भूपेन्द्र सुवेदी
नेपालमा नेपाली राजनेताहरुले सिङ्गो नेपालको र नेपालीको भलो हुने राजनीति एजेण्डा र नीति बोक्नै सकेनन् । एजेन्टबिनाको योजना सफल हुन सक्दैन र योजना, अनुसन्धान, ओपी बिनाको युद्ध विद्याय सफल हुन पनि सक्दैन । यसैको कारण नेपालको राजनीति सधै अन्योलग्रस्त छ । यो किन र कसरी यस्तो भएको हो भन्ने विषयको खोजी हुनै सकेको छैन ।
खोजी होस् पनि कसरी ? आफ्नै बलबुँतामा र बुद्धिमा निर्माण भएका सबै राजनीतिक पार्टी भएको भए पो आफ्नो भूमि, आफ्ना नागरिक, नेपालको भौगोलिक अवस्था सुहाउँदो व्यस्थाको परिपक्को नीति र सिद्धान्त निर्माण हुने थियो ।
नेपालमा जेजति राजनीतिक पार्टी जन्मिएका छन् ती सबै पार्टीहरुको जन्म नेपालमा भएको हुँदै होइन । ती पार्टीहरु सबै भारतीय इसारामा खोलिएका हुन् भन्दा फरक नपर्ला । भारतीय नेताहरुको रायअनुसार नेपालको राणा शासन विरुद्धमा आन्दोलन गर्ने उद्देश्यले नेपालमा राजनीतिक पार्टी त्योबेला खोलिएको हो ।
जसअनुसार भारतको कांग्रेसको नीतिअनुसार नेपाली कांग्रेसले पार्टी जन्मायो र नेपाल कम्युनिष्ट पार्टीले भारतीय कम्युनिष्ट जहाँबाट निर्देशित थियो उसैको इसारामा नेपालमा पार्टी कम्युनिष्ट पार्टी खोलेको हामीले इतिहास पल्टाउँदा भेट्न सक्छौँ । यहाँ नेपालका राजनीतिक दलहरुले २००४ सालमा भारतको बानारसीमा बसेर आ–आप्mनो पार्टी खोलेको अवस्था हो ।
आज नेपाली राजनीतिले नेपालमा धेरै लामो इतिहास रचेका छन् । त्यसरी गठन गरिएका पार्टीहरु २००४ सालदेखि आज २०७७ सालसम्म ७३ वर्ष पार गरिसकेका छन् । आजसम्म नेपालको राजनीतिले किन सार्थकता पाउन सकेन ? कसको कमीकमजोरी हो ? नेपाली जनताले जेजति दुःख, कष्ट भोग्नुपर्ने हो भोगेकै छन् । र, धेरै योद्धाहरुले विगत २००७ साल अगावै राणा शासकहरुद्वारा मारिनु प¥यो ।
२००७ साल पछिको राजनीतिमा पनि नेपाली जनताले नेपालका दलहरुको गन्तव्यविहीन राजनीतिका घोषणापत्रअनुसार साथ दिएकै हुन् । तर आज ७३ वर्ष पार गर्दासम्म नेपालको राष्ट्रियता र सार्वभौम सम्पन्नताको बारेमा नेपाली नगरिक सामू कुनै पनि पार्टीले राष्ट्रियताको बारेमा सफलता प्राप्त गर्न सकेको अबस्था छैन ।
यो उनीहरुको जिम्मेवारी र दायित्व होइन र ? हाम्रा पुर्खाले चलाएको नीतिनियम, कृषि क्षेत्रको उत्पादनले तथा यहीँकै वीऊविजन तथा सिंचाईले गर्दा उब्जिएका अन्नबालीले नेपाली नागरिक आत्मनिर्भर थिए । बढी भएका खाद्यान्नलगायतका नेपाली उत्पादनहरु भारतलगायत अन्य तेस्रो मुलुकहरुमा निर्यात गरिन्थ्यो । हाम्रै घरको गाईवस्तुको मल, सोत्तरबाटै पनि स्वस्थ अर्गानिक उब्जनी भएकै हो । अहिलेको सन्दर्भमा नेपालका राजनीतिज्ञहरुले भारतलगायत तेस्रो मुलुकहरुबाट मल तथा उन्नत जातका वीउविजन आयात प्रशस्त मात्रामा गर्ने गरेका छन् ।
कृषकहरुको सहजताका लागि विभिन्न अनुदानहरु पनि दिने गरेको छ सरकारले । तिनै नेताले भिœयाएका कृषि सामग्रहीहरु सरकारले कृषकहरुलाई राहत दिन्छ । जसको उपलब्धि हेर्ने हो भने शून्य बराबर जस्तै छ । अनुदानमा पाएका मल माटोमा प्रयोग गर्दा लाग्दैन, वीऊ उम्रन्छ तर उत्पादन शून्य बराबर दिन्छ । कृषकहरुले भोगेका यस्ता सास्ती सरकारले देख्दा देख्दै पनि बाहिरबाट आयातीत कृषि सामग्रीहरुको परीक्षणका लागि कुनै व्यवस्था गर्दैन । जसले गर्दा अझै कृषकहरुले कति सास्ती भोग्ने हुन् ।
यस्तो अवस्थामा राजनीतिक दलहरुले कृषकलाई जवाफ के दिने हुन् ? अर्को कुरा नेपालको तराई क्षेत्रका उब्जनीय भूभागहरु भारतीय अतिक्रमण भएका छन् । लालपुर्जा नेपाली नागरिकको नाममा छ तर ती जग्गामा खेतीपाती भारतीय नागरिकले गर्दै आएको अवस्था पनि देखिएको छ । नेपाली भूमि अक्रिमणका कुरा आजभोलिको होइन, यो त वर्षौं पहिलेदेखिको हो । तपाई हामी सबैलाई थाहा भएको कुरा पनि हो । तर कसैले कुनै क्षेत्रबाट कुनै प्रयास गरेको अवस्था भने कतै भेटिएको छैन । स्थानीय अर्थात् सीमानाकामा बसोवास गर्ने नेपाली नागरिकले त्यसको विरुद्धमा कदम उठाउँदा ज्यान गुमाएको समाचारहरु पनि हामीले पढेका छौँ ।
बेला–बेलामा विभिन्न सन्धि सम्झौता पनि सरकारले गर्छ तर ती सन्धि सम्झौता त्यसै सेलाएर जान्छ । यी यावत कारणहरु यो हो कि नेपाली राजनीतिज्ञहरुको हिम्मत ती विषयमा भारतसँग बोल्ने छैन । ठूला पोष्टमा उभिएका राजनीतिज्ञहरु दोहोरिएर तेहेरिएर त्यही स्थानमा पुगे पनि सीमाका विषयमा चुँसम्म बोल्न सक्दैनन् । या त ती नेताहरु भारतीय इसारामा परिचालित हुन् भनेर बुझ्न सकिन्छ या त उनीहरुमा नेपालप्रति कुनै जिम्मेवारीबोध नै छैन । हामीले बुझ्ने कुरा यत्ति मात्र हो ।
तिनै नेताले जनताका अगाडि कुर्लने गर्छन् कि जनताकै वहुदलीय जनवाद, राष्ट्रियता, राष्ट्रवाद, समाजवाद आदि भनेर । तर ती भाषणका लागि बोलिने शब्दहरु मात्र हुन् । न त जनताको वहुदलीय जनवादले उचित सार्थकता पायो न त समाजवादको एजेन्टले सार्थकता पायो । झन दशवर्षे जनयुद्ध गर्ने पक्षको साम्यवाद त बुढी बाख्री तुहेझैँ तुह्यो र आफनो एजेण्डा नै अर्काको झोलामा हालियो । आज दशवर्षे जनयुद्धका असिम सपना बोकेका आफ्ना सहकर्मीहरुलाई अलपत्र पारेर अर्काको झोले बन्नु शिवाय अरु केही रहेन ।
त्यसैले नेपालको राष्ट्रियता, राष्ट्रवाद, राष्ट्रिय राजनीतिमा हामी अफ्नै ढङ्गले एकजुट भई अघि बढ्यौँ भने र देशको सीमाको होस् या कृषिको मुद्दा या अरु कुनै राष्ट्रिय राजनीतिको एजेण्डामा एक हुन सक्यौँ भने नेपालमाथि कसैले कब्जा त के रौँसम्म पनि हल्लाउन सक्ने छैनन् । सायद, यसैगरी हाम्रा नेता भनाउँदाहरु पनि एकढिक्का भएको भए आज नेपालले यो परिस्थिति भोग्ने थिएन होला । परन्तु आपसी टकराव, फुट, स्वार्थका कारण नेपाली राष्ट्रिय एजण्डाहरु भताभुंगको अवस्था छ ।
व्यावहारिक राजनीति बारे वीपीले भनेका छन्– ‘मेरो इच्छा हुन्छ कि नेपालका सबै नेपालीहरुले कोट पाओस्, यो आदर्शको कुरा हो तर म आज सक्छु गर्नलाई ? यहाँ एक लाख गजमात्र बन्दछ भने के म सक्छु ? दुई बित्ताको टुक्रा मात्र दिन सकिएला । त्यसो हुनाले आदर्शको कुरा गरेर आजै म सबैलाई कोट दिन्छु भने भने त्यो पूरा हुन सक्दैन, तर त्यो कोट दिलाउने प्रयत्न आजैदेखि हुनुपर्छ । त्यो व्यावहारिक पक्षको कुरा हो ।
दिलाउन सक्दिन भनेर प्रयत्नै नगरेर बस्ने र आफू मात्रै १० वटा कोट लगाएर बस्ने होइन । त्यसो हुनाले मलाई यहां धेरैले उपदेश दिएका छन्, तिमी धेरै आदर्सवादी भयौ भनेर, व्यवहारिक हुनुप¥यो भनेका छन् । मतलव सबैलाई कोट दिन सकिँदैन भने सबै कोट गुटुमुटु पारेर आफूसँग राख । सबैलाई पैसाले पुग्दैन भने आफू मात्र महल बनाएर बस, त्यसलाई व्यावहारिक भनिँदैन । म भन्छु आजैदेखि थालौँ आफ्ना आदर्शहरुलाई पूरा गर्ने प्रयत्न ।’
मेरो विचारमा त्यो हो व्यावहारिक राजनीति । यसैले बताउँछ वीपीले आप्mनो इतिहास कसरी सावित गरे ? वीपीको सिद्धान्त छाडेर प्रचण्डका पछि लाग्दा गिरिजाबाबु समेतको इतिहासमा कालो बादलले छोपिन पुग्यो । त्यो हो नेपालको राष्ट्रपति तपाई भन्ने प्रचण्डको ललिपपको कारण । फेरि कहिल्यै भुल्नै नसकिने खतर्नाक इतिहास शेरबाहादुरले पनि बनाए ।
त्यो हो आप्mना कार्यकर्ताको उम्मेद्वारी जवर्जस्ती झिक्न लगाएर प्रचण्डको छोरीलाई जिताउने एजेण्टा नेपाली कांग्रेसको बदनामको पगरी लगायका छन् । भन्दैछन् अझ सबले इन्कार गरेको एमसिसी ‘पास गर्नैपर्छ’ भनेर । किन यसरी खेर जान थालेका हुन नेपालका राजनेताहरु ? वीपीको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढेको भए आज नेपाली कांग्रेसको यस्तो हविगत हुने थिएन ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका कम्रेड मदन भण्डारीको राजनीतिको एजेण्डालाई आत्मसात गरेको भए कहिले कसलाई कहिले कसलाई काखी च्यापेर राजनीतिको ढलमले डुङ्गाको यात्रामा यो जगजगी कतिबेला कसले छोड्छ र डुङ्गा डुब्ने हो भन्ने डर पनि हुने थिएन ।
राजनीतिक संघर्षको प्राथमिकता
वैधानिक राजनीतिको संघर्ष बन्दुकको संघर्षको अभिन्न अङ्ग हो र कसले कुन बेला प्राथमिकता पाउँछ भन्ने कुरो घटनाक्रम र दुस्मनका तयारी र मनस्थितिबाट निर्धारण गर्नुपर्छ भन्ने तत्कालीन माओवादीको दर्शन अनुरुप नेपालका माओवादीहरुले २०५८ को हत्याकाण्डपछि वार्ताको नाममा राजनीतिक संघर्षलाई अगाडि बढाएका थिए । तत्समयको सरकारले पूर्णरुपमा सहयोग गरेको आम नागरिकलाई थाहा भएकै विषय हो । त्यसैले राजनीतिमा आप्mनो एजेण्डा जसले छोड्दै आएका छन् उनीहरु जनताद्वारा नाङ्गिइसकेको अवस्था छ । आफ्नो स्वार्थ सिद्धको लागि आप्mनै इमान, जमान, धर्म, कर्म, संस्कार देशको अस्तित्व सबै दाउँमा राख्दा रहेछन । उधारणको रुपमा भारतले नेपालको भूमि दिनदहाडै अतिक्रमण गर्दासम्म भारतसँग उक्त विषयमा बोल्नसक्ने क्षमता नेतामा देखिएन । यसको हिसाबकिताब जनताले बेला आएपछि अवश्यक बराबर गर्ने छन्, नेपाली राजनीतिज्ञहरुसँग । भोलिका दिनमा के हुने हो हेर्न बाँकी नै छ ।