लकडाउन डायरी : २७ संक्रमितलाई फूल…
खेमराज रिजाल
सधै उत्साह र नयाँ–नयाँ समाचार सुनाउने नवीन शनिवार साँझ उदासीन थियो । खासमा केटिभीको प्रदेश समाचारले उसलाई उदासीन र खिन्न बनाएको थियो । किनकि आफ्नै प्रदेशको अस्थायी राजधानी बुटवलमा रहेको कोरोना विशेष अस्पतालले २७ जना संक्रमितलाई आइसोलेशनमा राखेर संक्रमणमुक्त बनाउने ठाउँ नभएको भन्दै फूल दिएर बिदाई गरेको समाचार उसको खिन्नताको कारण थियो ।
‘नसोध्नुस् सरकारका कुरा, कमसेकम जाँच गरिसकेपछि पोजेटिभ आएका विरामीलाई फुल दिएर अस्पतालबाट बिदाई गर्नहुन्थेन, मुक्त भएको अर्को रिपोर्ट कुरिनुपथ्र्यो’, उसको भनाईमा देखिएको यो आक्रोश होइन, खिन्नता..। किनकि सरकार अहिले कोरोनाका संक्रमितको व्यवस्थापनमा अति नै अत्तालिएको छ । के निर्णय गर्दा उपयुक्त हुन्छ, सरकार नै अलमलमा परेको छ ।
विश्व स्वास्थ्य संगठनको मान्यता र सिद्धान्तमा पनि ऊ निकै नै नजिक छ । विश्व स्वास्थ्य संगठनकै मान्यताअनुसार एक पटक संक्रमण देखिएको विरामीमा फेरि पनि एक साताकै बीचमा नयाँ संक्रमण देखिन सक्छ । त्यसका लागि एकपटकको परीक्षणमा नेगेटिभ आएका विरामीलाई पनि पुनः पिसिआर परीक्षण गरी नेगेटिभ भएपछि मात्र कोरोना संक्रमण मुक्त भएको मानिन्छ, तर पाँच नम्बर प्रदेश सरकारले भने कोरोना विशेष अस्पतालबाटै कोरोना पोजेटिभ देखिएका संक्रमितलाई नै निसंकोच फूल दिएर बिदाई गरेको थियो ।
‘त्यो फूल होइन, काँडा हो, जसले घरका अन्य परिवारलाई पनि घोच्ने छ’– नवीन बोलिरहेको थियो, पाँच नम्बर प्रदेश सरकारलाई नै यो चटारो किन ? हो, उसले नेपाल सरकारले जारी गरेको नयाँ स्वास्थ्य निर्देशिकामा लक्षण नदेखिएका विरामीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर विदाई गर्ने र आइसियु, भेण्ट्रीलेटर सेवा चाहिने खालका गम्भीर संक्रमितलाई मात्र अस्पतालमा राख्ने ? किन यस्तो भइरहेको छ ? नवीनले बुझेको छैन । लेखिदिनुहोला, यो संक्रमितलाई फूल दिएर बिदाइ गरिनुभन्दा काँडा दिएर पठाइनुपथ्र्यो ।
शनिवार नेपालभर संक्रमितको संख्या र मृत्यु हुनेको संख्या उसले सुनाउन चाहेन । भारत सबैभन्दा बढी संक्रमित मुलुक भन्ने समाचारले पनि उसलाई छोएको थिएन । तर नेपालमा राजधानी बाहिर संक्रमणको यस्तो हविगत हुँदा पनि सरकारले लकडाउन खुलाउने र परीक्षणै नगरी भारतीय सहरहरुबाट आएका सम्भावित संक्रमितलाई घरमै पठाउने निर्णयले उसलाई खिन्न र छिन्न बनाएको थियो । बरु उसले अर्को फेसबुक पेज हेरिरहेको थियो, आइतवार पनि दुई दर्जन बढी नागरिक क्वारेन्टाइनबाट बिदाइ हुँदै छन् रे ।
नवीनको फेसबुक व्रिफिङसँगै मैले पनि बुटवलका पत्रकार भुवन पाण्डेसँग सोधेँ । ‘हो त नि, क्वारेन्टाइनमा ठाउँ नै नभएपछि क्यारुन्तो’– भुवनले भने– ‘आइतवार रुपेन्देहीका केही क्वारेन्टाइनबाट आरडिटी र पिसिआर परीक्षण नै नगरी कम्तिमा एक दर्जनभन्दा बढी नागरिकलाई त्यस्तै फूल उपहार दिएर बिदाइ गरिँदै छ ।
मैले गुगलमा कोरोना भाइरसको चित्र हेरेँ, फूलजस्तै थियो, तर वरिपरि काँडैकाँडा..। नेपालमा पनि भारतको भन्दा बढी संक्रमणको भयावह अवस्था आउनसक्ने विषयमा पूर्व शिक्षक हिमालय अधिकारीले सुझाइरहेका थिए, तर उनको सुझावलाई सुन्ने एकजोडी वरपिपल मात्रै छन्, दूधरासमा । केही कार्यालयका कर्मचारीहरु बिदामा बसेरै पनि तलव खाइरहेका छन्, स्वास्थ्य र सुरक्षाका कर्मचारीलाई घण्टाका हिसाबले काम गर्ने अवसर नै छैन, कतिपय सोह्रघण्टे, कति त चौबीसै घण्टे ।
फोर्टिनाइन चोकमा तरुण दलका जिल्ला सदस्य शंकर नेपाली भेटिए । ‘बुटवलमाजस्तै बेलझुण्डी कोरोना विशेष अस्पतालबाट पनि संक्रमित विरामीलाई फूल दिएर बिदाई गरियो भने हामी पनि उत्तिकै जोखिममा हुने छौँ नि होइन र ? उनले यति भनिरहँदा एउटा फोन आयो, ‘कोरोना अस्पताल बेलझुण्डीबाट १० जना विरामी डिस्चार्ज हुँदैछन्’, हतारोमा त्यहाँ पुग्दा भने उनीहरु त दोस्रो पटकको परीक्षमा पनि नेगेटिभ देखिएपछिको अवस्था रहेछ, म ढुक्क भएँ ।
अझै दाङ सुरक्षित रहेछ । किनकि यहाँ अझै पनि कोरोनाका संक्रमितलाई थाहा हुँदाहुँदै डिस्चार्ज गरिएको छैन । नवीनलाई फोन गरेँ, बेलझुण्डी कोरोना अस्पतालबाट डिस्चार्ज हुने दशैजना व्यक्ति दुईपटकको परीक्षणपछि संक्रमण मुक्त भएका हुन् । प्रदेश राजधानीकोजस्तो हालत यहाँ हुँदैन रे । तपाईंलाई धन्यवाद, भन्दै नवीनले फोन राख्यो ।