असक्षम नेताहरु र अविश्वासको राजनीति

विनोद पोख्रेल

२०७६ फागुन १७ गते
नचाहँदा पनि लेख्नुपर्ने भएको छ । नेपालको वर्तमान राजनीतिको आन्तरिक किचलोले दिक्क लागिसकेको छ । यस पटक भनौ पछिल्लो चुनावबाट एउटा संयुक्त राजनीतिक शक्रि (एमाले र माओवादी) परिआएमा दुइतिहाईभन्दा बढीको तागत देखाउनसक्ने भनौँ अथवा प्रयोग गर्न सक्ने स्थितिमा छ । प्रदेश सरकार र स्थानीय सरकारमा समेत प्रचण्ड वहुमत छ ।

अन्य दलको कुरा छोडौँ कांग्रेस नै गाउँले उखानको भरमा भन्ने हो भने चामलमा वियाँ जस्तो भेटिने भएको छ । यस्तोमा मजस्तोलाई चित्त नबुझ्ने नै सही केही ठोस कामहरु, केही ठोस निर्णयहरु हुन्छन् भन्ने विश्वास मनमा अलि–अलि भए पनि थियो । एक–दुई जना स्थानीय जनप्रतिनिधिसँग मैले यस्तो विश्वास व्यक्त पनि गरेको थिएँ ।

तर नेपाली राजनीतिमा फेरि नराम्रोसँग ग्रहण लागेको जस्तो अनुभव हुन थालेको छ । यो पूर्णतया अनपेक्षित होयन । दुई दल मिलेर बनेको शक्ति कति टिक्छ भन्ने शंका त धेरैमा थियो । तर मैले केही विशेष निर्णयहरु हुन्छन् भन्ने आशा गरेको थिएँ । तर यहाँ त छलफल समेत भएन । भयो त खाली व्यक्तिको व्यवस्थापन, भागबण्डा, सत्ताको प्रयोग आदिमा मात्रै सीमित भयो ।

जनादेशलाई महत्व दिएको जस्तो त देखिएन नै, वामदेव गौतम प्रकरणमा त स्वार्थ संविधान र प्रतिबद्धताभन्दा पनि माथि देखियो । यहाँ विचार, संगठन, अनुशासन, संविधान केहीको प्रभाव कसलाई पनि परेको जस्तो देखिएन । एकपटक फेरि राष्ट्र व्यक्तिको लहडको भरमा चलाउने प्रयास भयो । यो राजनीतिका लागि अत्यन्त घातक कुरा हो ।

यहाँको राजनीतिमा एउटा मनोरोग स्थापित भएको छ । सबै विदेशीको खेल हो भनेपछि सब कुरामा छुट पाइने वा पञ्छिने गरेको देखिन्छ । सत्ता प्राप्त गर्न मरिहत्ते पनि गर्ने अनि नपाएपछि विदेशीको खेल भन्ने स्वभाव सबै नेताहरुमा छ । त्यो खेल यदि सही हो भने खेल बहिस्कार गर्ने हिम्मत किन नभएको होला, नेपालका नेताहरुमा ? त्यसैले मैले यस्तो स्थितिलाई विदेशी खेल भन्नुभन्दा पहिले समर्पणको अभाव भएको आफ्नो लहड लाद्ने चरित्र भएको राष्ट्र र जनताप्रति जिम्मेवार हुन नसकेको सत्ता सञ्चालनको सीप नभएको राजनीतिक लक्ष्य समेत नभएको चरित्रको परिणम हो भन्ने बुझेको छु ।

अझ पछिललो समयमा त महरा र बास्कोटा प्रकरणले राजनीति शत्रु साँध्ने उपायको रुपमा प्रयोग भएको हो कि भनेर शंका गर्नुपर्ने भएको छ । राज्य सत्ता नेपालीबाट चल्न सक्दैन जस्तो लाग्न थालेको छ । वर्तमान सत्ता पक्षले जनादेशको फाइदा उठाएर राष्ट्र र जनताको लागि हितकर निर्णयहरु सुरु गरेको भए सायद यस्तो स्थितिमा पुग्दैनथ्यो कि ? यहाँ त बामदेवलाई सत्तामा ल्याउन सबैभन्दा महत्वपूर्ण विषय बनाइन्छ । यस्तो राजनीतिबाट के आश गर्नु र ?

२०७६ फागुन १८ गते
आजभोलि नेपालको राजनीतिको दुःखद व्याख्या गरिन्छ । यसमा मसँग सम्पर्कमा भएका कतिले कांग्रेससँग मिलेर भए पनि ओली नै प्रधानमन्त्री हुनेसम्मको व्याख्या गर्छन् भने कतिले पार्टी फुटेपछि बामपन्थीको वहुमत नरहने अनि के हुन्छ भन्न नसकिने तर्क गर्छन् । एकथरिले त मध्यावधि निर्वाचनको कुरा गर्न पनि थालेका छन् । अरु पनि धेरै तर्कहरु सुनिन्छ । यसमा मसँग नजिक हुनेहरु शंकाभित्रै भए पनि खुशी प्रकट गर्छन् । तर मलाई यिनीसँग केही मतलव छैन ।

पहिलो कुरो आफैले भोलि के निर्णय लिने हो मलाई थाहा छैन भने अरुले के निर्णय लिने हुन् मैले अन्दाज गर्न सक्ने कुरा भएन । दोस्रो कुरो कांग्रेस सत्तामा जानुले आम नागरिकलाई हुने फाइदा पनि मैले केही देखिरहेको छैन । केही थोरै मान्छे मन्त्री होलान् । तिनको नजरमा परेका केहीले केही अस्थायी जागिर पाउलान्, त्यसले देशको कुनै पक्षलाई पनि केही असर पर्ने छैन । महत्वपूर्ण पक्ष त वर्तमान सरकारको पार्टी फुटे पनि उनीहरुको वहुमत नै पुग्दैन भननेमा समेत म सहमत हुन सकेको छैन ।

प्रारम्भिक सोचको कुरा गर्ने हो भने मेले यो विषयबारे केही मतलव नै राखेको छैन । सायद म विचारमा सीमित छु । राजनीतिक गतिविधिसम्म पुग्न नै चाहन्न । केही साथीहरुसँग बसेर कुरा गर्दा त्यतिबेला आफ्नो मनमा आएको कुरा भनिदिनु एउटा कुरा हो । तर कुनै पार्टी फुट्नु वा जुट्नु, कोही सत्तामा पुग्नु वा नपुग्नुसँग मलाई वास्ता छैन । मलाई वास्ता भएको त व्यक्तिका मानवीय अधिकारहरु खोसिनु हुँदैन र त्यो प्रजातन्त्रमा मात्र सम्भव छ भन्ने विचार मात्रै हो । त्यस्तै प्रजातन्त्रका लागि मूल शक्तिको रुपमा राष्ट्रिय भावना हो तर अहिले समाजलाई विभिन्न निहुँमा अलग–अलग कित्ता काट र बाँड्ने गतिविधिसँग म सहमत हुन नसकेकोसम्म यथार्थ हो ।

राजनीतिकै कुरा गर्ने हो भने यस्तो ठूलो जनमत प्राप्त गरेर पनि आफ्नो दल, आफ्नो गुटमा सीमित हुने मानसिकता भएकाहरु मेरो विचारमा नेतृत्व गर्न सक्षम नभएका व्यक्तिहरु हसन् । त्यस्ता व्यक्तिबाट केही आश गर्नु नै बेकार छ । यति शक्तिशाली सरकारले केही गर्न त परै जाओस्, आफ्नो अवधि पूरा गर्ने कुरामा समेत प्रश्न उठ्छ भने योभन्दा निराशाको कुरो अरु के हुन सक्छ र ? नेतृत्वप्रति विश्वास जगाउने क्षमताले हो ।

खास गरेर जनताको जीवन स्तर उठाउने निर्णय गर्ने क्षमता र विदेशीहरुसँग नेपालको पक्षमा नेपालको स्वार्थकै आधारमा कुरा राख्न सक्ने क्षमता उनीहरुमा आवश्यक हुन्छ । यस्तो क्षमता प्रदर्शन गर्नसके मात्र नेतृत्वप्रति विश्वास जाग्ने हो । नेतृत्वमा विश्वास भएन भने राजनीतिमा चाख पनि हुँदैन ।