Goraksha

National Daily

गजल

एक्सन आरसी

यति धेरै निष्ठुर हुनुको पनि कारण छ, विचार गर्नु ।
कसैबाट दूर हुनुको पनि कारण छ, विचार गर्नु ।।

हुन त एउटै हाँगामा देखिन्छ, फूल र काँडा सधै,
फूलमात्र सुगन्धित हुनुको पनि कारण छ, विचार गर्नु ।।

अरे म १ सिङ्गो ऐनामा टुक्रिएको चेहेरा देख्छु, आफ्नो,
आफूभित्रै चकनाचुर हुनुको पनि कारण छ, विचार गर्नु

जन्मँदै कोही दानव प्रवृत्तिको हुनै सक्तैन महोदय,
समयसँगै महिसासुर हुनुको पनि कारण छ, विचार गर्नु ।।

रहर धरौटी राखेर हिडेको मान्छे, केही रहर किन्नलाई,
‘एक्सन’ साह्रै मजबुर हुनुको पनि कारण छ, विचार गर्नु ।।

–सल्यान