‘यस्तो हतार गर्ने अवस्था थिएन’
खेमराज रिजाल
दाङ, २५ जेठ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट संक्रमितहरुलाई विदाइ गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका तथा परिपत्रअनुसार लक्षण नदेखिएका संक्रमितलाई अस्पतालबाट घर पठाउने बाटो खुलेको हो ।
दाङ जिल्लाको बेलझुण्डी कोरोना विशेष अस्पतालले सरकार त्यही नीतिमा टेकेर संक्रमितहरुलाई लक्षण नदेखिएको भन्दै परीक्षणविना नै डिस्चार्ज गरेपछि त्यसप्रति विभिन्न क्षेत्रबाट चासो प्रकट भएको छ । ‘हामीहरुले स्वास्थ्य निर्देशिकालाई पालना गर्ने हो, त्यसैले परीक्षणमा पोजेटिभ आएका तर निश्चित दिनसम्म पनि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको हो’, डा. सर्वेश शर्माले भने– ‘खालि हुने बेडमा आजै नयाँ बिरामी ल्याइने छ ।’ सरकारले संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो परिपत्र जारी गरेको हो ।
बेडअनुसारको बजेट व्यवस्थापनमा स्थानीय सरकार लागिरहेको अवस्थामा जाँच नै नगरी संक्रमितलाई घर पठाइएकोमा नागरिक समाजलगायत सबै सरोकारवालाहरुको आपत्ति र अचम्मित देखिएका छन् । उनीहरुले ठाउँको अभाव नहुँदै यसरी हतार गर्न नहुने पनि बताए । सरकारको पछिल्लो निर्देशिका र परिपत्रको समेत सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । दाङमा क्वारेन्टाइन भन्दा बाहिर रहेकालाई संक्रमण नदेखिएको अवस्थामा परीक्षणविना नै डिस्चार्ज गर्दा समुदायस्तरमा संक्रमण फैलन्छ कि भन्ने चिन्ता व्यक्त गरिएको हो ।
‘सरकार कोरोना संक्रमणको सवालमा पूरै असफल भएको छ, उपचारका लागि खोलिएका अस्पताल पनि भर्ना अड्डा जस्ता मात्रै देखिए’, तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी विनिल केसीले भने । सरकारले चाहेको अवस्थामा पिसिआर प्रविधिबाट धेरै नागरिकहरुको कोरोना परीक्षण गर्न सक्ने भन्दै तर सरकार कमिशनको चक्करमा केहीलाई आरडिटी परीक्षण र धेरैलाई क्वारेन्टाइनबाटै घर फर्काउने अभ्यासमा लागेको उनको आरोप थियो ।
डाक्टरहरुले सोचेरै निर्णय लिनुभयो होला : प्रजिअ
यसैबीच प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने जिल्लाका सबै स्थानीय तहमा आवश्यक क्वारेन्टाइन र आवश्यकताअनुसारका आइसोलेसन वार्ड नै तयार भएको बताएका छन् । संक्रमितहरुलाई पनि अस्पतालबाट डिस्चार्ज नगरिने तयारी रहेको अवस्थामा बेलझुण्डी अस्पतालबाट कोरोनाका संक्रमितहरुलाई पनि डिस्चार्ज गरिएको विषयमा आफूलाई जानकारी नभएको पनि उनले बताए ।
सरकारको निर्देशिका भए पनि स्थानीय तहमा धेरै स्थानमा आइसोलेसन तयार भइसकेको अवस्थामा ठाउँको अभावका कारण संक्रमणमुक्त नहुँदै डिस्चार्च गर्नैपर्ने बाध्यता नभएको उनको भनाइ थियो । ‘तर यो चिकित्सकहरुले जान्ने विषय भएकोले उहाँहरु सोचेरै यो निर्णयमा पुग्नुभएको होला’, प्रजिअ रिजालले भने ।
पछिल्लो समयमा ५ नं. प्रदेशमा कम्तीमा ७६ हजारको हाराहारीमा भारतबाट आएका नागरिकहरु बसोबास गरिरहेका छन् भने दाङ जिल्लामा झण्डै ६ हजार नागरिकहरु भारतीय सीमाबाट यहाँ आएर क्वारेन्टाइनमा बसिरहेका छन् ।
आइसोलसनको अभाव हुन दिन्नौं : स्थानीय सरकार
यसैबीच स्थानीय सरकारले भने संक्रमितहरुलाई कुनै पनि अस्पतालबाट संक्रमणमुक्त नभएसम्म डिस्चार्ज नगरिने बताएका छन् । घोराही उपमहानगरपालिकामा संक्रमित र संक्रमण नभएका व्यक्तिहरुलाई भिन्न–भिन्नै उपचार गर्ने व्यवस्थापन मिलाइसकिएको भन्दै नगरप्रमुख नरुलाल चौधरीले सोमवारदेखि कुनै पनि संक्रमितलाई आइसोलेसनमा राखिने व्यवस्थापन भइसकेको बताए । ‘बुटवलमा जे–जसो गरे हामीलाई थाहा भएन, तर क्वारेन्टाइनबाटै विना चेकजाँच विदाइ गरिने छैन’, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले भने ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका प्रमख घनश्याम पाण्डेले पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकासँगै स्थानीय तहको भिन्नै व्यवस्थापन गर्न लागिएको बताएको छ । सोही पालिकाभित्र रहेको बेलझुण्डी कोरोना विशेष अस्पतालबाट डिस्चार्ज गरिएका बिरामीको सन्दर्भमा भने उनले केही बोलेनन् । ‘अहिल्यै संक्रमितलाई घर फर्काउने अवस्था थिएन, बेलझुण्डीबाट किन पठाइयो भन्नेमा हामी पनि अनभिज्ञ छौं’, प्रमुख पाण्डेले भने– ‘सकेसम्म संक्रमितलाई आइसोलेसनमा राख्ने हामीले तयारी गरिरहेका छौं ।’
प्रतिष्ठानमा नर्या मेसिन ल्याउने प्रयास
यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालकै अवस्थामा दैनिक अढाई सय व्यक्तिहरुको मात्र पिसिआर परीक्षण गर्न सकिने बताएको छ । त्यसमा पनि प्राथमिकीकरणमा केही थपघट भए त्यो भन्दा पनि कमको परीक्षण गरिने प्रतिष्ठानले बताएको छ । यसै परिस्थितिमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप एउटा पिसिआर मेसिन ल्याउने तयारी गरेको प्रतिष्ठानका निमित्त रजिस्टार कैलाश प्रसाद देवले बताए ।
यो विषयमा प्रदेश सरकार र संघीय सरकारसँग समेत कुरा भइरहेको पनि उनले बताएका छन् । त्यसपछि कोरोना परीक्षणको अवस्था सुधारोन्मुुख हुने पनि उनको अपेक्षा थियो ।