विश्व बजार कोभिड–१९को महामारीको व्यवस्थापन गरिरहँदा नेपाललगायत दक्षिण एसियाका विभिन्न मुलुकहरु बाढीपहिरोको पनि उत्तिकै जोखिममा छन् । त्यसमा पनि नेपालका विभिन्न खहरे खोलाहरु, हिमनदीहरु तथा नदीहरुमा पानीको वहाव बढिरहँदा बाढीपहिरोको विपद पनि वर्षेनी देखिँदै आएको छ । दाङ जिल्ला पनि बाढी र पहिरोको उच्च जोखिममा रहेको जिल्लाका रुपमा परिचित भएकै जिल्ला हो । बाढीकै कारण वि.सं. २०७१ सालमा कम्तिमा आधा दर्जनले ज्यान गुमाएको अवस्था हामी सामू छ । यस्तै प्रकोप फेरि दोहोरिए त्योभन्दा पनि बढीको जीउधन जोखिममा हुने छ ।
विश्वव्यापी कोरोना संक्रमण व्यवस्थापनमा सबै मुलुकहरु लागिरहेको अवस्थामा यहाँ बाढीपहिरोको जोखिमले कोरोनाको संक्रमणले भन्दा पनि बढी विपदको अवस्था ल्याउन सक्छ । धेरैको छाकबास उठ्ने अवस्था हुनसक्छ, धेरै धनजनको क्षति हुनसक्छ तर स्थानीय सरकार, संघीय सरकार र प्रदेश सरकार वर्षातको समयमा हुने विपतको व्यवस्थापनमा लागिरहेको अवस्था छैन । यो अत्यन्तै दुर्भाग्यको अवस्था पनि हो ।
अर्को सन्दर्भ के देखिएको छ भने कोरोनाको संक्रमणले धेरैको ज्यान लिएको अवस्था हुँदा नहुँदै पनि विश्व समुदायसँगै नेपाल पनि कोरोनाकै संक्रमण व्यवस्थापनमा जुटिरहेको छ । यो व्यवस्थापनसँगै धेरै कोरोना सिर्जित समस्याहरु पनि देखिन थालेका छन् । आम नागरिकमा डिप्रेसनको अवस्था व्यापक हुनथालेको छ । अस्पताल लकडाउनमै रहेको अवस्थामा धेरै प्राणघातक रोगहरु पालेर क्यान्सरजस्तो समस्या बनाउने सम्भावना देखिएको छ । अस्पतालमा नियमित सेवा–सुविधा नहुँदा विरामीहरुले समेत नियमित संक्रमण र दुर्घटनाको समेत उपचार सहज हुन सकिरहेको छैन ।
यो अवस्थामा सम्बन्धित सरकार कोरोना वाहेकका विपदका विषयमा पनि गम्भीर हुन आवश्यक छ । यसमा सबै स्थानीय सरकारको ध्यान जानुपर्ने हाम्रो अपेक्षा हो । पछिल्लो समयमा मौसम बरालिएको छ । कतै अतिवृष्टि र कतै अनावृष्टिको अवस्था पनि देखिएको छ । हावाहुरीको पनि कहीँकतै सम्भावना देखिएको छ । तर विपत व्यवस्थापन सूचना प्रणालीको व्यवस्थापनमा तीनै तहका सरकार गम्भीर भएको अवस्था देखिएको छैन । यस अघि प्रदेश सरकारका अधिकारी, तुलसीपुर उपमहानगरपालिकामा सबै स्थानीय तहका प्रतिनिधिहरुलाई भेला गराई विपद पूर्व सूचना प्रणाली स्थापित गर्न सबै तहलाई सहयोग गर्ने बताएका थिए ।
तर खासमा प्रदेश सरकारको रणनीति पनि फेल भएको छ । त्यो बेला हरेक राजनीतिक दलहरुले बाढीपहिरो उद्धार दस्ता बनाउने उद्घोष गरेका थिए, तर त्यो आर्थिक लाभविहीन सामाजिक काममा कुनै पनि राजनीतिक दलहरुले बाढीपहिरो उद्धारदस्ता बनाउन चाहेनन् । यो अवस्थाले कोरोनाको जोखिमभन्दा पनि बाढीपहिरोको जोखिम उच्च हुनसक्छ ।
विपत व्यवस्थापन र संकट व्यवस्थापन भिन्नै पाटा हुन् । तर दुवै पाटोको व्यवस्थापनमा नागरिक सहकार्य र सामाजिक सद्भावको अवस्थाको सिर्जना गरिनु पर्दछ । तर स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय प्रहरी यो विषयमा निर्णयविहीन अवस्थामा छन् । यो एउटा दुःखद् पक्ष पनि हो । किनकि कोरोनाको संक्रमणको मृत्यु दरभन्दा बढी बाढीपहिरोले मुहानमा धमिलो पानी बगाएको अवस्थामा खानेपानीका उपभोक्ताहरुमा झाडापखाला र हैजाको संक्रमण हुनसक्छ ।
कोरोनाका विरामी अस्पताल र क्वारेन्टाइनमा हुलिरहँदा लामखुट्टेको टोकाईले हुने डेंगुले पनि केहीको ज्यान लिनसक्छ । तर यो विषयमा सरकार गम्भीर भएको अवस्था छैन । कोरोना भाइरसको संक्रमणलाई व्यवस्थापन गर्दै बाढीपहिरोको विपद, डेंगुको संक्रमणलगायतका विषयमा गम्भीर बनौँ ।