पालिकाहरूको संयुक्त आइसोलेशन केन्द्र

गोरक्ष समाचारदाता
लमही, २४ जेठ । देउखुरी क्षेत्रका पालिककाहरुले संयुक्त रुपमा सय बेडको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका छन् । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन् ।

आइसोलेशनको लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष स्थापना गरेका छन् । प्रत्येक पालिकाहरुले १५÷१५ लाख रुपैयाँ जम्मा गर्ने भएका छन् । देउखुरी क्षेत्रमा लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका गरेर ४ वटा स्थानीय तह छन् ।

शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिकामा बसेको बैठकले आइसोलेशन केन्द्र सञ्चालनको लागि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा तदर्थ समिति समेत गठन गरेको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले बताएका छन् ।

दाङमा कोरोना संक्रमण बढ्दै जानु र विरामी राख्ने स्थानको अभाव हुनथालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठूला अस्पतालमा विरामी लैजान सहज होस् भनेर राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेशन कक्ष स्थापना कार्य सुरु गरिएको छ । देउखुरी क्षेत्रका प्रदेश सांसद तथा ४ वटै पालिकाका प्रमुख तथा अध्यक्षहरुको सहभागिता रहेको बैठकले कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र मौरीघाटको व्यवस्थापन तथा सञ्चालनमा पालिकाहरुले खेल्ने भूमिका समेत निर्धारण गरिएको छ ।
कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र मौरीघाटका लागि आर्थिक रकम, प्राविधिक पक्ष, मानवीय पक्ष तथा सुरक्षागत कुराहरुमा सबैको सहभागिता समेत निर्धारण गरी आगामी २७ गतेसम्म पूर्ण रुपले आइसोलेशन केन्द्र स्थापना गरिसक्ने निर्णय गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता चौधरीले बताए । नेपाली सेनाको सुरक्षा र व्यवस्थापन रहने, २ जना फिजिसियन चिकित्सक, ४ वटै पालिकाकाबाट ८ जना चिकित्सक, ८ जना नर्स, ४ जना ल्याव टेक्निसियन र ८ जना कार्यालय सहयोगी सहितको प्रारम्भिक व्यवस्थापनमा कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र मौरीघाट सुरु गरिने छ । साथै थप स्वास्थ्योपचारको लागि प्रदेश र केन्द्र सरकारबाट समेत समन्वय हुने बताइएको छ ।