दाङमा पनि संक्रमित बढेको बढ्यै : २२ दिनमा ७४ संक्रमित
लिलाधर वली
दाङ, २४ जेठ । दाङमा जेठ २ गते पहिलो पटक देउखुरीको गढवा गाउँपालिका निवासी २ जना पुरुषहरुमा कोरोना संक्रमण देखियो । उनीहरु भारतबाट फर्किएका थिए । भारतबाट कृष्णनगर नाका हुँदै स्वदेश फर्किएका उनीहरु क्वारेन्टाइनमा बसेको अवधिमै कोरोना संक्रमण पुष्टि भएको हो ।
यो भन्दा पहिले दाङ ठेगाना भएका तर काठमाडौंमा बस्ने एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । तुलसीपुर–४ निवासी उनी अहिले निको भएर घर फर्किसकेका छन् । २ गतेपछि एकैचोटि ८ गते घोराही–३ कुइरेपानी क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना पोजिटिभ देखिएको हो । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनी अहिले कोरोना विशेष अस्पताल बेलुझण्डीमा उपचाररत छन् ।
त्यसपछि जेठको १४ गते एकैपटक दाङका १५ जनामा कोरोना संक्रमण देखियो । उनीहरुमध्ये ७ जना घोराहीका र ८ जना लमही नगरपालिकाका रहेका थिए । लमहीका संक्रमितमध्ये एक जना महिला समेत रहेकी थिइन् । उनीहरुको पनि अहिले बेलझुण्डी स्थित अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । १५ गते देउखुरीको गढवा गाउँपालिका निवासी २ जनामा कोरोना पुष्टि भएको थियो । १५ गतेसम्म सुस्तगतिमा रहेको कोरोना भाइरसको बृद्धि दर १८ गतेपछि भने बढेको देखिन्छ । १५ पछि १७ गते ५ जना कोरोना संक्रमित थपिएका थिए । जसमा बबई गाउँपालिकाका १ जना र बंगलाचुलीका ४ जना रहेका थिए ।
१८ गतेदेखि २३ गतेको बीचमा ४७ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये देउखुरीको गढवा गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी वाहेक अन्य ४५ जना भारतबाट यही महिनामा दाङ भित्रिएका थिए । जसमा जेठको १८ गते ९ जना, १९ गते ९ जना, २० गते ८ जना, २१ गते ५ जना, २२ गते १५ र २३ गते १ जना कोरोना संक्रमित दाङका भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिका–२३ जना रहेको छन् । त्यसपछि बंगलाचुली गाउँपालिकामा १८ जना, लमही नगरपालिकामा ९ जना, तुलसीपुर उपमहानगरपालिकामा ५ जना, गढवा गाउँपालिकामा ८ जना, राजपुर गाउँपालिकामा ६ जना, राप्ती गाउँपालिकामा २ जना र बबई गाउँपालिकामा २ जनामा गरी जिल्लामा ७४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । उनकाअनुसार संक्रमितमध्ये २ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २ जनाको नेपालगञ्ज स्थित सुशील कोराइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । संक्रमित एक जनामा डेंगुको संक्रमण देखिएपछि उनलाई बुटवल रिफर गरिएको छ ।
थपिए ३२३ कोरोना संक्रमित
नेपालमा ३ सय २३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३ सय २३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको बताए । संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरी ३, बाँकेका १२, बर्दियाका २, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् । त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्घाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जना छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६ हजार ३१ रहेको छ । डिस्चार्ज हुनेको संख्या ३ सय ६५ रहेको छ ।
मृतकको सख्या १३
कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । मन्त्रालयका अनुसार ती पुरुषको ४ दिन अघि मृत्यु भएको थियो । उनी लामो समयदेखि दमका रोगी थिए । यसैगरी ती महिला मृगौला रोगबाट पीडित थिइन् । उनको जेठ २३ गते सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको हो ।
