नारायणप्रसाद श्रेष्ठ
मानव जीवन संस्कृति र संस्कारमा हुर्किएको विवेकशील प्राणी हो । सामाजिक जीवन पद्धतिमा रही समयको परिवर्तनसँगै आफ्नै माटो र हावापानीमा हुर्कने चिन्तनशील जीव मानवचेतना हो । यसले समयको परिवर्तनसँगै आफूलाई बदल्दै प्राणी जगत्मा सर्वोत्कृष्टता प्राप्त गरेको हुन्छ ।
आस्था र विश्वासको आधारमा स्थापित हुँदै गरेका संस्कृति र संस्कारमा हुर्कनु यसको विशेषता नै मान्नुपर्दछ । शिक्षा र संस्कारलाई परिमार्जित गर्दै जीवन र जगत्मा आफूलाई परिचित बनाउँदै भए÷गरेका संस्कारलाई परिमार्जन गर्नु यसको उद्देश्य नै हो । साथै यसमा देखिएका विकृति र विसंगतिलाई हटाई समयसापेक्ष सुदृढीकरण गर्नु मानवीय गुण नै हो ।
जन्म–मरणको इतिहासमा हुर्किएर पनि मानव सोच र चिन्तनले विकसित गरेको परम्परा र संस्कृति, दोषमुक्त दृष्टिकोण, मानव जीवनलाई चलायमान र गतिशील बनाउने उत्तम विकल्प भएर रहेको पाइन्छ । यही संस्कार जीवनको आधार भएर पनि रहेको देखिन्छ । अर्को अर्थमा भन्ने हो भने मानव जीवन असल शिक्षा र सुसंस्कृतिभित्रको संस्कारमा अघि बढ्ने शाश्वत सत्य पनि हो । संस्कारले जीवनलाई डो¥याएको हुन्छ भन्ने यथार्थ सत्य पनि हो ।
त्यसैले आस्था र विश्वासको धरोहरको रुपमा रहेको हाम्रो जीवन पद्धतिभित्रको संस्कार र असल गुणलाई मानव जीवनको मार्गनिर्देशकको रुपमा स्वीकारी जीवनलाई उत्तम गति दिनुपर्दछ । संस्कार र संस्कृति नै जीवन जिउने आधार हो भनी यसलाई समयको परिवर्तनसँगै परिमार्जित गरी समय सुहाउँदो सामाजिक पद्धतिको विकास गर्नु अब सबैको जिम्मेवारी र दायित्व रहेको छ ।
सामाजिक, सुसंस्कृतिभित्र सँगै हुर्किएको मानव जीवन अहिले बढी सशक्त र समुन्नत ढंगले विकसित भइरहेको छ ।
संस्कृति र सभ्यताले सिकाएको अनुशासित जीवनशैलीमा फेरबदल भइरहेको छ । मानव प्रवृत्तिभित्र हुर्कन खोजेको विकृति र विसंगतिले विस्तारै मानव सोच र चिन्तनमा आडम्बरी र देखावटीपन बढ्दैछ । आधुनिक युग सुहाउँदो संस्कारको विकास गर्ने नाममा भइरहेको संस्कृति र संस्कारलाई लोप गराइँदैछ । स्वार्थपरक चिन्तन र मोहका कारण सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रसमेतमा आधुनिक सभ्यताले फड्को मार्ने गरेको देखिँदैछ ।
पूर्वीय दर्शनलाई त्यागी पश्चिमी सभ्यताको बोलबाला बढाइँदैछ । विविध विचार र भावनाले सल्बलाउँदै अघि बढ्न खोजेको हाम्रो सांस्कृतिक पद्धतिले विद्यमान मर्यादा र प्रतिष्ठालाई व्यक्तिगत जीवनसँग गासिँदैछ । पौराणिक संस्कृतिभित्र हुर्किएको हाम्रो आदर, सत्कार र सद्भावलाई परिमार्जित गर्ने नाममा आफ्नो अस्तित्वको सौदाबाजी गरिँदैछ । सामाजिक संस्कृतिभित्र रहेको अनुशासन पद्धतिलाई लादिएको संस्कार भनी परिवर्तन गर्न खोजिँदैछ । कुन कुरा हाम्रो जीवनको नैसर्गिक अधिकार र दायित्वभित्रको हो ? जीवनको महत्वपूर्ण आधारभित्र कुन संस्कारले हामीलाई यो अवस्थासम्म ल्याएको छ ? त्यसतर्फ ध्यान नदिई आयातित विचारलाई प्रश्रय दिइँदैछ ।
पौराणिक अकाट्य सत्यभित्र चलायमान भएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई आयातित संस्कृतिसँग समायोजन गर्ने आचरण वर्तमानमा निकै सल्बलाएको छ । मानव जीवन प्रकृतिको नियमसँगै मनोरञ्जन र विलासीको लागि सिर्जेको हो भन्ने भावनाले वर्तमान चुर्लुम्म डुबेको देखिँदैछ । सोच र विचारमा परिवर्तन गरी संस्कृति र संस्कारलाई क्षणिक स्वार्थतर्फ आकर्षित गरिँदैछ । प्रकृतिसँग गाँसिएको मानवीय अस्तित्वलाई क्षणिक आवेग र सटही प्रवृत्तितिर आकर्षित गर्न खोजिँदैछ । संस्कारलाई उभो लगाउने नाममा उधोगतितिर धकेलिँदैछ ।
क्षणिक वासनाभित्र लुटपुट्याउँदै व्यक्तिगत स्वार्थकेन्द्रित आचरणलाई बढी प्रश्रय दिन खोजिँदैछ । प्राकृतिक सत्यलाई अप्राकृतिक आचरणतर्फ धकेली परम्परागत संस्कृति र संस्कारलाई आयातित विचारको दास बनाउने प्रयत्न गरिँदैछ ।
ईसापूर्व २००० वर्षअघिदेखि शुरु भएको हिन्दु शास्त्रभित्रको श्रुति र स्मृतिलाई बङ्ग्याउने चेष्टा गरिँदैछ । रुढिबादी संस्कृति र परम्परा भनी मर्यादाअनुकूल जिउन सिकाएको संस्कारलाई रुपान्तर गर्ने प्रयास बढिरहेको छ । हिन्दु संस्कृति र संस्कारअनुसार अघि बढेको मर्यादित आचरणमा फेरबदल गरिँदैछ । सत्य र असत्य छुट्याउने सामथ्र्यमा कमजोर मनस्थिति देखिँदैछ ।
शान्ति र सद्भाव कायम गर्दै अघि बढेको सामाजिक मान्यता र संस्कारमा रुपान्तरण गर्ने धृष्टता गरिँदैछ । परिवर्तनको नाममा आफ्नो दायित्व र मर्यादालाई भुल्दै धार्मिक आस्था र विश्वास कमजोर बनाइँदैछ । मुठ्ठीभर व्यक्तिको अहंकारले समग्र समाज अँध्यारोतर्फ धकेलिँदैछ । बाल, युवा, बृद्धा सबैको मन–मस्तिष्कमा चर्मदृष्टिको सुखद् क्षणलाई जीवनको आधार बनाइँदैछ । सामाजिक रहन–सहन र बसाईमा परिवर्तन गर्दै आधुनिक सभ्यता भनी पश्चिमी संस्कृतिलाई बढावा दिइँदैछ ।
मानिसमा अन्तर्निहित विज्ञतालाई क्षणिक स्वार्थमा लुटपुट्याई आयातित संस्कार स्थापना गर्न खोजिँदैछ । शिक्षा, स्वास्थ्य र संस्कारलाई व्यापारीकरणतर्फ उन्मुख गराउन खोजिँदैछ । श्रद्धा र विश्वासले भरिएको परम्परा र संस्कृतिमाथि गिद्धेदृष्टि राख्ने प्रवृत्तिको आचरण प्रदर्शन भइरहेको छ । काम होइन कुरा गर्ने, दिने होइन मागी खाने संस्कारको विकास गरिँदैछ । नैतिकता किताबी ज्ञानभित्र सीमित रही जता पनि दलाली संस्कृतिको विकास गरिँदैछ । २०४६ सालअघि धान निर्यात गर्ने क्षमता राखेको हाम्रो घर–आँगनमा प्लाष्टिकका चामल भित्रिने अवस्था बनाइँदैछ ।
समयमा सही, स्पष्ट चिन्तन र सोच नबढाई पराया धनमा निर्भर रहने परिस्थिति बनाइँदैछ । नीति र नैतिकता खोज्न अरुको आशीर्वाद लिनुपर्ने अवस्था सिर्जना गरिँदैछ । संस्कार परिवर्तनको नाममा अर्धाङ्गन अवस्थामा रहने श्रीमान–श्रीमतीबीच अविश्वासको बादल मडारिने अवस्थाको थालनी गरिँदैछ । कहिले अरुको अधिनमा नरहेको नेपालीको स्वाभिमान बजारमा बिक्ने सामानसरी सीमित व्यक्तिको सौदाभित्र गाजिने अवस्थामा रहेको छ । शिक्षालाई संस्कारमा जोडेर कमजोरी हटाउनुको साटो शिक्षामा नै व्यापारीकरण गरिँदैछ ।
हिमाल, पहाडको अलावा विदेशीलाई आकर्षण गर्ने पौराणिक संस्कार र संस्कृति धराशायी बनाइँदैछ । अहंकारलाई त्यागी शुद्ध र सत्चरित्र मनले अरुको सम्मान गर्ने संस्कारको स्थापित मूल्य र मान्यतामा धमिरा लगाउने कार्य गरी छाडा संस्कृति भित्र्याउने चेष्टा गरिँदैछ । प्रकृतिमा देखापर्ने दुष्ट आचरण जसले आफ्नो र विरानो छुट्याउनै जान्दैन, त्यस्तो आचरण स्थापनातर्फ नेतृत्वको ध्यान केन्द्रित भइरहेको छ । फलस्वरुप अप्राकृतिक सांस्कृतिक सोचले विविध रोगले अहिले राष्ट्र गाँजिएको छ । नेतृत्वको असक्षमता र नीतिविनाको निर्देशनले रोग बढाइँदैछ ।
समयमै काम गर्न नसक्ने र गर्ने आधार तयार नगर्ने संस्कारले जनजीवन त्रस्त छ । बर्षामा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भनेझैँ एउटै कुरालाई सबै ठान्ने नेतृत्व प्रवृत्तिले जनमानस आक्रान्त भइरहेको छ । यसरी संस्कृति र संस्कारमा सौदा गरिँदै गएको यस अवस्थामा अब पनि नागरिक सचेतना नबढ्ने हो भने हाम्रो आचरण र प्रवृत्ति कुन दिशातिर उन्मुख हुने हो, यो गम्भीर कुरा सबै सचेत आत्माले बुझ्न जरुरी छ ।
नीति र नैतिकताको खडेरीले मानिसको मन, विचार र आचरणमा गलत प्रवृत्ति हावी भइरहेको वर्तमान समयलाई हेर्ने हो भने हिन्दुत्वभित्र लुकेको संस्कार र संस्कृति हेर्न आउने पर्यटकहरु स्वयं निराश हुँदैछन् । तर पनि हामी हाम्रो संस्कृति ठूलो भनी घमण्ड गर्न छोड्दैनौं । हामीसँग अहिले हिमाल, पहाड, तराई छ तर मौलिक संस्कृति र संस्कार लोप हुँदै गरेको छ । तसर्थ यस अवस्थामा अब हामी सबै सचेत हुनुपर्ने ठड्कारो आवश्यकता देखिन्छ ।