मानवअधिकार संगठनद्वारा क्वारेन्टाइनको अनुगमन

दाङ, २६ जेठ । नेपाल मानवअधिकार संगठन दाङ शाखाले घोराही उपमहानगरपालिकाभित्र रहेका क्वारेन्टाइनहरुको अनुगमन गरेको छ । संगठनको टोलीले क्वारेन्टाइनको अवस्थाको बारेमा जानकारी लिनका लागि सोमवार घोराही उपमहानगरपालिकाअन्र्तगतका विभिन्न वडाहरुमा पुगेर अनुगमन गरेको हो ।

अनुगमनका क्रममा क्वारेन्टाइनमा बसेकाहरुले भोग्नुपरेका समस्या, प्राप्त गरेका सुविधालगायतका विषयमा जानकारी लिएको नेपाल मानवअधिकार संगठनका जिल्ला सभापति इन्जिनियर ऋषिराम शर्माले जानकारी दिए । क्वारेन्टाइनको अनुगमनबाट जानकारी स्थानीय प्रशासन तथा सम्बन्धित निकायमा जानकारी गराइने जिल्ला सभापति शर्माको भनाइ रहेको छ ।

जसले गर्दा सुधार गर्नुपर्ने स्थानमा सुधार गर्नका लागि सहयोग मिल्ने उनको भनाइ रहेको छ । ‘केही स्थानमा राम्रो गरेको पाइएको थियो भने केही स्थानमा सुधार गर्नुपर्ने अवस्था देखिएको छ’ सभापति शर्माले भने । क्वारेन्टाइमा बसेकाहरुले आ–आफूहरुले भोगेका समस्याका बारेमा जानकारी गराएका थिए । संगठनले सोमवार घोराही उपमहानगरपालिका वडा नं. १८, १७, ४, २, ६, १५ वडाका क्वारेन्टाइमा पुगेर अनुगमन गरेको थियो ।

त्यस अवसरमा संगठनका आजीवन सदस्य मधुसूदन अधिकारी, संगठनका जिल्ला सदस्य रशमीराज पाण्डेलगायतको सहभागिता थियो । संगठनले जिल्लामा रहेका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनहरुको अनुगमन गरिराखेको जनाएको छ ।