तुलसीपुरमा अलपत्रलाई व्यवस्थित गरिँदै
तुलसीपुर, २४ जेठ । कोरोना संक्रमणका कारण विभिन्न ठाउँबाट आउने मानिसहरु तुलसीपुर क्षेत्रमा ट्रान्जिटका रुपमा झर्ने गरेका छन् ।
विभिन्न ठाउँमा जाने केन्द्रका रुपमा रहेकाले तुलसीपुर बजार क्षेत्रमा हरेक दिन अलपत्र यात्रुहरु बजारमा डुलेको देख्न सकिन्छ । भारतबाट आएकाहरु यसरी डुल्दा स्थानीयमा कोरोनाको त्रास फैलिएको थियो ।
पहाडी जिल्लालगायत पश्चिम दाङका विभिन्न ठाउँमा जानका लागि आएका यात्रुहरु तुलसीपुरलाई ट्रान्जिट बनाएर आउने गरेको पाइएपछि तुलसीपुर उपमहानगरपालिकाले सबैलाई व्यवस्थित गर्ने भएको छ ।
वडा नं. ५ का वडा अध्यक्ष बीरेन्द्रकुमार शाहको अध्यक्षतामा अलपत्र यात्रुलाई व्यवस्थित गरिने भएको हो । शाहको संयोजकत्वमा नेपाल प्रहरी, तुलसीपुर उद्योग वाणिज्य सघ, यातायात व्यवसायी, विपद् व्यवस्थापन शाखा र स्वास्थ्य महाशाखा सदस्य रहने गरी समिति बनाइएको छ ।
‘विभिन्न ठाउँमा जाने यात्रुहरुलाई समन्वय गर्नुका साथै उनीहरुलाई एकै ठाउँमा सुरक्षित तवरले राख्ने काम अगाडि बढेको छ’, संयोजक शाहले भने– ‘विभिन्न ठाउँका मानिसहरुलाई तत्काल उनीहरुकै ठाउँमा पु¥याउने काम भइराखेको छ ।’
