क्वरेन्टाइनहरुको स्तरीयता र त्यहाँको खानपानका बारेमा प्रशस्तै गुनासोहरु सुनिन थालेको छ । प्लाष्टिकको चामल खान दिएको भन्नेसम्मको गुनासो मिडियाहरुमा आइरहेका छन् । केही क्वारेन्टाइनहरुमा ‘आन्दोलनको तयारी गरेका छौँ, पत्रकारहरु आइदिनु प¥यो’ भनेर सञ्चारकर्मीलाई फोन आएका घटनाहरु पनि छन् ।
यी सबै कुराहरुलाई सम्बोधन गर्नका लागि स्थानीय सरकार र प्रशासनका बीच अझ प्रभावकारी समन्वय र प्रभावकारी कदम आवश्यक देखिएको छ । क्वारेन्टाइनवासीहरुको अर्को गुनासो पनि छ कि हामीले गुनासो गर्ने कहाँ हो ? यो सुन्दा स्वाभाविक लाग्ने प्रश्न भए तापनि यसको अन्तर्यमा ठूलो पीडा लुकेको छ । यसको पहिचान गर्न र समाधान गर्न तत्परता देखाइनु पर्दछ ।
क्वारेन्टाइनमा बसेकाहरु अपराधी होइनन् । उनीहरु दीर्घरोगी पनि होइनन् । उनीहरुलाई भेटेर समस्या सुन्नै नहुने पनि होइन । त्यसकारण उनीहरुको आवाज सुनिनु पर्दछ । सम्बोधित हुनुपर्दछ । त्यतिमात्रै हैन, अहिलेको अवस्थामा प्राथमिकतामा उनीहरुको कुरा सुनिनु पर्दछ । राज्य कोरोना संक्रमण विरुद्ध लड्दै छ ।
त्यो लडाईंका लागि बजेटलगायत सबै ताकत खर्च गर्ने सरकारी प्रतिबद्धता रहेको छ । तर, यो लडाईका सफलता पाउनका लागि अत्यावश्यक एउटा पूर्वाधार भनेको क्वारेन्टाइन नै हो । अब वर्षौसम्म क्वारेन्टाइनको अभ्यास निरन्तर गर्नुपर्ने वाध्यतालाई नकार्न सकिँदैन । त्यसकारण त्यहाँ बस्दा सजाय पाएको होइन, उपचार पाएको हो भनेर महशुस गर्नसक्ने बनाउनै पर्दछ ।
अन्यत्रको दौडधुप देखाएर ‘म सक्रिय छु’ भन्ने सन्देश दिँदैमा त्यसले नतिजा ल्याउन सक्दैन । बालुवाको महल बनाउने प्रयत्न जस्तै हुने छ त्यस्ता कदम । इन्धन र भत्ताको खर्चलाई कोरोना विरुद्धको लडाईको खर्च मान्न सकिँदैन । तसर्थ, आवश्यक पूर्वाधारहरुको व्यवस्थापन र शंकास्प्रद भनेर क्वारेन्टाइनमा राखिएकाहरुलाई गुनासोरहित वातावरण निर्माण नै अहिलेको आवश्यकता हो । स्थानीय सरकारको उपस्थिति हरेक वडासम्म छ । ती सरकारको काम कारवाही पनि यिनै दुई कुरामा बढी केन्द्रित हुनुपर्ने हो । अहिलेसम्म स्थानीय सरकारले खेलेको भूमिका र देखाएको सक्रियता प्रशंसनीय छ । क्वारेन्टाइन निर्माणको काम यति छिटो र यति मितव्ययी रुपमा हुनुमा उनीहरुको योगदान महत्वपूर्ण छ । तर, अब ठूलो संख्यालाई क्वारेन्टाइनमा राखिसकेपछि त्यहाँको वारतावरणलाई न्यूनतम रुपमा मानवीय आवश्यकता पूरा गर्ने ढङ्गले व्यवस्थापन गर्न जरुरी छ ।
यति ठूलो महासंकटका विरुद्धमा लडाई गर्दा समन्वय र सकारात्मक अग्रसरता अपरिहार्य कुरा हुन् । यी दुवै कुराको अभावमा हाम्रो लडाई बलियो बन्नसक्ने छैन । यसका लागि सबैको सकारात्मक र समस्या पहिचान गरेर त्यसको सम्बोधनका लागि सक्रियता आवश्यक छ । क्वारेन्टाइन भित्रबाट आइरहेको गुनासो सम्बोधनका लागि गम्भीर बनौँ र त्यहाँ बसेका मान्छेको आधारभूत आवश्यकता पूरा गर्ने दायित्व निर्वाहमा कुनै कसर बाँकी नराखौँ ।