खुला जुनियर भर्चुअल तेक्वान्दो प्याट्रन राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता हुने

दाङ,२७ जेठ । रोल्पा आईटिएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा रोल्पामा दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो (आईटिएफ) प्याट्रन राष्ट्रिय च्याम्पियनसिप–२०२० हुने भएको छ । पछिल्लो समयमा कोरोना भाईरसको बढ्दो प्रकोपसंगै विभिन्न खेलकुद गतिविधिहरु रोकिएको समयमा अनलाईनमार्फत प्रतियोगिता गराउन थालेको आइटिएफ तेक्वान्दो संघ रोल्पाका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन ।

रोल्पा आईटिएफ तेक्वान्दो संघले प्रथम रोल्पा खुला अनलाईन राष्ट्रव्यापी पुरुष ब्ल्याक बेल्ट तेक्वान्दो आईटिएफ प्याट्रन च्याम्पियनसिप प्रतियोगिता सम्पन्न गरेको छ । संघका अध्यक्ष बाठामगरको संयोजकत्वमा दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो आईटिएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता गर्न थालेको हो । खेलाडीहरुलाई लकडाउनको समयमा घरमै स्वअभ्यास गरि आफुहरुलाई मानसिक तथा शारीरिक रुपमा फिट, तन्दुरुस्तका साथै क्रियाशिल बनाईराख्न थप सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतियोगितामा तेक्वान्दो (आईटएफ) का हरियो पेटीदेखि रातो पेटीसम्मका खेलाडीहरुले सहभागी जनाउन पाउने छन् । खेलाडीहरुले वन–ह्यो (WON-HYO) तुल प्याट्रन र आफुले इच्क्षाको एउटा प्याट्रन गरि जम्मा दुई वटा प्याट्रनको भिडियो रोल्पा आईटिएफ तेक्वान्दो संघलाई असार १ गतेदेखि असार २० गतेभित्र पठाउनुपर्नेछ ।

प्रतियोगिताको नतिजा प्रकाशन असार २५ गते हुने आयोजकले जनाएकोछ । खेलाडीहरुले पठाएको भिडियो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रिहरुले भिडियो कन्फेरेन्स मिटिङमार्फत प्रतियोगीहरुको भिडियो हेरेर पाएको प्राप्तांकहरुलाई छलफलमार्फत निर्णय गरेर महासंघसंगको सहकार्यमा नतिजा प्रकाशन गर्ने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३५ सय र तेस्रो हुनेले २५०० नगदसहित प्रमाणपत्र पाउनेछन । प्रतियोगिताको पुरस्कार प्रायोजन परिवर्तन गाउँपालिका–२ राङ्सी रोल्पा निवासीहरु सुरेश बाठामगरले प्रथम पुरस्कार, मिलन सुनुवारले दोस्रो पुरस्कार र ओपेन्द्र रोका मगरले तेस्रो पुरस्कारको व्यवस्था गरेका छन् ।