प्रदेश ५ मा गणित परिषद्को अनलाइन तालिम

गोरक्ष समाचारदाता
तुलसीपुर, २७ जेठ । प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिक्षाको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शिक्षाको विकासविना समाजको विकास हुन नसक्ने भन्दै अहिलेको अवस्थाबाट शिक्षालाई माथि उकास्नका लागि मन्त्रालयको तर्फबाट आवश्यक लगानी गर्ने कुरामा उनको जोड थियो ।

शिक्षाको गुणात्मक विकासका लागि शिक्षकको विशेष भूमिका हुने उनको भनाइ थियो । ‘विद्यार्थी शिक्षकको छाँयाजस्तै हो, हामीले कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा छ’, उनले भने । मुलुकमा प्राविधिक शिक्षाको आवश्यकता रहेको र प्राविधिक शिक्षाका लागि गणित विषयको आवश्यकता हुने उनको भनाइ थियो । प्रदेश नं. ५ गणित परिषद्ले आयोजना गरेको ३ दिने अनलाइन तालिमको उद्घाटन गर्दै मन्त्री बरालले गणित विषयप्रतिको आम विद्यार्थीको बुझाईलाई परिवर्तन गरेर रुचिकर बनाउन सबैले जोड दिनुपर्ने बताए । ‘गणित गाह्रो विषय भन्ने परम्परागत धारणामा परिवर्तन ल्याउन आवश्यक छ’, मन्त्री बरालले भने ।

कार्यक्रमका विशिष्ट अतिथि परिषद्का केन्द्रीय अध्यक्ष प्राध्यापक डा. मदनमान श्रेष्ठले गणित विषयका शिक्षकहरुलाई अपडेटमा राख्न तालिम फलदायी हुने विश्वास व्यक्त गरे । तालिम उद्घाटन समारोहमा त्रिविका पूर्व उपकुलपति प्रा.डा. हिराबहादुर महर्जन, वरिष्ठ गणितज्ञ प्रा.डा. हरिप्रसाद उपाध्याय, परिषद्का महासचिव रमेशप्रसाद अवस्थी, प्रा. उमानाथ पाण्डे, डा. जेबी प्रधान, प्रेम शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

परिषद्का उपाध्यक्ष पर्शुराम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लोकबहादुर बस्नेतले गणित शिक्षणमा प्रयोग हुने सामग्री निर्माण तथा प्रयोगको बारेमा प्रशिक्षण दिएका थिए । परिषदकी सदस्य सम्झना शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव विक्रम भण्डारीले गरेका थिए । कार्यक्रमको अध्यक्षता परिषद्का प्रदेश अध्यक्ष लोकबहादुर बस्नेतले गरेका थिए । विभिन्न क्याम्पसमा अध्यापन गराउने ३ सय ७८ जनाको तालिममा सहभागिता रहेको उपाध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए ।