Goraksha

National Daily

लाहाको घरमा पाण्डवहरुलाई मार्ने प्रपञ्च

राधेश्याम उपाध्याय

एक दिन कौरवहरुको सल्लाहमा पाण्डवहरुलाई कल, बल, छल जसरी पनि वारणावतमा पठाउने र त्यहाँ उनीरुलाई लाहाको घरमा बस्न लगाई मार्ने निर्णय भयो । पाण्डवहरु पनि वारणावतमा हुने कुनै महोत्सवमा भाग लिन र त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्नका लागि जान तयार भए । आमा कुन्तीलाई पनि सँगै लगेर पाण्डवहरु वरणावत गए ।

पाण्डवहरु वारणावत नगर जानु अघि नै मन्त्री पुरोचनलाई प्रशस्त धन सम्पत्ति दिएर दुर्योधनहरुले आफ्नो वशमा गराएका थिए र वारणावतमा गाप्यरुपमा कसैले पनि थाहा नपाउने गरी पाण्डवहरु बस्नका लागि लाहाको दरबार बनाउन लगाए । पाण्डवहरुलाई त्यसै दरबारमा बसाउने सम्पूर्ण व्यवस्था मन्त्री पुरोचनको जिम्मा लगाइएको थियो । त्यस घरमा रसोई (भान्सा) कोठा थिएन, त्यस समयमा उज्यालोको लागि मसाल बालिन्थ्यो, तर त्यहाँ मसाल बाल्ने व्यवस्था थिएन । अथवा त्यो दरबारमा आगोजन्य प्रज्ज्वोलित वस्तु बाल्ने व्यवस्था थिएन ।

त्यस घरमा चन्द्रमा उदाए भने मात्र प्रकाश हुने व्यवस्था गरिएको थियो । यो कुराको जानकारी काका विदुरलाई केही हुने गरेकाले मुसाले जंगलमा आगो लागेका बखत दुलामा गएर आफ्नो प्राण बचाउँछ भन्नेजस्ता जानकारीमुलक सूचना गोप्य भाषामा युधिष्ठिरलाई भनेका थिए । सबै कुरा भन्नलाई वातावरण मिल्दैनथ्यो । सबै कौरवहरुका गुप्तचरहरुबाट घेरिएका थिए । यी कुराले युधिष्ठिरलाई मनमा केही खुल्दुली भयो र उनीहरु सचेत पनि भए ।

वारणावतमा पाण्डवहरुको ठूलो स्वागत भयो । स्वयम् पुरोचन आएर दरबारमा जान विन्ति चढाए । विदुरले राजदरबारमा केही शंकास्प्रद वातावरण भएको देखेकाले आफ्नो विश्वासपत्र दूतलाई गोप्य रुपमा वारणावतमा पठाए र दूतले भीमको सरसल्लाहमा दरबारदेखि बाहिर निस्कने सुरुङ खने । एक दिन कुनै भिल्लिनी आफ्ना पाँच भाइ छोराहरु लिएर दरबारमा बस्न आएकी थिई । संयोग त्यस दिन पुरोचन पनि दरबारमै बसेका थिए । सम्भवतः त्यसै दिन पुरोचनहरुले आगो लगाउने निश्चित गरेका थिए ।

त्यो थाहा पाएर पण्डवहरुले सल्लाह गरी अगाडि नै अग्नि प्रज्ज्वलित गरी सुरुङबाट आफूहरु सकुशल बाहिर निस्किए र नदी किनारमा पुगे । यता दरबार सखाव भयो भिल्लिनी र तिनका पाच भाइ छोराहरु सवै मरे तर अरुलाई कुन्ती सहित पाँच पाण्डव मरे भन्ने भान भयो ।

यता धृतराष्ट्रले पनि सबै पाण्डवहरु आमा सहित आगो लागि जली मरे भन्ने थाहा पाएर केही दुःखी भएको नाटक गरे । रैतीहरुको लोकलाजबाट बच्न कौरवहरुले पनि नक्कली शोक सन्ताप गरे । गंगाजलले तिलाञ्जली दिए, लुगाको पुतली बनाएर मुर्दा जलाए । सबै पाण्डवहरुको काजकिरिया गरे । भीष्म चिन्तित थिए, महामन्त्री विदुरलाई सबै कुरा थाहा थियो । विदुरले एकान्तमा बोलाएर भीष्मलाई सबै कुरा जानकारी गराई चिन्ता दुर गरे ।

दुर्योधनहरुले शत्रु मरे भनी खुशी भए र अनीतिपूर्वक राज्य सञ्चालन गर्न लागे । प्रजाहरु दुःखित थिए । राजाका डरले कोही कसैले केही बोल्न सम्दैनथिए । अनीति र दुष्कर्म बढ्दै गयो । प्रजाले पाण्डवहरुलाई सम्झेर दुःखित भई घरमै रुन थाले ।

उता पाण्डवहरु वन–वनमा थकित भई हिडिरहेका थिए । त्यही वनमा हिडम्बासुर नाम गरेको राक्षस आफ्नी बहिनी हिडिम्बाका साथ बस्दथ्यो । उनीहरुले मानव माँस खान्थे । हिडम्बाले मानिसको सुगन्ध पायो र आफ्नी बहिनीलाई ती को हुन्, कहाँबाट आए ? के खोज्दछन् ? कहाँ जाने हुन् ? बुझेर आउन पठायो र बहिनी हिडिम्बा बुझ्न गई । पाण्डवहरु वन–वन हिडेर थाकेका थिए र भीम सेवाका लागि जागा बसेका थिए भने अरु सवै भाइ र आमा कुन्तीहरु भूइँमा सुतिरहेका थिए ।

हिडिम्बाले भीमलाई देखी र मोहित भई, म तिम्रो दासी हुन्छु, मलाई स्वीकार गर भन्न लागि । तिमी को हौ ? अहिले मेरी आमा, दाजु र भइहरु थाकेर सुतिरहेका छन् । तिमीले गर्दा उनीहरुको निद्रा भङ्ग हुन्छ, याहाँबाट गइहाल भन्दै थिए । बुझ्न पठाएकी बहिनी कता हराई भन्दै दाजु हिडिम्बासुर खोज्दै आइपुग्यो । बहिनीको प्रेमवार्तालाप हुँदै गरेको बुझ्यो । रिसले चुर भयो । भीमलाई खानका लागि झम्टियो । पाण्डवहरु सवै व्यूँझिए । भीम र राक्षस हिडिम्बासुरको घनघोर युद्ध भयो । भीमले हिडिम्बासुरलाई मारे । त्यस राज्यका सबै कविला जम्मा भए । त्यस राज्यको नियम जसले राजालाई मार्छ वा जित्छ उही त्यस राज्यको राजा हुनुपर्ने । बहिनी हिडम्वा भीमप्रति आशक्त भइसकेकी थिई ।

उसले कुन्तिसँग भीमका साथ विवाह गरेर भीमलाई राजा बनाई बस्ने प्रस्ताव राखी । कुन्तीले यो कुरा मानिनन् । मानिस र राक्षसको विवाह हुन सक्दैन । हामी फिरन्ते हौँ, यहाँ घरबास जोडेर बस्न सक्दैनौँ, तिमीलाई लगेर गाउँ–गाउँ जान पनि सक्दैनौँ । यस कुरामा जिद्धी नगर भनिन्, तर हिडिम्वाले यो कुरा मानिनन् । रावणका बुबा मनिस र आमा राक्षसको विवाह भएको थियो भनिन् । त्यसैले त रावणको जन्म भई राक्षस कुलको नास भएको थियो यसबाट राम्रो हँुदैन । सन्तान राम्रा हुँदैनन् जिद्धी नगर भन्दा पनि मानिनन् । उनले भनिन् रावणको मात्र हैन विभिषणजस्ता बुद्धिमान र धर्मात्माको पनि जन्म भएको थियो ।

म मेरा सन्तानलाई विभिषणजस्तो ज्ञानी र धर्मात्मा बनाउने छु । म मेरो एक सन्तान जन्मँदासम्म मात्र हजुरको पुत्रलाई राख्दछु । जब मेरो सन्तानको जन्म हुनेछ त्यसपछि हजुरको छोराले मेरो छोरालाई राज्य सत्ता हस्तान्तरण गरी जान सक्नुहुनेछ । म रोक्ने छैन । यो मेरो प्रतिज्ञा भयो भनि निकै विलाप गर्न लागिन् । कुन्ती निकै दुविधामा परिन् र धर्मात्मा र बुद्धिमान छोरालाई सोधिन । नीतिले के भन्दछ ? युधिष्ठिरले सवै कुरा विचार गरेर आमा हजुरले भनेको कुरा नै हाम्रा लागि नीतियोग्य हुने भएकाले हजुरले जे भन्नुहुन्छ त्यही हुन्छ भन्दा आमाले स्वीकृत दिइन र दुवैको गान्धर्व विवाह भयो ।

त्यस राज्यको राजा भीम भए । हिडम्बाबाट घटोत्कचको जन्म भयो । घटोत्कचले मेरो आवश्यक परेमा मेरो नाम स्मरण गरेमा म हाजिर हुनेछु भनि घटोत्कच बाटो लागे । वाचा अनुसार हिडम्बाले पाण्डवहरुलाई बिदा दिइन् । पाण्डवहरु जंगलको कठोर यात्रातर्फ लागे । यसरी भीमको छोरा घटोत्कचको जन्म भयो । उसको पनि महाभारत युद्धमा ठूलो भूमिका रहेको छ ।

केही समयपछि पाण्डवहरु तपस्वीको भेष धारण गरेर मत्स्य, त्रिगर्त, किचक, पाञ्चाल देशहरु काटेर अगाडि बढ्दै थिए । श्रीवेदव्यास मुनि आएर दर्शन तथा आषीश दिनुभयो । अब एकचक्र नगरी आउँछ त्यहाँ एक ब्राह्मणका घरमा बस्नु, इच्छा पुरा हुनेछ, केही डर नमान्नु भनि दिशा निर्देश गरी हिड्नुभयो । पाण्डवहरु पनि ती ब्राह्मणका घरमा गई भीक्षावृत्ति गरी खुशी साथ सत्धर्मको पालन गर्दै केही समय बस्ने भए ।

त्यस गाउँमा वक नामको राक्षसले निकै उपद्रो मच्याएर दुःख दिने र मानिसलाई खाने गर्दथ्यो । सबै गाउँलेहरुलाई पालो लगाएको थियो कि प्रत्येक दिन एक घरबाट एक गाडा अन्न एउटा भैँसी लिएर एक जना मानिस आउनुपर्ने र वक राक्षसले मानिस समेत त्यो खाना खाने गर्दथ्यो । एक दिन पाण्डवहरु बसेको घरको पालो आयो । त्यस घरमा बाबु, आमा, छोरा, छोरी चारजनाको परिवार थिए ।

राक्षसलाई खाना लिएर को जाने भनेर चिन्तित थिए, उनीहरु । सो कुरा कुन्तीले थाहा पाइन् र ब्राह्मण परिवारलाई मेरा पाँच छोराहरु छन् आजसम्म तपाईहरुले शरण दिनुभयो, म छोरा भीमसेनलाई पठाउँछु, तपाईहरु चिन्ता नगर्न भनिन् । पहिला ब्रह्मण परिवारले हामी अतिथिको हत्या गर्न दिँदैनौ भनि मानेनन् तर पछि कुन्तीले नीतिपूर्वक कुरा गरिन् र माने । भीम राक्षसको भोजन लगेर गए । उनले राक्षेसलाई बोलाउँदै गए तर भोजन जति सबै आफैले खाए । यो देखेर राक्षस अत्यन्त रिसायो र दुवैको युद्ध भयो । भीमले वक राक्षसलाई मारे । त्यसका साथमा भएका अन्य राक्षस डराएर प्राण बचाएर भागे । गाउँलेहरु सबै खुशी भएर पाण्डवहरुको आदर गरे ।

केही समयपछि पाञ्चाल देशका राजा द्रुपदकी छोरी द्रौपदीको स्वयम्बर हुँदैछ भन्ने सुने र पाञ्चाल देशतर्फ लागे । बाटामा व्यास मुनि निर्देशन दिन आउनुभयो । पाण्डवहरुले धृष्टभध्युम्न र द्रौपदीको उत्पत्तिको कथा जान्न इच्छुक भए र व्यास मुनिलाई अनुरोध गरे । क्रमशः …