संक्रमण बोकेर हिँड्नेबाट खतरा हुन्छ
दुर्गेश योगी, जनस्वास्थ्यविज्ञ
क्वारेन्टाइन भनेको कुनै पनि संक्रमण फैलिएको या प्रभावित क्षेत्रबाट आएकाहरु वा उनीहरुसँग सम्पर्कमा आएका तर, उसमा रोगका किटाणु छ कि छैन भन्ने थाहा नभएकाहरुलाई राख्ने ठाउँ हो । यो कोरोना मात्र हैन, अन्य संक्रमणहरुको अवस्थामा पनि प्रयोग हुन्छ । त्यहाँ बसेकाहरुलाई रोगको किटाणुले लक्षण देखाउने अवधिसम्म क्वारेन्टाइनमा राखिन्छ । यसलाई स्वास्थ्य क्षेत्रमा प्रयोग हुने भाषामा रोग पाक्ने (इन्कुवेसन) अवधि भनिन्छ ।
हरेक रोगहरुमा क्वारेन्टाइन अवधि फरक हुन्छ । लक्षण देखाउने अवधिका हिसावले । १२/१४ दिनसम्ममा यस्तो लक्षण देखिन्छ । कोरोनामा छिटो ५/६ दिनदेखि १४ दिनसम्म लागेको देखिन्छ । विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य मन्त्रालयको अनुभवले यस्तो देखाउँछ ।
त्यसकारण १४ दिन क्वारेन्टाइनमा राख्ने, हेर्ने, लक्षण देखियो भने उपचार गर्ने नत्र घर पठाउने अभ्यास गर्ने गरिन्छ । १४ दिनको अवधिमा उसमा लक्षण देखाप¥यो भने अब उसको क्वारेन्टाइन अवधि सकियो । अब आइसोलेसन वा उपचारमा पठाउनुपर्ने हुन्छ । लक्षण एकै पटक ह्वार्ररर देखा पर्दैन । ज्वरो आउला, निरन्तर खोकी लाग्ला र श्वासप्रश्वासमा समस्या होला । यी लक्षण सामान्य लक्षणका रुपमा रहँदासम्म विशेष सावधानीका साथ अलग्गै राखिन्छ । तर, जटिल भयो भने अस्पतालमा नै लगेर उपचार गर्नुपर्छ ।
निमोनिया हुनु, क्रोनिक/दीर्घ रोगी छ भने ती रोगहरु बल्झनुलाई जटिल अवस्था भनिन्छ । कोरोनाले प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ । अन्य किटाणुले आक्रमण गर्छ । एकातिर कोभिड पनि कडा, अरु किटाणु पनि देखियो, पुराना रोग बल्झियो । अब उपचारमा लग्न प¥यो । कोरोनाको ठ्याक्कै उपचार हुँदैन, तर उसलाई सहयोगी उपचार हुन्छ, अन्य रोगको उपचार गरेपछि सञ्चो भएर जान्छ पनि ।
उसलाई कैलेसम्म डिस्चार्ज गर्ने त ? भन्ने सवालमा २ तरिका हुन्छन् । पहिलो, उसलाई कोभिड टेस्ट गरेर नेगेटिभ आयो भने गर्ने । दोस्रो, विना टेष्ट, लक्षण देखिन छोडेको ३ दिनपछि घर पठाउन सकिन्छ भनिन्छ । स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धानले पनि यही भन्छ । नेपाल सरकारले हालै प्रेषित गरेको परिपत्रमा लक्षण देखिन छाडेको ३ दिनपछि घर पठाउन सकिने भनिएको हो । अरु रोगहरुमा पनि यसो गर्ने अभ्यास छ । यस्तो अभ्यास गलत होइन । तर, लक्षण हुँदाहुँदै भने डिस्चार्ज गर्न मिल्दैन ।
सरकारले यो अभ्यासलाई पछ्याए पनि संक्रमणको त्रास सर्वत्र हुँदा र संक्रमितलाई आइसोलेसनमा राख्न सकिने अबस्था हुँदै गर्दा डिस्चार्ज गर्ने कुरा भने समयसापेक्ष देखिएन । त्यसैकारण अहिले त्यसको बिपक्षमा पनि आवाजहरु सुनिएको छ । अर्को कुरा के भने, यसरी लक्षण देखा प¥यो र हरायो अनि परीक्षण नगरेर डिस्चार्ज गरिएको व्यक्तिले म ‘कोभिड फ्रि’ भए भन्न मान्न भने भएन ।
क्लिनिकल भाषामा निको भएर गए पनि बढीमा ६ हप्ता जति सुरक्षित रहने, अरुलाई नसर्ने गरी गतिविधिहरु गर्नुपर्छ । ऊ र यसको संसर्गमा रहने पूर्णरुपमा जोखिममुक्त मानिँदैनन् । अहिले सरकारले भनेका सावधानी, सामाजिक दूरी र हात तथा श्वासप्रश्वासको स्वच्छता कायम गरिराख्नु पर्दछ । तर, एकदम आइसोलेसमा झै बस्न भने पर्दैन ।
महामारी र आपतकालीन भनेकै यहाँबाट शुरु भएर यहाँ जान्छ भन्ने नै हुँदैन । पूर्वतयारी हुनु पर्छ । तर, कहाँ पुगिन्छ भन्ने थाहा हुँदन । भ्याक्सिन बनेको भाेिल नै सुन्न, तपाईहरुले समाचार लेख्न पनि सक्नुहुन्छ । यसका लागि लामो समय पनि लाग्न सक्छ । महामारीको समयमा यस्तो अनिश्चितता हुनु स्वभाविक हो । त्यसकारण नागरिकले सामाजिक दूरी, श्वास प्रश्वासमा र हातको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । यो कुरा संस्कारका रुपमा विकास भयो भने लकडाउन खुकुलो गर्दा पनि हुन्छ । तर अहिलेको अवस्था त्यस्तो छैन । बाहिरबाट आएर गाउँमा बसेका छन्, हिडिरहेको छन् । यो अवस्थामा लकडाउन खोल्न हुँदैन भन्ने नै हो ।
त्यस्तै यो अवस्थामा राज्य पनि नियमित भ्याक्सिनको खोज अनुसन्धानमा लाग्नुपर्छ । कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्छ र परीक्षणको दायरा बढाउनुपर्छ । राज्यले यो बेलामा सान्दर्भिक नियम र तरिका बताउन सक्नुपर्छ यो बेला र नागरिकले मानिदिनुपर्छ । जनताले आइसोलेसन, क्वारेन्टाइनको कस्ता समस्या भोगेका छन् ? अरुहरुको स्वास्थ्य सेवामा पहुँच के छ ? सुत्केरी, गर्भवतीको जाँच के छ ? दीर्घरोगी, आकस्मिक उपचारको व्यवस्थापन कस्तो छ ? विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरुलाई दिने स्वास्थ्य सेवा र उनीहरुलाई पहुँच योग्य भाषामा सूचना दिइएको छ कि छैन ? यीतर्फ पनि विशेष ध्यान दिनपर्ने हुन्छ । साथै यस्तो महामारीको बेलामा हुने मानसिक आघातको व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्दछ ।
क्वारेन्टाइनको सुरक्षा महत्वपूर्ण हुन्छ यस्तो बेला । त्यहाँको सुरक्षा भनेको गेटमा पाले राखेर रोक्ने मात्र हैन, भित्रको वातावरण डररहित र स्तरीय बनाउनु पनि हो । त्यहाँबाट मान्छे नभाग्ने अवस्था बनाउन सरकारले ध्यान दिनुपर्दछ । अझ बुझ्नुपर्ने कुरा त के हो भने क्वारेन्टाइनमा तथा आइसोलेसनमा बसेकाहरु हाम्रा लागि खतरा होइनन् । उनीहरुलाई त हामीले सम्मान गर्नुपर्छ । खतरा त संक्रमण बोकेर लखर–लखर हिँड्नेहरुबाट हो ।
कुराकानीमा आधारित