नविलमा विद्युतीय प्रणाली : घरमै बसेर बैंक खाता खोल्न सकिने

गोरक्ष समाचारदाता
तुलसीपुर, २७ जेठ । नबिल बैंकले आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै विद्युतीय प्रणाली र प्रविधिमा आधारित खाता सञ्चालनमा ल्याएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नविल गेन एन एकाउन्ट’ सञ्चालनमा ल्याएको सो बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो खातामा ग्राहकमाँझ सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याजसहितको सुविधा सम्पन्न बचत खाता भएको पनि बैंकको विज्ञप्तिमा उल्लेख छ । यसमा थुप्रै प्रविधिमैत्री सेवाहरु मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन ट्रान्जिसन र डेबिट कार्ड, क्रेडिट कार्ड निःशुल्क जारी गरिएको छ ।

समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्यधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पु¥याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षणसहित नबिल बैंकले १३ प्राण घातक रोगहरु तथा दुर्घटना बीमा सुविधासमेत प्रदान गर्ने पनि बैंकले जनाएको छ ।

बैंकका कर्पोरेट कम्युनिकेशन प्रमुख सुमन लामाले जार ीगरेको विज्ञप्तिमा यो खाता नयाँ सोच र नयाँ जोश बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको जनाइएको छ । १८ बर्षमाथिका नेपाली नागरिकले उक्त खाता खोली यसको लाभ लिई ढुक्क हुन सक्नेछन् । यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त रहेको पनि जनाइएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आएको बैंकको १ सय १८ शाखा, १ सय ७५ एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाको रुपमा काम गर्दै आएको छ ।