दाङ, २३ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी नवराज घर्ती आजकल सडक किनारामा लगाइएका विरुवाको संरक्षण तथा गोडमेल गर्ने गर्छन् । उनी शारीरिकरुपमा अशक्त पनि छन् तर गोडमेल र सरसफाईमा निरन्तर सक्रिय छन् ।
उपमहानगरपालिकाको वडा नं. १५ मा रहेको उन्नतिनगर टोल विकास संस्थाले सडक किनारामा लगाएका विरुवाको संरक्षण र सरसफाईमा उनी १ हप्तादेखि यसरी खटिएपछि उनको रोजी–रोटीमा सघाउ पुगेको छ । टोल विकास संस्थाका अध्यक्ष गिरिराज शर्माका अनुसार संस्थाले सरसफाई गरेवापत घर्तीलाई खाना तथा आर्थिक सहयोग गर्ने गरेको छ ।
‘टोलमा सरसफाई गर्दा जसको घर नजिकै पर्दछ त्यसै घरबाट खाना तथा खाजा खुवाउने गरी व्यवस्था मिलाइएको छ’, अध्यक्ष शर्माले भने । घर परिवार कोही नभएका उनी एक्लै बस्दै आएका छन् । करिब डेढ वर्षदेखि उन्नतिनगर टोल विकास संस्थामा बस्दै आएका उनकी श्रीमती माइतमा बस्दै आएकी छिन् भने छोरा विदेशमा छन् ।
आफू बस्ने घरको भाडा बुहारीले तिरिदिने गरेको जानकारी घर्तीले दिए । उनले टोल विकास संस्थाको पहलमा वडा कार्यालयबाट एकपटक राहत प्राप्त गरेका छन् । तर अहिलेका काम र त्यसवापतको मामले आफूलाई सहज भएको उनी बताउँछन् । ‘खाली बस्नुभन्दा केही गरौं भनेर सरसफाई गर्न थालेको हुँ’, घर्तीले भने ।
यसरी काम गर्दा समयको सदुपयोगसँगै आयआर्जनसमेत भएको भन्दै उनले खुशी व्यक्त गरे । टोलको सरसफाईमा घर्तीले इच्छा देखाएपछि उनलाई काम गर्ने अवसर दिएको संस्थाका सचिव मुक्तिराम पाण्डेले बताए । सो टोल विकास संस्थाले आफ््नो टोलमा विभिन्न प्रकारका वृक्षारोपण गरेर संरक्षण गर्दै आएको छ । टोल विकास संस्थाले यही कारण घोराही उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा दोस्रो स्थानसमेत हासिल गरेको थियो ।