भैसीलाई सातु !

गोरक्ष समाचारदाता
तुलसीपुर, २६ जेठ । पाहुना आउँदाको अवस्थामा पनि भैसीले दूध नदिएपछि तुलसीपुर उपमहानगरपालिकाका किसान दीपक केसीले छोराछोरीलाई नास्ताका रुपमा बनाएको सातु भैसीलाई दिन बाध्य भएका छन् । चोक्कर र बरान नपाएपछि भैसीलाई पगार्न केसी परिवारले भैसीलाई सातु दिएपछि दूध आको बताएको छ ।

लामो समयसम्मको लकडाउनका कारण किसानलाई सरकारले सहजरुपमा पशुपालकहरुका लागि दाना उपलब्ध गराएको छैन । छरछिमेकका मिलहरुले पनि चाहिएको बरान आफ्नै उत्पादनमा मात्र सीमित नभएर कैलाली कञ्चनपुरलगायतका जिल्लाका राइस मिलबाट आपूर्ति गर्दै आएका थिए । जसका कारण पशुपालक किसानहरुलाई समेत लकडाउनले मार पारेको छ । ‘भैसी नपग्रिएपछि बाध्य भएर छोराछोरीका लागि बनाएको सातु खान दियौं, त्यसपछि मात्रै भैसीले दूध दियो’, दीपकले भने– दानापानीका लागि स्थानीय सरकारको कुनै भूमिका देखिएको छैन ।

पछिल्लो समयमा स्थानीय घाँसले पशुपालक किसानहरुलाई सहज भएको छैन । किनकि व्यावसायिक पशुपालनमा लागेका किसानहरुले दूध पाउनै मुस्किल भएको छ । ‘दैनिक १३ लिटर दूध दिन्थ्यो, तर चोक्कर र बरानको अभावका कारण अहिले जर्सी गाईले दैनिक ३ लिटर मात्रै दूध दिने गरेको छ’, तुलसीपुर उपमहानगरपालिका–१७ का किसान श्रीधर रिजालले भने । सोही गाउँकै रामकुमार रिजाललाई पनि यस्तै समस्या भएको छ । बीमा गरेका गाईले समेत दानापानीको अभावमा दूध नै कम दिएपछि समस्या भएको उनको भनाइ छ ।

जर्सी गाईलाई राज्यले बीमा सुविधा दिए पनि स्थानीय सरकारले पालनपोषणको सहज व्यवस्थापन गरेको छैन । मुर्गाभैसीका विषयमा त सरकार झनै अनभिज्ञ रहेको छ । सरकारले कृषि तथा पशुपालन व्यवसायलाइ प्रोत्साहन गर्ने बजेट वक्तव्यमा भने पनि स्थानीय तहका पशुपालक किसानहरु भने राज्यको सहयोग र सल्लाह–सुझावमा पनि बेखवरजस्तै भएका छन् ।

रोकियो कृतिम गर्भाधान
यसैबीच जिल्लामा धेरै संख्यामा जर्सी गाई पालक किसानहरुले दूध आपूर्ति गर्दै आएका छन् । पश्चिम हापुरेदेखि पूर्वी कालाकाँटेसम्म पनि व्यावसायिक गाईभैसी पालन छ । तर ती चौपायालाई सहजरुपमा दाना उपलव्ध गराउने र कृतिम गर्भाधान गर्ने विषयमा स्थानीय सरकारको भूमिका शून्यप्रायः छ । मातहतमा रहेका पशुसेवा कार्यालयका कर्मचारीहरु पनि पशुपालक किसानको दैलोमा उपस्थित हुन छाडेका छन् ।

कृषि तथा पशुपालनमा आएको बजेट कहाँ र कसरी खर्च हुने हो भन्ने सवालमा यी कार्यालयहरुको कुनै आवधिक योजना छैन । ‘गाईले प्रजनन् संस्कृति देखाएको बेला धेरै पशुसेवा अधिकारीलाई फोन ग¥यौं, तर स्थानीय तहको पशु सेवा कार्यालयले कृतिम गर्भाधानका लागि कुनै तयारी गरेको छैन’, गाईपालक श्रीधरले भने– ‘सरकार किसानका समस्यामा कत्ति पनि गम्भीर छैन ।’

प्रजननको समयमा कृतिम गर्भाधानका लागि नेपालगञ्जबाट सम्बन्धित पशुको बीर्य ल्याउने गरिँदै आएको थियो, तर सम्बन्धित कार्यालयले भने यो विषयमा कुनै ध्यान दिएको छैन । लकडाउनका बेला किसान तथा पशुपालकलाई प्रोत्साहन गरिनुको साटो सम्बन्धित कार्यालयका कर्मचारीहरु भने विदा मनाएर घरमै बसिरहेका छन् ।