प्रदीप आचार्य
बुटवल, २७ जेठ । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाको एउटा भैंसी फर्ममा ५ जनाको सामूहिक हत्या भएको छ । फर्ममा सोमबार राति ८ जना बसेका थिए । मंगलबार बिहान तीमध्ये ५ जनाको लाश फेला परेको थियो । तिलोत्तमा नगरपालिका वडा नंं. १० मौंनाहवामा कृष्ण पुनले सञ्चालन गर्दै आएको भैंसी फर्ममा सो हत्या काण्ड भएको हो ।
सोमबार राति ९ बजे बाहिर खाना खाएर झसेन्द्र सिंजाली फर्ममा पुगे । उनी फर्ममा रक्सी बोकेर पुगेका थिए । हत्या भएका श्रीमान÷श्रीमती ४० वर्षीया माधव मुसहर र ३७ वर्षीया जानकी मुसहर फर्ममा रहेको आवास गृहमा सुते भने झसेन्द्र फर्मको बाहिर खटियामा सुते । त्यस्तै १६ वर्षीया आशिष चौधरी, १७ वर्षीया करण चौधरी र १६ वर्षीया पोखराज चौधरी गोठको परालमा सुत्दै आएका थिए ।
त्यो फर्ममा मृतक दम्पत्तिका साली र सानो छोरा पनि बस्दै आएका थिए । यो दृश्य मृतककी साली घोलरी मुसहरले देखेकी थिइन् । मृतका साली र सानो छोरा अर्काे कोठमा राति १० बजे सुते । अन्दाजी १ बजेको समयमा झसेन्द्र कोठा बाहिर आएर ‘नानी नानी ढोका खोल’ भन्यो तर घोलरी मुसहरले ढोका खोलिनन् । पछि बाहिर निस्किँदा बिजुलीको मेन स्वीच बन्द गरिएको थियो । बाहिर आएर हेर्दा अर्काे कोठमा दिदी भिनाजुलाई देखेनन् ।
करिब बिहान ५ बजे फर्म सञ्चालक आउँदा फर्मको गेट बन्द थियो । फर्ममा रगतको दृश्य देखियो । उनी फर्मको पर्खालबाट हाम फालेर भित्र आउँदा ५ जनाको विभत्स हत्या भएको दृश्य देखियो । तत्काल फर्म सञ्चालकले प्रहरीलाई बोलाए । फर्मको भुस राख्ने ठाउँबाट केही समयमा बेहोस अवस्थामा झसेन्द्र सिंजालीलाई प्रहरीले भेटायो । र उपचारको लागि अस्पतालमा लगियो । मृतक माधव मुसहरका छोरा करण चौधरीले आफ्नो बुबालाई झसेन्द्रले सधै धम्काउँदै आएको बताएका छन् । पटक–पटक आफ्नो बाबुकलाई झसेन्द्रले कोदालाको पासोले हिर्र्काएर मारिदिने धम्की दिँदै आएको बताउँछन् ।
स्थानीयले बिहानदेखि नै घटनास्थललाई घेरेर हत्यारालाई सार्वजनिक गर्न माग गरे । तिलोत्तमा नगरपालिकामा ५ जनाको सामूहिक विभत्स हत्या भएको सुन्नासाथ तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे पनि घटनास्थलमा पुगे । उनले प्रहरीको प्रारम्भिक बयानमा सुर्खेत घर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले नै फरुवाले हानेर हत्या गरेको स्वीकार गरेको जानकारी दिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाई लाशको पोष्टमार्टमका लागि अस्पतालमा पु¥याएको छ ।
मृतक दम्पत्ति सैनामैना–५ दरखासीका हुन् भने ३ किशोर स्थानीय तिलोत्तमाका हुन् । विभत्स हत्याको प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । रुपन्देहीमा मंगलबार एकाबिहानै भएको नरसंहारले त्यहाँको जनजीवनलाई नराम्ररी त्रसित बनाएको छ । ‘सामान्य रिसईवीले पनि कसरी नरसंहारको रुप लिन्छ रुपन्देहीको यो घटनाले प्रमाणित गरेको छ’, स्थानीयले चर्चा गर्दैछन् ।