प्रिया स्मृति ढकाल
नेपालगञ्ज २६ जेठ । ‘फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको पिसिआर परीक्षण गर्ने कुरा आयो’ कोरोना भाइरसमुक्त भएपछि खजुरा गाउँपालिकाका सह–संयोजक लक्ष्मी केसी ओलीले भनिन्– ‘मैले पनि परीक्षण गराए, सबैको रिपोर्ट नेगेटिभ आयो तर मेरो पोजेटिभ । एकछिन त विश्वास नै लागेन । तर त्यो वास्तविकता नै थियो । कन्ट्रयाक्ट टे«सिङ गर्दा श्रीमान् मेघराज ओलीलाई पनि पोजेटिभ देखियो । हामी दुवैजना (लक्ष्मी १७ र मेघराज १४) दिन आइसोलेसनमा बसेर कोरोनामुक्त भएर निस्कियौं ।’
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आइसोलेसन कक्षमा बसेर उपचार गराएकी उनी संक्रमणबाट जोगिन सचेत हुँदाहुँदै पनि संक्रमित भएको थाहा पाउँदा शुरुमा सम्हाल्न गाह्रो भएको अनुभव सुनाउँछिन् । ‘संक्रमित हुँदैमा केही हुँदैन भनेर अरुलाई सम्झाउँदा जति सजिलो हुन्छ आफूलाई हुँदा सम्हालिन गाह्रो हुँदोरहेछ’, उनले भनिन् । अरुलाई सम्झाउने लक्ष्मी आफू संक्रमित पुष्टि भएपछि आफूलाई सम्झाउने न स्वास्थ्यकर्मी पाइन् न त चिकित्सक । ‘जब आफैलाई समस्या आउँछ त्यसपछि धेरै कुराहरु थाहा हुँदोरहेछ’, उनले भनिन् ।
नर्सिङ संघ बाँकेका अध्यक्ष र अगुवा पत्रकार दम्पत्ति भएका कारण उनीहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले फोनमा नियमित सम्पर्क गर्ने गरेका थिए । मेघराज भन्छन्– ‘आइसोलेसनमा बस्ने संक्रमितलाई न स्वास्थ्यकर्मीले भेट्छन् न त चिकित्सकले । यहाँ त स्वास्थ्यकर्मी र चिकित्सकबाटै त्रसित गराउने काम हुँदोरहेछ ।’ १४ दिन आइसोलेसन अस्पतालमा बस्दाको अनुभव सुनाउँदै ओलीले भने– ‘जसले संक्रमितलाई हौसला र आत्मविश्वास दिलाउनुपर्ने हो, उसैबाट त्रसित गराउने गरेको पाइयो ।’
प्रदेश ५ सरकारले खजुरा क्यान्सर अस्पताललाई कोरोना अस्पताल बनाएको छ । भेरी अस्पताल नेपालगञ्जबाट फिजिसियनको नेतृत्वमा संक्रमितको निगरानीका लागि चिकित्सक र स्वास्थ्यकर्मीको टोली नै परिचालन गरिएको छ । भेरी अस्पतालले संक्रमितको अवस्थाबारे जानकारी लिन दैनिक फिजिसियन चिकित्सक खजुरा पठाउने गरेको छ । ती चिकित्सकले ओल्लो कोठामा जडान गरिएको सिसिटिभीबाट पल्लो कोठामा रहेका विरामीको अवस्था हेरेर फर्किने गर्छन् ।
मेघराज भन्छन्– ‘व्यक्तिगत सुरक्षा उपकरण पिपिई लगाएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले निश्चित सामाजिक दूरी कायम गरी संक्रमितको अवस्था जानकारी लिनेदेखि उनीहरुलाई हौसला दिनुपर्ने हो, यहाँ त चिकित्सकहरुबाटै संक्रमितलाई छि…छि… र दूर…दूर…को व्यवहार गरेजस्तो देखियो ।’ यसले संक्रमितहरुलाई मनोसामाजिक रुपमा ठूलो असर परेको उनले सुनाए । पत्रकार–नर्स दम्पत्ति भएका कारण उनीहरुलाई फोनबाटै भए पनि चिकित्सकहरुले परामर्श दिए । तर पहुँच नभएका संक्रमितहरुले आइसोलेसन अस्पतालमा सुत्न र खानाबाहेक अरु केही पनि नपाएको मेघराज सुनाउँछन् ।
‘कतिपय संक्रमितमा लक्षण समेत देखिएको छ, आइसोलेसनभित्रका संक्रमितलाई कसले हेर्ने ?’ लक्ष्मी भन्छिन्– ‘आफै संक्रमित हुँदा पनि उनीहरुको उपचारमा खटिनुपर्ने अवस्था आयो ।’ भेरी अस्पताल नेपालगञ्जका मेसु डा. प्रकाश थापा संक्रमितहरु चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको दावी गर्छन् । ‘पहिलोपटक कोरोना भाइरससँग लड्नु पर्दा यसले सबैलाई मनोसामाजिक भय निर्माण गरिदिएको छ’, उनले भने– ‘तर स्वास्थ्यकर्मी र चिकित्सक उच्च मनोबलका साथ संक्रमितको उपचारमा खटिरहेका छन् ।’
मेसु थापाले यस्तो भनिरहँदा कोरोना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किदै गरेका नरैनापुरका सवनम वर्मा (नाम परिवर्तन)ले भन्दै थिए– ‘मलाई कोरोना कसरी लाग्यो थाहा भएन्, कसरी निको भयो त्यो पनि थाहा भएन ।’ कोरोना भाइरस पुष्टि भएको तेस्रो दिन हल्का रुघाखोकी लागेको थियो, उनले भने– ‘तातो पानी खाए, आफै ठीक भयो ।’
न उनलाई कसैले स्वास्थ्य अवस्था सोध्यो न त उनले भन्नलाई स्वास्थ्यकर्मी भेटे । ‘रुघाखोकी लागेको बेला डाक्टर नै आएनन कसलाई भनु ?’ उनले भने– ‘तातो पानी खाए आफै ठीक भयो । सुविधासम्पन्न भनिएको आइसोलेसनको हविगति त यस्तो छ, झन् अहिले पालिकास्तरमा स्थापना गरिएको आइसोलेसनको अवस्था कस्तो होला ?’ यो अस्पतालबाट ३० जना कोरोना भाइरसका बिरामी उपचारपछि घर फर्किएका छन् ।
बाँकेमा संक्रमितको संख्या २ सय ७० पुग्दा ५० जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ । जिल्लामा हाल १ सय ६ वटा क्वारेन्टाइनमा ३ हजार ६ सय ९५ जना र १३ वटा आइसोलेसनमा २ सय १५ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
फ्रिडम फोरमको सहकार्यमा तयार गरिएको ।