लिलाधर वली
दाङ, २६ जेठ । कोरोना जोखिमको समयमा भारतसँगै बिभिन्न देशहरुबाट भित्रिने नागरिकहरुलाई राख्नका लागि बनाइएका क्वारेन्टाइन नै असुरक्षित देखिएका छन् ।
कोरोना भाइरसको महामारीको समयमा क्वारेन्टाइनमा बस्नेहरुलाई बाध्यतापूर्वक बस्नेभन्दा पनि आफ्नो सुरक्षाका लागि बसेका हौं भन्ने महसुस गराउनुपर्ने हो, तर त्यसो हुन नसक्दा क्वारेन्टाइनमा बसेकाहरु भाग्न र आन्दोलनको तयारी गर्न समेत थालेको पाइएको छ । क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्डमा त्यहाँ बस्नेले पालना गर्ने र गर्न नहुने कुराहरु समेटेर आचारसंहिता समेत बनाइएको छ । तर, त्यसको अनुगमन र मापदण्डअनुसारको व्यबस्थापन नहुँदा अनुशासनहीन अवस्था देखिँदै गएको छ ।
समयमै स्वाव परीक्षणको नतिजा आउन नसक्दा त्यहाँ बसेकाहरुमा छट्पटी थपिने र मानसिकरुपमा झनै समस्या थपिने गरेका कारण ‘क्वारेन्टाइन अनुशासन’ समेत उल्लंघनका घटनाहरु सुनिन थालेका छन् ।
संक्रमण बोकेको हुनसक्ने भन्दै उनीहरुलाई पूर्णरुपले स्वस्थ बनाउने प्रक्रिया शुरु गर्न क्वारेन्टाइनमा राखिएको हो । तर, क्वारेन्टाइनको अस्तव्यस्तताका कारण क्वारेन्टाइनबाटै मानिसहरु भाग्न थालेका छन् । जसको एउटा उदाहरण घोराही उपमहानगरपालिका–१८ रझेना माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन । जसमा बसेका ३ जना मानिसहरु शनिवार राति क्वारेन्टाइनबाट भागेका थिए । क्वारेन्टाइनबाट निस्किएका उनीहरु मदिरा सेवन गरेर गाउँमा हल्ला गर्न थालेपछि राति १ बजे स्थानीय युवाहरुले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा बुझाएका थिए ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रातको समयमा भाग्न थालेपछि अहिले रझेना माध्यमिक विद्यालय रहेको क्वारेन्टाइनको सुरक्षाका लागि प्रहरीको व्यवस्था गरिएको वडाध्यक्ष भरतमणि अर्यालले जानकारी दिएका छन् । ‘क्वारेन्टाइनमा बस्नेलाई खानाबाहेक सवै सेवा उपलव्ध गराएका छौं’, वडाध्यक्ष अर्यालले भने– ‘तर शनिवार निस्कनेहरु रक्सी खानलाई निस्किएका रहेछन् ।’
घोराही उपमहानगरपालिका प्रवक्तासमेत रहेका अर्यालले क्वारेन्टाइनमा बसेका स्वास्थ्य परीक्षण, उनीहरुलाई काउन्सिलिङ गर्नेदेखि पिसिआर भए÷नभएको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको जानकारी दिएका छन् । वडाध्यक्ष अर्यालका अनुसार वडाले रझेना स्कुलमा बनाएको क्वारेन्टाइनमा ४८ जना र घोरदौरा स्कुलको क्वारेन्टाइनमा ५ जना रहेको समेत जानकारी दिएका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिका–२ को गंगा माध्यमिक विद्यालयको समेत उस्तै अवस्था रहेको छ । क्वारेन्टाइनको नाममा आफूहरुलाई विद्यालयमा बसाउने काम मात्र गरेको क्वारेन्टाइनमा बस्दै आएका एकजना युवाले जानकारी दिए । जोखिमको समयमा आफूसँगै घरपरिवारलाई सुरक्षित राख्नका लागि आफूहरु क्वारेन्टाइनमा बसे पनि क्वारेन्टाइनको अवस्थाका कारण संक्रमण फैलने डर रहेको बताए । क्वारेन्टाइनमा भएको धारा सबैले प्रयोग गर्ने र एउटै शौचालय भएका कारण थप संक्रमणको डर रहेको समेत उनले बताए ।
उनले जोखिमको समयमा बाहिरी जिल्लाहरुमा पोष्टिक खानासँगै क्वारेन्टाइनमा बसेकाहरुलाई मनोपरामर्श दिने गरेको सुनेपछि आफू बसेको क्वारेन्टाइनमा स्वाब संकलनका क्रममा मात्र स्वास्थ्यकर्मी देखेको बताए । ‘क्वारेन्टाइनमा बाहिरबाट आएका मानिसहरुलाई राख्ने मात्र भएको छ’, चौधरीले भने– ‘हाम्रो क्वारेन्टाइनमा बसेका केही व्यक्तिलाई कोरोना संक्रमण देखिपछि अन्य मानिसहरु त्रासित छन्, तर उनीहलाई कुनै प्रकारको मनोपरामर्श दिने गरेका छैनन् ।’
यी प्रतिनिधिमूलक क्वारेन्टाइन मात्र हुन् । अहिले जिल्लाभरका १ सय ८७ क्वारेन्टाइनको अवस्था उस्तै रहेको छ । कतिपयमा खाना खान र सुत्न घरमा जाने गरेको समेत पाइएको छ भने नजिकै रहेका पसलहरुमा पानपराग, सूर्ती, गुट्खा र रिचार्ज कार्ड किन्न जाने गरिएको पाइएको छ ।
क्वारेन्टाइन मापदण्डमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि त्यही बस्ने र खानपिनलगायतको सबै व्यबस्थापन गर्ने भनिएको छ । तर, अझै त्यस्तो अभ्यास हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भित्रभित्रै संक्रमण फैलनेभन्दा पनि कोरोना परीक्षण लम्बिँदा व्यवस्थापनमा केही समस्या आएको बताएका छन् । क्वारेन्टाइनमा न्यूनतम १४ दिन राख्ने भनिए तापनि कोरोना परीक्षणको सुस्त हुँदा धेरै बस्नुपर्ने बाध्यताका कारण क्वारेन्टाइनमा बस्न थालेका मानिसहरु आत्तिन थालेको बताए ।
‘कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएका कारण व्यवस्थापनमा समस्या भएको छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘चाँडै रिपोर्ट आउने बातावरण हुन सके केही सजिलो हुने थियो ।’ ल्याबले जति सक्यो चाँडो रिपोर्ट दिने र सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई क्वारेन्टाइन आफ्नै सुरक्षाका लागि हो भनेर काउन्सिल गर्न सक्ने हो भने भाग्ने समस्या नआउने बताए ।
उनले सुरक्षाका लागि सबै क्वारेन्टाइनमा प्रहरी राख्न सकिने अवस्था नरहेको समेत बताए । ‘जिल्लाभर करिव १ सय ९० वटा क्वारेन्टाइन रहेका छन्, ती क्वारेन्टाइनमा एउटा पुलिस राखेर हुँदैन’, प्रजिअ रिजालले भने–‘क्वारेन्टाइनमा पुलिस राख्ने हो भने कम्तीमा पनि एउटा क्वारेन्टाइनमा चारजना पुलिस राख्नुपर्ने हुन्छ, त्यसरी राख्ने हो भने पुलिस नै पुग्दैनन् ।’ तर प्रमुख जिल्ला अधिकारी रिजालले विवादित क्वारेन्टाइन र मानिस भाग्न सक्ने जोखिम रहेका क्वारेन्टाइनहरुमा भने पुलिस राख्न सकिने बताए ।
फ्रिडम फोरमको सहकार्यमा तयार गरिएको ।