प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : मानवअधिकार आयोग
गोरक्ष समाचारदाता
दाङ, २४ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले क्वारेन्टाइनलाई व्यवस्थित गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले दैनिक रुपमा कोरोनाका संक्रमित बढ्दै गएको तर अधिकांश क्वारेन्टाइन व्यवस्थित, मापदण्ड अनुरुप नभएको र दैनिक सूचना संकलनमा हिडेका सञ्चारकर्मीमाथि दुव्र्यवहार बढेको जनाएको छ ।
‘अधिकांश क्वारेन्टाइन मापदण्ड र व्यवस्थित छैनन्’ आयोगका प्रवक्ता वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि देशभर सञ्चालित क्वारेन्टाइन व्यवस्थित गर्न र क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर परीक्षणलाई तीव्रता दिनुपर्छ ।’ विज्ञप्तिमा कोरोनाबाट ११ जनाको मृत्यु भएको, ३ हजार २ सय ३५ जना संक्रमित र एक लाख ६७ हजार क्वारेन्टाइनमा रहेको उल्लेख छ ।
लकडाउन समयमा हिडेका सञ्चारकर्मीमाथि गिरफ्तार, आक्रमण, धम्की र दुव्र्यवहार भएको भन्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको विज्ञप्तिमा उल्लेख छ ।
