रोल्पाका अभिभावक, विद्यार्थी र शिक्षकको चिन्ता : ‘अनलाईन कक्षाले बिभेद ल्याउँछ’

दिनेश दिपु सुवेदी
रोल्पा, २७ जेठ । ‘हामी मानसिकरुपमा तयार भएका छौं तर हाम्रो गाउँमा बिजुली र इन्टरनेट छैन । विद्यार्थीसँग स्मार्ट फोन पनि छैन । यहाँ अभिभावकलाई एउटा फोन किन्न कुखुरा, बाख्रा बेच्नुपर्छ । मुख्य कुरा बिजुली र नेट हो’, रोल्पा जिल्लाको दुर्गम गाउँ गाममा रहेको जनता माविका प्रधानाध्यापक बागबीर घर्ती भन्छन्– ‘अनलाइन कक्षाबाट अरु ठाउँका विद्यार्थीले पढ्ने तर हाम्राले पढ्न पाएनन्् भने मन दुखाउने देखिन्छ । विद्यार्थीहरु आत्तिएका छन्, अलमलमा छन् ।’ उनका अनुसार डाटाबाट नेट चलाउँदा निजी बिद्यालयमा पढेको भन्दा महंगो पर्ने देखिन्छ ।

कोरोना महामारी छल्न भन्दै गत चैत ११ गतेदेखि लकडाउनमा गएको समाज उकुस–मुकुसको अवस्थामा पुगेको छ । यो अवस्थामा अनलाइन कक्षामार्फत विद्यार्थीको पढाई सञ्चालन गर्ने सम्भावनाका बारेमा जिज्ञासा राख्दा रोल्पाको दुर्गम क्षेत्रका एकजना प्रधानाध्यापक बागबीर घर्तीले भनेझै झनै समस्या थपिने र विद्यार्थीहरुबीच विभेदको अवस्था आउने खतरा देखिन्छ ।

यतिबेला सहर, गाउँ, टोल मात्र नभएर प्रत्येक घरहरु त्रासमा देखिन्छन् । छिमेकमा समेत आवत जावत टुटेको छ । कोरोना संक्रमणको त्रासले आम नागरिकको दिनचर्या एक तमासको बनेको छ । एक अर्कामा विश्वास टुट्नुका साथै नाता सम्बन्ध र विश्वास भत्केको छ । ‘सदरमुकाममा घर भएका कारण होला प्राय आफन्तहरु आइराख्थे’, रोल्पा लिवाङका एक स्थायीयले भने– ‘साढे दुई महिना भयो घरमा कोही पनि आएका छैनन्, आउनेलाई पनि गाह्रो, बोलाउन पनि सकस लाग्ने, कोरोनाले त अस्तव्यस्त बनाइदियो ।’

यस्तो अस्तव्यस्तताको असर शुरुमा बिद्यार्थी उमेरका केटाकेटीहरुमा पाइएन । ‘शुरुका दिनमा त विद्यालय बिदा भयो भनेर खुशी पनि भए’, शिक्षक डिबी घर्तीले भने– ‘अब त बुझ्न पनि थाले होलान्, हैरानीमा देखिन्छन् ।’

अहिले कोरोना कहरका कारण कामविहीन बनेको समाजमा विद्यार्थी र शिक्षाको विषय ओझेलमा परेको देखिन्छ, जसका कारण पछिल्लो समय आम नागरिकसँगै विद्यार्थीहरु थप मानसिक तनावमा छन् । ‘यतिबेला उनीहरुलाई विश्वास र ढाडसको खाँचो छ’, शिक्षक घर्तीले भने– ‘उनीहरुले तनाव बोकिरहेको समयमा झनै विभेद देखिनेगरी पढाइ सञ्चालन गर्दा अर्को समस्या आउन सक्छ ।’

त्यसो त अहिले समाज नै ठप्प छ, तर पनि उज्यालो भविष्यको बाटोमा हिँडेका विद्यार्थीसँग न रोजगार छ न त अन्य अवसर । सबै अलमलका बीचमा लाखौ बिद्यार्थीहरुको भविष्य कुहिरोको कागजस्तै छ ।

उनीहरुलाई न कसैले कुनै उपाय सुझाएको छ, न त कसैले चिन्ता नगर्न भनेको छ । रेडियो, टिभी र पत्रपत्रिकामा सुनिने शिक्षाका अनौठा समाचारले दिक्क विद्यार्थीहरु विश्वसनीय र आफूहरुको चिन्तालाई सम्बोधन हुने खालको खबरको प्रतिक्षामा छन् ।

घरमा सामान्य मोबाइलसमेत नभएका वा स्मार्ट फोनको कल्पनासम्म पनि गर्न नसक्ने दुर्गमका विद्यार्थीलाई इन्टरनेटबाट अनलाइन कक्षा चलाउने तयारीका समाचारहरुले यतिबेला झनै तनाव थपिदिएको छ । सरकारले आधारभूत सुविधाका रुपमा राखेको शिक्षा विभेदपूर्ण हुने डरले दुर्गममा चिन्ता थपेको हो ।

‘घरमा गतिलो फोन त छैन अनि कसरी पढ्ने अनलाइन कक्षा ? फोन हुनेको पनि नेटले काम गर्नु प¥यो नि, बत्ती पनि छैन’, दुर्गम गाउँ गामका विद्यार्थी रेशम बुढा भन्छन्– ‘गाउँमा फोन गर्न त डाँडामाथि उक्लिनुपर्छ, यहाँ अनलाइन कक्षाको कुरा सुनिन्छ । माथि (काठमाडौंमा) पनि सहरका विद्यार्थीलाई हेरेर मात्र कुरा गर्छन्, हामीलाई कसरी पढाउने भन्ने बारेमा छलफल समेत भएको सुनिँदैन ।’

राज्यले अनलाइन कक्षाका नाममा दुर्गम र सुगमबीच बिभेद वा हुने खाने र हुँदा खानेका बीचमा देखिएको शैक्षिक दूरी अझ बढाउन थालेको भनेर चिन्ता व्यक्त गर्दैछन्, अभिभावकहरु । ‘एक त त्यसै पनि यहाँको पढाईको स्तरका बारेमा प्रश्न उठ्छ र रिजल्टहरुले पनि त्यस्तै संकेत गर्छ’, गामका अभिभावक देउसिंह घर्तीले भने– ‘अझ इन्टरनेटको पढाइले यो दूरी अझै बढाउनेछ, न त इन्टरनेटमा सबैको पहुँच पुग्छ, न त प्रविधिको प्रयोग गर्दै पढाउन सक्ने गरी शिक्षकहरुलाई प्रशिक्षित गराइएको छ ।’ उनले यसलाई समय कटाउने रहर भनी टिप्पणी गरे ।

गत सालको तथ्यांकलाई हेर्दा रोल्पामा यो बर्ष करिब ९० हजार विद्यार्थी बिद्यालय जानेछन् । तर हालको अवस्थामा तीमध्ये ९० प्रतिशतले अनलाइन कक्षामा सहभागिता जनाउन पाउने छैनन् । ‘रोल्पामा ५ देखि १० प्रतिशतभन्दा बढीले अनलाइन कक्षाको सुविधा लिन सक्ने छैनन् । एउटै मापदण्ड बनाएर सँगै पढाई शुरु गर्नुपर्छ । कसैले पढ्न पाउने कसैले नपाउने भयो भने बिभेद हुन्छ जसले द्वन्द्वको सिर्जना गर्छ ।

विद्यार्थीमा आत्मग्लानी वा डिप्रेशनसम्म पनि हुनसक्छ’, बालकल्याण नमुना माविका प्रअ मधुसूदन पोख्रेल भन्छन्– ‘बरु हाम्रो जिल्लामा रेडियो शिक्षा नै प्रभावकारी हुने देखिन्छ । रेडियो त प्रायःजसो सबै ठाउँमा सुनिन्छ ।’ आधारभूत र समान भनिएको शिक्षामा एकरुपता ल्याउन नसकिएमा द्वन्द्वको खतरा समेत रहेको प्रअ पोख्रेल बताउँछन् ।

‘अनलाइन कक्षा मात्र विकल्प होइन तर यो पनि हो’, शिक्षाबिद् डा. बिद्यानाथ कोइराला भन्छन्– ‘रेडियो, रेकर्ड, टिभी, टेलिफोन, सामाजिक सञ्जाल यी सबैको अधिकतम् प्रयोग गर्न सकिन्छ ।’ दुर्गममा प्रविधिको कत्ति पनि सुबिधा नभएकालाई शिक्षकले घरमै पुगेर सामाजिक दूरी कायम गर्दै पनि पढाउन सक्ने बताउँदै डा. कोइराला भन्छन्– ‘सबै विधि एकैपटक शुरु गर्नुपर्छ ।

सहरमात्र केन्द्रित गर्दा अन्याय हुन्छ । सबै विधि एकै साथ अगाडि बढायो भने न्याय हुन्छ ।’ विपन्न र प्रविधिको पहुँच नभएकाले पनि शिक्षा पाउनुपर्ने र दिने दायित्व सकारको भएको बताउँदै उनले भने– ‘अब प्रयोग गर्नैपर्ने शैक्षिक विधिहरु प्रभावकारी हुन्छन् हुँदैनन् भन्दा पनि हामीले प्रभाकारी बनाउने हो, परिस्थितिसँगै बदलिन जानियो भने सफल भइन्छ । ‘जोसँग जे छ त्यही गरौं । परिवेशअनुसार चलौं’, कोइराला भन्छन् ‘स्थानीय सरकारले केन्द्र र प्रदेशको मुख नताकेर आफ्नो शैलीमा काम शुरु गर्दा हुन्छ तर सबै विधि एकैपटक लैजानुपर्छ ।’

फ्रिडम फोरमसंगको सहकार्यमा तयार गरिएको