगै लोकसेवाको तयारी गरे । त्यसको परिणाम राम्रो आयो’ उनले भने । त्यसैगरी उनले सल्यानको विकट क्षेत्र भल्चौरमा पुगेर त्यहीँ बसेर जनतालाई छिटो छरितो सेवा दिन पाउँदा अर्को खुशी थप भएको सुनाए ।

‘त्यो ठाउँमा बसेर सेवा प्रवाह गर्न त्यति सहज थिइन्, पहिले त मेरो पनि त्यहाँ कसरी बस्ने होला भनेर मन खिन्न बनाएको थिएँ,े प्रत्यक्ष रुपमा जनतासँग बसेर त्यहाँको जनतालाई सहज सेवा दिन पाउँदा निकै खुशी भएँ’ उनले सुनाए । ‘सेवा लिनका लागि सेवाग्राही सल्यानको सदरमुकाम आउनुपर्ने समस्या थियो, म गएपछि त्यहाँका जनतालाई धेरै सहज भएको थियो’ उनले भने ।

रेग्मीका बुबा पनि निजामति कर्मचारी भएको र अंकल पनि निजामति कर्मचारी भएकाले उहाँहरुको प्रेणाले सरकारी जागिरमा प्रवेश गरेको कुरा बताए । सञ्चाकर्मी समेत रहेका रेग्मीले अर्को खुशी २०६२ सालमा रेडियो तुलसीपुरबाट पहिलो पटक आफनो आवाज स्रोता समक्ष रडियो मार्फत् पुग्न खुशी लागेको सुनाए । ‘त्यतिबेला दाङमा रेडियो स्वर्गद्वारी मात्र थियो, रेडियो तुलसीपुरमा बोल्न पाउँदा अर्को खुशी थपियो’ रेग्मीले भने ।

उनले पहिले रेडियोमा काम गर्ने मान्छे ठूलो मान्छे मानिने र आफूलाई पनि त्यस्तो अनुभूति भएको थियो’– उनले भने । आप्mनो आवाज जनतामाझ जाँदा र रेडियोमा बोल्ने मान्छे भनेर सम्मान पाउँदा धेरै खुशी लागेको उनले बताए । रेडियो तुलसीपुरमा दुईवटा कार्यक्रम चलाउने गरेको र पहिले रेडियोमा मान्छे भित्र पसेर बोल्छन् होला भन्ने सानोको भ्रम आफूले प्रत्यक्ष काम गर्दा यथार्थ थाहा पाएको अनुभव पनि साटे ।

‘मेरो आवाज धेरैले सुन्नुभएछ, कार्यक्रम सकेर बाहिर निक्लँदा धेरैले मलाई धन्यवाद दिनुभयो, रेडियोमा बोल्ने मान्छे यही हो भनेर बाटोमा हिँडदा धेरैले कानेखुशी गर्नुहुन्थ्यो, त्यो देखेर म औधि खुशी हुन्थेँ’ रेग्मीले भने । उनले त्यस सँगसँगै समाचार वाचन गर्न पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । ‘कार्यक्रम सँगसँगै मैले सामाचार पढ्ने अवसर पाएँ, रेडीयोमै बोलेर जनतालाई सूचना दिन पाउँदा खुशी लागेको उनले बताए । उनले कार्यक्रम सकेर बाहिर निकलदा धेरै मानिसहरुले आफुहरु धन्यवाद दिँदा झनै खुशी लाग्ने गरेको सुनाए । त्यस्तै मावि कालाखोलामा मावि दरबन्दीमा करिब १८ वर्षको उमेरदेखि शिक्षण गर्न पाउँदा अर्को खुशी थपिएको उनले बताए ।

आप्mनै घरआँगनमा शिक्षण गर्न पाउँदा खुशी लागेको अनुभव उनले सुनाए । रेग्मीले आफूले पढाएका विद्यार्थीहरु हाल विभिन्न क्षेत्रमा रहेको र उनीहरुले बेलाबेलामा सम्झँदा खुशी लाग्ने गरेको सुनाए । ‘मैले सयौँ विद्यार्थीहरुलाई शिक्षाको ज्ञान दिन पाउँदा खुसी लागेको छ, विद्यार्थीहरुले अहिले पनि गुरु भनेर आदर गर्छन्, त्यसमा पनि म खुशी छु’–उनले भने ।

विभिन्न समयमा विद्यार्थीहरुले गुरु भनेर सम्झँदा मन गर्वले फुल्नेगरेको अनुभव पनि साट्न भ्याए । त्यस्तै रेग्मीले बाल्यकालको सम्झना गर्दै महेन्द्र माविमा पढ्दा कक्षाबाट भागेर फिल्म हेर्न गएको र आउँदा किताब हराएको सम्झिएँ । ‘हामी केही साथीहरु एकठ्ठा भएर कक्षा बंक ग¥यौँ र ओम शान्ति सिनेमा हलमा १२–३ को सो हेर्न गएका थियौँ, फिल्म हेरेर आउँदा किताब कक्षामा थिएनन् ।

हामी सबै डरायौँ तर सबैको किताब सरले अफिसमा लग्नुभएको रहेछ, हराएको किताब सरले पछि दिनुभयो’– उनले भने – ‘बिना कुनै सजाय हराएको किताब वापस पाउँदा पनि औधि खुसी लागेको थियो ।’ त्यसैगरी उनले विभिन्न सामाजिक सेवा गर्दा र अरुलाई सहयोग गर्न पाउँदा पनि खुशी मिल्ने बताए । ‘मैल धेरै सामाजिक सेवा पनि गरेको छु, यही भन्ने सम्झना त छैन तर भर्खरै एक जना गढवाका मानिसलाई आर्थिक सहयोग जुटाएर घर निर्माण गर्ने अभियानमा लाग्दा निकै खुशीको अनुभूति भएका थियो’ –रेग्मीले भने ।

२०६० सालमा सीता पाण्डेसँग वैवाहिक बन्धनमा बाँधिँदा पनि खुशी भएको सुनाए । त्यससँगै उनले २०६२ सालमा छोराको जन्म भएको बेला पनि निकै खुशी लागेको सुनाए । ‘जिम्मेवारी बढेपछि पनि खुशी मिल्दोरहेछ, विवाहपछि घरमा छोराछोरीको जन्म भयो, मलाई श्रीमती र घरपरिवारको सहगोग मिलेको छ, पारिवारिक रुपमा पनि म खुशी छु’ –रेग्मीले भने । सल्यानको सांकोटमा जन्मिएका रेग्मी गीतसंगीतमा पनि उत्तिकै रुची राख्ने गर्छन् । सञ्चार क्षेत्र, समाजसेवादेखि रेडक्रसको आजीवन सदस्य समेत हुन् ।

तुलसीपुर–७ पर्सेनी निवासी रेग्मी यातायात व्यवस्था कार्यालय दाङका कर्मचारी हुन् ।

 

प्रस्तुती : बालाराम खड्का