अमरराज आचार्य
दाङ, २४ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १४ झिँगौरामा अहिले बारीमा ढकमक्क हजारी फुलेका छन् । अहिले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभिने गरेको छ । यसरी अरुको मन लोभिए पनि खेती गर्ने कृषकको मन भने खुशी हुनसकेको छैन । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण हजारीको फूल विक्री हुन नसक्दा फूल रोप्ने कृषक फूलको सुन्दरतासँगै खुशी हुन पाइरहेका छैनन् ।
जलजला पुष्प खेती फर्म दर्ता गरेर लोकेन्द्र रोका मगरले व्यावसायिक फूल खेती गर्दै आएका छन् । उनले करिब ६ वर्ष अघिदेखि व्यावसायिक रुपमा पुष्प खेती गर्न सुरु गरेका हुन् । अहिले करिब २ कठ्ठामा उन्नत जातको हजारीको फूल तयारी भएको छ ।
त्यस्तै रोप्नका लागि विरूवा समेत तयार भएका छन् । तर फूलेका हजारीका फूल विक्री भने नभएको रोकाको भनाई छ । केही दिन अघि करिब डेढ कठ्ठामा लगाएको हजारीको फूल खेर गएको उनले बताए । ‘यस वर्षको वेमौसमा गरिएको फूल खेती विक्री भएको छैन’–रोकाले भने । खेर गएका फूलहरु विक्री भएको भए डेढ लाख रुपैयाँ उनले आम्दानी गर्ने थिए ।
अघिल्ला वर्षहरुमा जिल्लामा हुने साना तथा ठूला कार्यक्रममा माला बनाउनका लागि उनको फूल खपत हुने गरेको थियो । जिल्लाभन्दा बाहिर छिमेकी जिल्लाहरुमा हुने मेला महोत्सवमा समेत उनले उत्पादन गरेका फूलका मालाले स्थान पाउँथे ।
त्यसवाहेक पूजाआजा, विवाहमा पनि पूmलको खपत हुन्थ्यो । तर यस वर्ष लकडाउनका कारण कुनै पनि औपचारिक कार्यक्रम हुन नसकेका कारण मालाका लागि फूल किन्न कोही पनि आएका छैनन् । लकडाउनका कारण जिल्ला बाहिर समेत पठाउन नसकिएको उनको उनले बताए ।
ती फूल काठमाडौंसम्म जाने गर्दथे । काठमाडौंमा फूलको माग धेरै रहेको उनी बताउँछन् । ‘लकडाउन नभएको अवस्थामा उत्पादन भएको फूल विक्रीको लागि कुनै पनि समस्या छैन’–रोकाले भने । चाडवाडको समयमा मागअनुसार फूल पु¥याउन नसकिने बताए । अहिले उनले हजारीको फूलबाट तयार गरेको माला ८० रुपैयाँमा विक्री गर्ने गरेको बताए ।
मूल्यमा खासै घटबढ भने हुँदैन । उनले अहिले १२ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक फूल खेती गर्दै आएका छन् । वार्षिक जग्गाको भाडा ४ हजार तिर्ने गरेको रोकाको भनाई रहेको छ । फूलबारीमा उनी आफै पनि काम गर्छन् र अन्य २ जनालाई पनि रोजगारी दिएका छन् ।
रोकाले हालसम्म कुनै पनि सरकारी निकायबाट फूल खेतीका लागि कुनै प्रकारको सहयोग लिएका छैनन् । ‘म कुनै पनि निकायमा सहयोग माग्न पनि गएको छैन, त्यसैले पनि होला सरकारी निकायबाट हालसम्म कुनै पनि सहयोग पाएको पनि छैन’–रोकाले भने । अन्य पेशा गरेर पनि यस खेती गर्न सकिने रोका बताउँछन् ।
हजारीसँगै अरु पनि फूलको व्यावसायिक रुपमा अगाडि बढाउने सोच उनको छ । जिल्लामा फूल खेतीको राम्रो सम्भावना रहेको भन्दै खाली बस्नुभन्दा यसतर्फ लाग्न समेत उनको सुझाव छ । जिल्लामा फूलखेती नहुँदासम्म बाहिरबाट ल्याउनुपर्ने वाध्यता रहेको थियो । जसले गर्दा जिल्लाको रकम समेत बाहिरिने गरेको थियो ।