मधुसूदन सुवेदी
यतिबेला जनजनको मनमनमा कोरोनाको आतंक कहिले हट्ला र यो आतंकपछिको देशको हरेक अवस्था के होला भन्ने अनेकौं काल्पनिक र आत्मनिर्मित तस्विरले डेरा जमाएर बस्न थालिसकेको छ । कोरोनाको कहरमा ज्यान सम्हाल्न जिउ जोगाउन र जीवन थाम्न र धान्न जुन हम्मे–हम्मे परिरहेको छ, भोलिको समयमा यसले कहाँ, कतिसम्म र के–कस्ता असर पु¥याउने हो भन्ने थप चिन्ता र चासो थपिएको छ ।
कोरोनाको महामारी कोरोनाको बिगबिगी र कोरोनाको भय र त्रासले आज देश ठप्प भएको पनि ८० दिनको हाराहारीमा छ । यसरी त्रैमासिक समय हात बाँधेर र लकडाउनको अवस्थामा बस्दा तत्कालका अप्ठेरा, समस्या, चुनौती, दुःखजिला र स्थिति, परिस्थिति प्रत्यक्ष भोगेजस्तै योपछिको समय सपनारुपी दृश्य पनि सँगसँगै बन्दैछ र यतिबेला हरेक नागरिक, व्यक्ति–शक्ति, समूह, समाज र संगठनले के सोच्दैछन् भने यो देशमा अबका दिनमा सरकारी रबैया के–के होलान् ?
आउँदो समयमा देशको अनुहार कस्तो हुन्छ होला ? भोलिको समयमा यो देशका नागष्रिकको दिनचर्या के बन्दछ होला ? भविष्यमा हाम्रो विकास र उन्नतिको गति तथा प्रगति के हुन्छ होला ? आगामी दिनमा देशको अर्थतन्त्र कसरी चलायमान हुन्छ होला ? आगे समय यो देशमा श्रमिक जनशक्तिको चुलोको अवस्था कस्तो हुन्छ होला ?
पछिको समयमा देशका उद्योगधन्दा तथा कलकारखाना कसरी गतिशील हुन्छन् होला ? देशमा देखापरेका सामाजिक, आर्थिक, राजनीतिक तथा ऐतिहासिक समस्याको पार कसरी लाग्छ होला ? यो देशमा श्रमस्थल र रोजगार स्थान गुमाएका जनशक्तिको पुनर्बहाली कसरी हुन्छ होला ? यो देशमा सुन्दर सपना र मीठो योजना बनाएर विदेश पलायन भएका शिक्षित जनशक्तिको सपना कसरी भेटिन्छ होला ? छिमेकी राष्ट्र भारत तथा चीनबाट स्वदेश फर्कने नेपालीको कर्म र धर्म कहाँ, के, कसरी चल्छ होला ?
स्वदेशमै रोजगारबाट वञ्चित शिक्षित कर्मचारीको हालत के हुन्छ होला ? देशमा कृषिको ठूलो क्रान्ति ल्याउने सपवना विपनामा कसरी मोडिन्छ र तोडिन्छ होला ? यो देशको शान्ति र समृद्धि यो ढोका खुल्ने र खुलाउने सुयोग्य पात्र को बन्छ होला ? देशका भविष्यका कर्णधार भनेर चिनिने बालबालिकाको (क) देखि (ज्ञ) सम्मको र (A) देखि (Z) सम्मको पढाए कसरी पूरा हुन्छ होला ? यो देशमा पसिना पोख्नेको लागि पसिना पोख्ने ठाउँ कुन र कहाँ बन्दछ होला ?
यो देशका जोश, जाँगर, हिम्मत र साहस भएका जनशक्तिको कर्मथलो कसरी निर्धारण हुन्छ होला ? यो देशको आर्थिक क्रान्तिको दशा कहाँ पुगेर कस्तो रुपमा बदलिन्छ होला ? यो देशमा महंगो सपना देखाउने र मीठा फल पलाउने आशा बोकेका देशका सम्पदाहरु कसरी हुर्किन्छन् होला ? सधै आशाको त्यान्द्रोमा झुण्डिएर बाँच्ने नेपालीको भाग्य कहाँ गएर टुंगिन्छ होला ?
यो देशमा सन्तुष्टि लिन नसकेर तेस्रो मुलुक प्रवेश गरेका देशका होनहार शक्तिको अवस्था के हुने होला ? देशका शैक्षिक संघसंस्था तथा जनशक्तिको बेहाल हुँदा अबको हाल के हुन्छ होला ? यो देशका शिशु तथा बालकको हुर्किएर, बढेर, फूलेर र फलेर देशको सेवा गर्ने सपना कसरी कसले पूरा गर्छ होला ? यो देशका युवायुवतीको शान्ति र समृद्धिको साथमा खेल्न पाएर र रमाउन पाएर आफ्नो जीवन बिताउने रहरको अवस्था के हुन्छ होला ?
यो देशका बृद्ध तथा बृद्धाको सबैको सन्तोष देखेर र हेरेर मर्ने रहर कसरी पूरा हुन्छ होला ? यो देशका कैयौं नारीको कोखमा विकसित हुँदै गरेको गर्भे बालक जो यो स्वर्गरुपी देशमा पाइला अवतरण गराउन आतुर भई आफ्नो समयलाई पुकार्दै र दश औंला जोडेर कोखमा बसेको छ, त्यस्ताको जन्म सुनिश्चित तरिकाले कसरी हुन्छ होला ? यो देशका रोगीजनले आगामी दिनमा के–कस्तो उपचार पाउँछन् होला ?
यो देशका जोगीजनले आउँदो समयमा भिक्षाका रुपमा के पाउँछन् होला ? यो देशका भोगीजनले प्रत्यक्ष भोग्नका लागि अझै के–कस्ता ठक्कर र हण्डर खान्छन् होला ? यो देशमा नयाँ नेपालको रुप र स्वरुप कस्तो हुन्छ होला ? यो देशमा हुने खानेको र हुँदा खानेको खाडल कसरी पुरिन्छ होला ? यो देशको उन्नति तथा प्रगतिको समयसीमा कति लामो तन्किन्छ होला ? यो देशमा सानाले ठूलालाई र ठूलाले सानालाई निभाउने धर्म, कर्म र कर्तव्यको लेखाजोखा कसरी गरिन्छ होला ?
यो देशको धार्मिक अवस्था र व्यवस्था कसरले कहाँ, कसरी अर्थ लगाउँछ होला ? धर्म र न्यायको सम्पादन गर्नेको समीक्षा कसले गर्न पाउँछ होला ? यो सिंगो राष्ट्रमा बिग्रेको सग्लो भद्रगोल कसरी सम्हालिन्छ होला ? सप्रेको थाहा छैन, बिग्रेको कहाँ छैन भन्ने अवस्थामा सुधार्ने अंग र रंग के होला ? अनावश्यक धाक–धक्कु र गफ लगाएर खानेको दिन अबको समय कस्तो बन्छ होला ? नेपालको ऐतिहासिक र राजनीतिक प्रणाली अबको समयमा कसरी अर्थ लाग्छ होला ?
प्रकृतिको चपेटामा परेको बेला र प्राकृतिक दण्ड तथा जरिवानामा परेको बेला कृतिम न्याय कस्तो बन्न सक्ला ? देश र जनताका लागि मात्र नभएर सिंगो भूगोलका लागि प्रकृतिले औंला ठडाएको बेला यो धर्तीका मानवको धर्म, कर्तव्य र न्याय कसरी चल्छ होला ? हिजोसम्म विश्व ब्रमाण्ड नै मेरो अधिनमा छ र मेरो नियन्त्रणमा छ भन्नेले आज के सोच्दैछन् र भोलिका लागि के योजना बनाउँदैछन् होला ? प्रकृतिमाथि घोडा चढेर लगाम लगाएर दौडाउन तयार भएका देश, शक्ति र राष्ट्रका लागि आजको महामारी मूलमन्त्र र मूल सन्देश बन्न सक्छ कि सक्दैन होला ?
प्रकृतिको अन्यायमाथि मानिसले आफ्नो धर्म, धर्म र न्याय नहारेर सत्कर्म गरेर सिंगो भूगोलको समस्यालाई हल गर्ने साझा प्रयास जारी हुन्छ कि हुँदैन होला ? हाम्रो दिन सधै आकाशको फल खस्ला र खाम्ला भन्दै बित्ने हो कि साँच्चिकै फल पनि खान पाइन्छ होला ? यदि शासक गतिलो भए ।