दाङमा ‘बगरलाई वन’ बनाउने अभियान सुरु

हेमराज शर्मा
दाङ,२३ जेठ । दाङ बगरलाई वन बनाउने अभियान सुरु भएको छ । डिभिजन वन कार्यालय दाङले विश्व वातावरण दिवसको अवसर पारेर शुक्रवारदेखि घोराही–५ को नैनवारमा रहेको बगरमा बृक्षरोपण गरेर बगरलाई वन बनाउने अभियानको शुरुवात गरेको हो ।

बबई खोलाले कटान गरेर छाडेको १६ हेक्टर भन्दा बढी बगरलाई सामुदायिक वन बनाई स्थानीयले बृक्षरोपण गरेका हुन । नैनवार बगर सामुदायिक वन क्षेत्रमा शुक्रवार ६ सय बढी बिरुवा रोपण गरी यो बर्षका बगरलाई बन बनाउने अभियानको शरुवात गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन ।

उक्त क्षेत्रमा सिसौ, सिमल, खयर, अमला र जामुनलगायतका प्रजातीका बिरुवा लगाइएको थियो । लकडाउनका समयमा सामाजिक दुरी कायम गर्दै सयौ स्थानीयले बृक्षरोपण गरेका छन ।

यसबर्ष ४० हेक्टर बगरलाई  वन बनाइने

यसबर्ष दाङमा ४० हेक्टर वगरलाई वन बनाउने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ । बबइ नदी तथा अन्य नदीहरुले कटान गरेर छाडेको बगर क्षेत्रलाई बृक्षरोण गरी हरियाली बनाउने योजना अनुसार आफुहरुले काम गरिएको डिभिजन वन अधिकृत ज्ञवालीले जानकारी दिएका हुन ।

गत बर्षदेखि थालिएको बगरलाई बन वनाउने अभियान अन्र्तगत बृक्षरोपण गरिएको करिव ४० हेक्टर क्षेत्रफलमा लगाइएको बिरुवा हुर्कदै गएकोपछि आफुहरु उत्साहित भएको भन्दै ज्ञवालीले यो बर्ष पनि त्यतिनै मात्रामा बृक्षरोपण गरिने बताए ।

बृक्षरोपणका लागि २ लाख बिरुवा तयार

दाङमा यस बर्ष बृक्षरोणका लागि २ लाख बिरुवा तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ । जिल्लाका पहाडी क्षेत्रमा टिमुर, मालागेडी लगायतका प्रजातिलगायतका बिरुवाहरु रोपिने भएको छ । जसअन्गर्तत गतबर्ष रोपेर मरेका ठाउँमा समेत विरुवा रोपिने भएको छ ।

गाउमै बिधान र कार्ययोजना हस्तान्तरण

डिभिजन वन कार्यालय दाङले लकडाउनका कारण उपभोक्ताहरु कार्यालयसम्म आउन सक्ने अवस्था नरहेको भन्दै नैनवार बगर सामुदायिक वनको बिधान र कार्ययोजना गाउँमै पुगेर स्वीकृत तथा उपभोक्तालाई हस्तान्तरण पनि गरेको छ ।

विश्व वातावरण दिवसका अवसरमा शुक्रवार घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको नैनवारमा एक औपचारिक कार्यक्रम गरी डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले वन समुहका अध्यक्ष रामबहादुर भण्डारी र सचिव टिका केसीलाई वनको बिधान र कार्ययोजना हस्तान्तरण गरेका थिए ।

१ सय ६८ घरधुरी रहेको उक्त सामुदायिक वनको १० बर्षे कार्ययोजना बनाई बिधान र कार्ययोजना हस्तान्तरण गरिएको थियो । यसरी गाउँमै पुगेर उपभोक्ताहरुलाई सामुदायिक वन हस्तान्तरण गरिएको यो जिल्लाको पहिलो कार्यक्रम भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले उपभोक्ताहरुलाई बगर क्षेत्र बन बनाइ हस्तान्तरण गरिएको भन्दै त्यसलाई राम्रोसँग संरक्षण गरी उपभोक्ताका हितमा कार्य गर्न अनुरोध गरेका थिए ।

लकडाउनका बेला धेरै मानिस घरभित्र बसेको अवस्थामा नैनवारका स्थानीय सक्रिय भइ सामाजिक दुरी कायम गर्दै कार्य गरेको देखेर आफू खुशी भएको उनकोे भनाई थियो ।

कार्यक्रममा सहायक वन अधिकृतहरु भक्तबहादुर चौधरी, बिष्णु लामिछाने, सिद्धान्त बराल, ज्ञानबहादुर चौधरीले बृक्षरोणको महत्व र बृक्षरोपण गर्ने तरिकाका बारेमा उपभोक्ताहरुलाई सहजिकण गरेका थिए । कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत संयोग बस्नतले गरेका थिए ।