समुदायलाई त्रासमा राख्नेगरी केही काम नगरौं

संक्रमणमुक्त नहुँदै बेलझुण्डी अस्पतालबाट ५ जना डिस्चार्ज गरिएपछि नागरिक स्तरमा एक प्रकारको त्रास देखिएको छ । हुन त अस्पतालमा कसैलार्य राख्नु र त्यहाँवाट डिस्चार्ज गर्ने कुरा नितान्त प्राबिधिक कुरा हुन् । त्यसको निर्णय गर्ने जिम्मा चिकित्सकहरुको हुन्छ । उनीहरुले सबै खाले असर र अबस्थाको ख्याल गरेर नै डिस्चार्ज गर्छन् भन्ने बिश्वास गर्ने गरिन्छ । तर कतिपय डिस्चार्जहरुलाई यसरी सामान्य रुपमा बुझ्न सकिँदो रहेनछ ।

अहिले कोभिड १९को त्रासवाट मानव जाती नै आतंकित छ । संक्रमण नदेखिएकाहरुलाई समेत क्वारेन्टाइनमा राख्ने गरिएको छ । घर नजिक क्वारेन्टाइन र आइसोलेसन अनी बिशेष अस्पताल बनाएकोमा असन्तुष्टिको आवाजहरु पनि सुनिइरहेको छ । यस्तो मानसिकतामा नागरिकहरु बसेको अबस्थामा संक्रमितहरुलाई परीक्षण नै नगरेर डिस्चार्ज गरिँदा एक प्रकारको त्रास र असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो ।

नेपाल सरकारले निर्देशिका निर्माण ग¥यो र त्यसका आधारमा लक्ष्यण नदेखिएको ३ दिनपछि डिस्चार्ज गर्न सकिने परिपत्र जारी ग¥यो । संक्रमितको संख्या बढेको बढ्यै गर्दा उनीहरुलाई राख्ने ठाँउ अभाव हुने निश्कर्षका साथ त्यस्तो निर्णयमा सरकार पुगेको हुनुपर्दछ । सरकारले घरमै आइसोलेसनमा बस्नु पर्ने पनि भन्दै आएको छ । तर, अहिलेको अबस्थामा संख्या धेरै भए भनी संक्रमितलाई डिस्चार्ज गरिहाल्न पर्ने अबस्था भने पक्कै हैन । यहाँनर दुईवटा कुराहरु ख्याल गर्नुपर्ने हुन्छ । पहिलो कुरा त समुदाय अझै त्रासमुक्त भएको छैन ।

नयाँ मान्छे अउला भनेर टोलको वाटो बन्द गरेर नागरिकहरु बसिरहेका छन् । क्वारेन्टाइनमा बसेकालाई समेत पीसीआर परीक्षणपछि मात्र घर पठाउ भन्ने आवाज समुदायस्तरवाट आइरहेको छ । त्यसकारण समुदायको यो डर नभाग्दै संक्रमितलाई परीक्षण विना नै डिस्चार्ज गर्ने कुरालाई उचित मान्न सकिदैन । दोस्रो कुरा के पनि हो भने यसरी सरकारको परिपत्र भन्दै डिस्चार्ज गरिएको घटनाप्रति स्थानीय सरकार र प्रशासन सन्तुष्ट देखिएनन् र यसलाई अली हतारमा डिस्चार्ज गरिएको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले के पनि भनेका छन् भने अझै स्थान अभावका कारण संक्रमितलाई पुरै निको नहुँदै समुदायमा पठाउने अबस्था आउन दिदैनौ । यस्तो अबस्थामा कोरोना अस्पतालले डिस्चार्ज गर्दा चिकित्सकीय दृष्टिवाट उचित मानिएला तर, समाजमा त्रास थप्ने गरी र संक्रमित राख्ने ठाँउको अभाव रहेछ कि भन्ने आशंका गर्ने ठाँउ दिनेगरी गरिएको डिस्चार्जका बारेमा पुनरविचार गर्न आबश्यक देखिएको छ ।

सम्बन्धित निकायहरुका बिचमा आवश्यक समन्वयको अभावमा हामी चुक्दै आएका छौं । आइसोलेसनका लागि छुट्याइएका भनिएका बेडहरुमा यस्तै समन्वयको अभावमा सक्रमित राख्न नसकिएको तितो अनुभव हामीकहाँ छ । छुट्याएका भनेर प्रचारित ठाँउहरुमा संक्रमित राख्न सकिएन, तर भाडामा आइसोलेसन र क्वारेन्टाइन बनाउनु पर्ने बाध्यता पनि त्यही समन्वयको अभावले सिर्जना गरेको हो ।

अहिले संक्रमितलाई बिना परीक्षण समुदायमा पठाएर अर्को त्रास थप्ने काम पनि यस्तै समन्वयको अभावका कारण हुन थालेको छ । यसले सिर्जना गर्नसक्ने खतरनाक अबस्थाको जिम्मेवारी कस्ले लिने ? तसर्थ यस्ता सवालहरुमा पर्याप्त छलफल हुन र नागरिकलाई त्रसित हुनेगरी काम नगर्न सबै गंभिर हुनुपर्दछ ।