गोरक्ष समाचारदाता
बिजौरी, २४ जेठ । कुनै पनि आपराधिक घटनाको जानकारी पाएको ५ मिनेटमै प्रहरी घटनास्थलमा पुग्ने तयारी थालेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको कार्यक्षेत्रभित्र रहेको एक उपमहानगरपालिका र ३ गाउँपालिकाका जुनसुकै स्थानमा आपराधिक घटना भएको जानकारी पाएको अवस्थामा बढीमा ५ मिनेटभित्रै प्रहरी त्यहाँ पुगिसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले दाबी गरेका छन् ।
बिजौरी उद्योग वाणिज्य संघसँगको लकडाउनको कार्यान्वयन तथा सामाजिक अपराध न्यूनीकरणका विषयमा शनिवार भएको छलफल कार्यक्रममा ईलाका प्रहरी प्रमुख सिंहले यस्तो अभिव्यक्ति दिए । ‘खबर मात्र समयमा गर्नुस्, तपाईं जहाँ हुनुहुन्छ त्यसकै आसपासमा प्रहरी पनि छ, खबर पाएको दुईदेखि बढीमा ५ मिनेटभित्रै प्रहरी घटनास्थल पुग्ने छ’–छलफलका क्रममा डिएसपी सिंहले भने ।
तुलसीपुर बजारमा लकडाउनलाई नकारात्मक प्रभाव नपार्ने गरी अत्यावश्यक पसलहरु खोल्ने तालिका सार्वजनिक भएसँगै बिजौरी बजारमा पनि जनजीविकालाई सहज बनाउनका लागि अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि भएको छलफल कार्यक्रममा बिजौरीमा पनि तुलसीपुर बजारकै तालिका अनुसार पसल खोल्ने सहमति भएको छ । ‘सामाजिक दूरी कायम गर्दै महामारीको संक्रमण फैलने विषयमा सचेत भएर पसलहरु खोल्ने व्यवस्थापन गर्नुस्, त्यसमा प्रहरीले समन्वयकारी भूमिका निर्वाह गर्ने छ’– डिएसपी सिंहले भने ।
कार्यक्रममा बिजौरी क्षेत्रको समग्र शान्ति सुरक्षाका विषयमा पनि छलफल भएको थियो । बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले घोराही तथा तुलसीपुर क्षेत्रमा आपराधिक घटनाहरु घटे पनि लुक्ने स्थान बिजौरी भएको भन्दै यसमा विशेष ध्यान दिन पनि सुरक्षा निकायलाई ध्यानाकर्षण गराएका थिए । त्यसको जवाफमा प्रहरी प्रमुख सिंहले अपराधीलाई स्थानीयले आश्रय नदिए लुक्नै नपाउने भन्दै कुनै पनि आपराधिक घटनामा संलग्न हुनेलाई संरक्षण र आश्रय नदिन आग्रह गरेका थिए ।
सोही अवसरमा प्रहरी प्रमुख सिंहले आफ्नो मातहतका क्षेत्रमा हुने आपराधिक क्रियाकलाप हुने स्थानहरुको नक्साङ्कन गरी एक्सन प्लान बनाउन पनि आफू लागिसकेको अभिव्यक्ति दिएका थिए । छलफलका क्रममा बिजौरी क्षेत्रका तीनवटा बैंक र एउटा आइएमई सञ्चालनमा आइरहेकाले ती सबै क्षेत्र साताको ६ दिनै विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने सहमति पनि भएको छ । बैंक तथा वित्तीय संस्थामा हुने भीडभाडलाई व्यवस्थित गरी सामाजिक दूरी कायम गरेर सेवा प्रदान गर्ने व्यवस्था स्थानीय प्रहरीले मिलाउने पनि छलफलमा सहमति भएको छ । छलफलका क्रममा अध्यक्ष योगी सहित उपाध्यक्ष बालकृष्ण रेग्मी, दुर्गा बस्नेत, महासचिव विदुर गौतम, कोषाध्यक्ष चित्रबहादुर खड्का, प्रेस संयोजक राकेश बस्नेतलगायतको सहभागिता थियो ।
पसल खुल्ने समय तालिका
यसैबीच ईलाका प्रहरी कार्यालय र बिजौरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरुबीच भएको सहमति अनुसार बिजौरी बजारमा सोमवार, मंगलवार, बुधवार र शुक्रवार दैनिक उपभोग्य सामग्रीहरु खाद्यान्न, किराना पसल, मासु पसल तथा निर्माण सामाजिका पसलहरु खुल्ने छन् । आइतवार र विहीवार कपडा पसल, फेन्सी पसल, जुत्ता–चप्पल पसल, पुस्तक पसल, फर्निचर पसल, सुनचाँदी पसल तथा सीसा र प्लाई पसल सञ्चालनमा आउने छन् । तर अर्को व्यवस्था नभएसम्मका लागि सिनेमा हल, जिमखाना, फुटसल तथा होटल रेष्टुरेण्टहरु भने सञ्चालनमा आउने छैनन् । औषधि पसलहरु तथा एग्रोभेटहरु भने साताभरि नै खुल्ने छन् ।
पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने छन् भने विहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरु मात्र सञ्चालनमा आउने छन् । जसले गर्दा बजारमा भीडभाडको अवस्था कम हुने तथा सामाजिक दूरी कायम गर्न पनि सहज हुने अपेक्षा उद्योगी व्यवसायी तथा सुरक्षा अधिकारीहरुले गरेका छन् ।