दाङ,२५ जेठ । दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालबाट १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण देखिएपछि कोरोना विशेष अस्पतालमा भर्ना भएका उनीहरु आइतवार कोरोना रोगलाई जितेर घरफर्किएका हुन ।
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट घर फर्किनेहरुमा दाङका दुई जना, बाँकेका ५ जना, कपिलबस्तुका दुई जना र बर्दियाका एक जना रहेकोे कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन । घर फर्कनेमा दाङको घोराही उपमहानगरपालिका एक जना र देउखुरीको गढवा गाउँपालिका निवासी एक जना रहेका छन् ।
कोरोना संक्रमितहरुको तेश्रो पटकसम्म परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको व्यवस्थापक वलीले जानकारी दिएका छन् । उनीहरु कोरोना विशेष अस्पतालमा २२ देखि २३ दिनसम्म बसेका थिए । अव कोरोना विशेष अस्पताल बेलुझण्डीमा ४० जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् ।
यस अघि जेठको १६ गते उक्त अस्पतालबाट थप आठ जना विरामी उपचारपछि निको भएर घर फर्किएका थिए । उनीहरु मध्य कपिलबस्तुका ४ जना, बाँकेका तीन जना र दाङका एक जना रहेका थिए । आइतवार डिसचार्ज भएका थप दश जनासंगै कोरोना विशेष अस्पताल बेलझुण्डीबाट अहिलेसम्म १८ जना कोरोना संक्रमितहरु उपचारपछि निकोभएर घर फर्किएका छन् ।