श्रवणकुमार नेपाली
आकाश राम्रो, धरती छ राम्रो
पहाड राम्रो, पिरती छ राम्रो
उत्तुङ राम्रो, गिरिराज राम्रो
संसारको यो शिरताज राम्रो ।१।
माटो र ढुङ्गा घर हैन जान
सम्पत्तिको राश सबै नठान
आस्था भए पत्थर देव हुन्छ
आस्था मरे देश विदेश हुन्छ ।२।
मेची र काली परिवृत हाम्रो
आदर्शले सञ्चित चित्त राम्रो
संसारको सार यही छ लाख
नेपाल मेरो रमाणीय काख ।३।
हाम्रो सुनौलो इतिहास बोल्छ
स्वाधीनताको गरिमा सुसेल्छ
यै माटोको रक्षा निम्ति मर्नु
पुर्खाहरुको गुण धर्म छर्नु ।४।
यो शान्तिको उद्गम दिव्य देश
आध्यात्म हौँ दर्शन सन्निवेश
देवी र देउता जनवास गर्छन्
पियुषधारा गिरिबाट झर्छन् ।५।
मस्दिज, देवालय, चर्च, गुम्बा
वैविधताको सुन्दर फूलथुङ्गा
भाषा अनेक कपडा अनेक
एकात्मकताको गुरु मन्त्र एक ।६।
प्रचीन संस्कृति, कला र सिप
जिवन्तताको बलिरा‘छ दीप
के छैन खोजे अनमोल रत्न
सम्पूर्ण पाइन्छ गरे प्रयत्न ।७।
टाढा बजेको अब बाजा छोड
आफ्नै माटोमा मन प्राण जोड ।
ब्रह्माण्डमा स्वर्ग यतै छ जान
नेपाल हो अन्त कतै नठान ।८।