गोरक्ष समाचारदाता
दाङ, २३ जेठ । रुकुम पश्चिमको सोती घटनामा दलित समुदायको युवाहरुमाथि नरसंहार भएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । जातीय बिभेदका कारण हत्या गरिएका नवराज बिकलगायत ६ जनाको स्मृतिमा दलित नागरिक समाजले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागीहरुले नरसंहार गर्ने ब्यक्तिहरुलाई कारबाहीका क्रममा कुनै पनि शक्तिले प्रभाव पार्न नहुने बताएका छन् ।
दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरुको माग छ । समाजका संयोजक छवि परियारको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवं दलित अगुवा देवराज बिश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र बिश्वकर्मा, नेपाल दलित संघका केन्द्रीय सचिव देवीका नेपाली, दलित मुक्ति संगठनका केन्द्रीय सदस्य राधिका परियार, नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम बिश्वकर्मा, दलित अधिकार तथा सञ्चार अभियान नेपालका अध्यक्ष निर्मल नेपाली, तुलसीपुर उपमहानगरपालिकाका सदस्य युवा करारा र न्यायिक समितिका सदस्य यमुना परियार, विश्वकर्मा समाजका किरण विश्वकर्मा, नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ प्रदेश ५ का अध्यक्ष सुरेन्द्र परियार, नेपाल बिद्यार्थी संघका जिल्ला सहसचिब जितेन्द्रप्रकाश वली, दलित विद्यार्थी संघका उपाध्यक्ष खेमराज सेञ्चुरी, दलित अगुवाहरु घनश्याम शेपाईली, चेतबहादुर शेपाईली, ईश्वरी सुनार, मेघराज सोनी, साझेदारी विकास मञ्चका खेमराज विश्वकर्मा, दलित सेवा संघका लिला बिकलगायतले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण समाजका सचिव पोषण सेञ्चुरीले गरेका थिए । जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो ।
जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । ६ जनाकै शव भेरी नदी र नदी किनारमा भेटिएको थियो । नवराजको शव १० गते नै राति भेटिएको थियो भने गोविन्दको शव जेठ २० गते भेटिएको थियो ।