कोरोना कहर नहट्दै बाढीको जोखिम

नारायण खड्का
दाङ, २४ जेठ । प्री–मनसुन सुरु भइसकेको छ । आकाशमा कालोबादल मडारिन थालेको छ । खोलानालामा बग्ने कञ्चन पानी धमिलिँदै गर्दा नदी तटीय क्षेत्रका स्थानीयबासीमा कोरोनाको कहरसँगै बाढीको त्रास समेत सुरु हुनथालेको छ । तर स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समिति भने कोरोना संक्रमण रोक्ने अभ्यासमै दिनरात खटिरहेका छन् ।

वि.सं २०७१ साल साउन २८ गतेको जस्तै भीषण बाढी आयो भने बबई नदीले फेरि पनि वितण्डा मच्चाउने सम्भावना उत्तिकै भएको बाढी पीडित समाज फूलबारीका सचिव तथा पत्रकार देवीराम कुसारी बताउँछन् । पछिल्लो समयमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन् तथा तटीय क्षेत्रमा बढिरहेको बस्ती विकासका कारण यो जोखिम त्यो बेलाको भन्दा उच्च हुने पनि उनको अनुमान छ ।

भीषण बाढीपछिको यो अवस्थामा पनि आवश्यक स्थानमा उपयुक्त तटबन्ध बनाउनेतर्फ सरकार लाग्न नसकेको पनि उनको अभिव्यक्ति थियो । ‘बबई नदीमा त्यो बेलाजस्तो बाढी आयो भने फूलबारी क्षेत्रका बादीबस्ती तथा दलितबस्तीहरु थप जोखिममा पर्ने छन्, तर वर्षात सुरु हुनै लाग्दा पनि स्थानीय सरकारको ध्यान यसतर्फ खिचिन सकेको छैन ।

राप्ती नदीमा पनि सबै स्थानमा उपयुक्त तटबन्ध निर्माण हुनसकेका छैनन् । वर्षेनी देउखुरीलाई साउने झरीमा अनिदो राख्ने दोलही खोलामा उपयुक्त तटबन्ध निर्माण भएको भए पनि राप्ती नदी कटान रोक्नका लागि नेपाल सरकारले ल्याएको जनताको तटबन्ध कार्यक्रमले आवश्यक गति लिन नसकेको देखुरीका पत्रकार ओमप्रकाश शर्माले बताए । उनको भनाईमा बाढी आएको अवस्थामा राप्तीले पनि धेरै तटीय क्षेत्रहरु कटान गर्नसक्ने पनि बताए । राप्ती नदीमा दैनिकजसो भइरहने अवैध नदीजन्य पदार्थको उत्खनन्का कारण पनि कतै कटान त कतै डुवानको समस्या रहेको उनको अभिव्यक्ति थियो ।

अघिल्लो वर्ष जेठ–असार महिनाभर स्थानीय सरकार, संघसंस्थाहरु तथा रेडक्रसलगायतका संस्थाहरु बाढीपहिरो पूर्व सूचना प्रणालीको अभ्यासमा लाग्ने र आवश्यक पूर्व तयारी गर्ने अवस्था देखिए पनि बाढी पहिरोको जोखिमतर्फ यो बर्ष कसैको पनि ध्यान जान नसकेको लमही नगरपालिका देउपुरका स्थानीयबासी पुरुषोत्तम पौडेलले गोरक्षलाई बताए । कोरोना संक्रमणको नियन्त्रणसँगै बाढीपहिरोको जोखिम न्यूनीकरणमा पनि सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको सुझाव थियो ।

पूर्व तयारी अभ्यास
यसैबीच बाढीपहिरोको समय नजिकिँदै गर्दा यसबाट कसरी जोगिने भन्ने सवालमा पूर्व अभ्यास पनि सुरु भएको छ । यसै क्रममा देउखुरीमा एउटा अभ्यास शुक्रवार प्रदर्शन गरिएको थियो । रिमझिम पानी परिरहेको छ । विगत दुई÷तीन दिनदेखि आकाश कालोबादलले ढपक्कै छोपेको छ । जिल्लाका प्रमुख जलाधारहरु बबई र राप्तीमा पानी धमिलो छ । पानीको सतह बढ्दै गएको छ । यसले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको मन त्रसित छ । डुवान तथा बाढी ग्रस्तका सर्वसाधारणको चैन खल्बलिन थालेको छ ।

त्यही समयमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङको चेतावनीयुक्त म्यासेज मोवाइलमा आइपुग्छ । बबई नदीको शीतलपुर क्षेत्रमा बाढीले चेतावनी क्षेत्रपार गरिसकेको छ । बाढीले चेतावनीको तह पार गरिसेकेको हुँदा जति हुन्छ छिटो सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई सूचित गरिन्छ ।

त्यतिबेलासम्म तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाको सामुदायिक विपद व्यवस्थापन समितिका संयोजक नवराज रावत समुदायमा खबरदारी गरिसक्छन् । रावतको खबरदारी लगत्तै समुदायका मानिसहरु सुरक्षित ठाउँतिर जान हतार–हतार तयारी गरे । सम्भव भएसम्म अत्यावश्यक सामग्री लिएर घरबाट निस्किएर सुरक्षित स्थानमा पुगे । त्यतिञ्जेल जिल्ला विपद् पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजना कार्यक्रम संयोजक सन्तोष ढकालको समूह पनि त्यहाँ पुगिसकेको थियो ।

बबई तटीय क्षेत्रका मानिसहरु उच्च स्थानको बखरियास्थित एक विद्यालयमा भेला भए । केही बरेमै फेरि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङबाट मोवाइलमा अर्को सन्देश आयो । जसमा बबई नदीको शीतलपुर क्षेत्रमा जल सतह सामान्य अवस्थामा फर्किएको र तत्कालै कुनै खतरा नभएको सूचना थियो । सजग भई घर फर्किन अनुरोध गरिएको थियो । त्यो सन्देशपछि स्थानीय घर फर्किए । यो एउटा अभ्यास मात्रै थियो । नदी तटीय क्षेत्रका समुदायमा विपदपूर्व तयारी अभ्यास । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण समुदायका सीमित व्यक्ति र पत्रकारहरुका बीचमा यो अभ्यास शुक्रवार भएको हो ।

नदी तटीय क्षेत्रका सर्वसाधारणलाई बाढी आउँदा विपदको समयमा कसरी सुरक्षित रहन सकिन्छ ? भन्ने पूर्वतयारी शिक्षा समुदायलाई दिने प्रयास थियो । जिल्लामा बाढीको उच्च जोखिमयुक्त क्षेत्र मानिने तुलसीपुरको बबई नदी किनारामा बसोबास गर्ने समुदायलाई पूर्व तयारी अभ्यासपछि विपद् पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजनाका कार्यक्रम संयोजक सन्तोष ढकालसहितको टोली त्यही अभ्यासका लागि राप्ती नदी किनारको सबैभन्दा जोखिमयुक्त क्षेत्र मानिने धनपुरुवा गाउँ पुग्यो ।

लमही नगरपालिका वडा नं. ८ धनपुरुवा गाउँमा ८० जति घरपरिवारको बसोबास छ । जहाँ हरेक वर्षजसो राप्तीको बाढी पस्ने गर्छ । यो पनि बाढीको दृष्टिकोणले जिल्लाकै उच्च जोखिम क्षेत्र हो ।

त्यहाँ पुग्दा नपुग्दै राप्ती नदीको बगासोती जलमापन केन्द्रबाट जल सतहले चेतावनी तह पार गरेको सूचना मोवाइलमा आयो । लगत्तै धनपुरुवाका लक्ष्मीप्रसाद चौधरीले समुदायमा त्यो सूचना प्रवाह गरे । साइरन बज्यो । माइकिङ भयो । मानिसहरु अत्यावश्यक सामग्री सहित घरबाहिर निस्किए । सबैलाई सुरक्षित ठाउँमा जान आह्वान गरियो । त्यहाँका स्थानीयले त्यसै गरे । त्यो पनि एउटा पूर्व तयारी अभ्यास मात्रै थियो ।

विपदको समयमा बाढीबाट कसरी जोगिने ? भनेर गरिने पूर्व तयारी अभ्यासले समुदायलाई सावधान बनाएको स्थानीय कामेश्वरप्रसाद यादवले बताए । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालले जोखिमयुक्त क्षेत्रका समुदायमा पटक÷पटक यस्ता पूर्व तयारी अभ्यासहरु आवश्यक पर्ने भए पनि कोरोना भाइरसका कारण यसपालि त्यो व्यावहारिक रुपमा गर्न कठिन भइरहेको बताए ।

उनले वर्षात र बाढीको समय आउन लागेको हुँदा मनसुन पूर्वतयारीको योजना तयारी पारेको तथा त्यही योजनाअनुसार विपदको क्षेत्रमा खटिने टिमलाई अलि सुसूचित भएर बस्न आह्वान गरिएको जानकारी दिए । केन्द्रका विनायक पौडेलले बाढी र विपदको समयमा उद्धारको लागि आवश्यक पर्ने रबरबोट, स्टेचर, हेलमेट, प्राथमिक उपचारका सामग्रीहरुलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । युएसएआइडीको सहयोग र प्राक्टिकल एक्सनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी दाङले विपद् पूर्व तयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजना सञ्चालन गरेर समुदायलाई सचेत तुल्याएको हो ।

दाङम मध्यराप्ती जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा पर्छन् । ती समुदायलाई गएर शुक्रवार बाढीबाट सुरक्षित राख्न र पूर्व सूचना प्रणालीको अभ्यास गरिएको हो । एकै समयमा ६८ ओटा समुदायमा यस्तो अभ्यास गरेर सचेत पारिएको विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजनाका कार्यक्रम संयोजक सन्तोष ढकालले जानकारी दिए । दाङमा बबई जलाधार क्षेत्रमा४ वटा पालिका अन्तर्गत २८ वटा समुदाय बाढीको उच्च जोखिममा रहेका छन् भने मध्यराप्ती जलाधार क्षेत्रमा ४ वटा पालिका भित्र ४० वटा समुदाय बाढीको उच्च जोखिममा रहेका छन् ।