बालाराम खड्का
तुलसीपुर, २२ जेठ । दाङका स्थानीय तहहरुले आर्थिक उपार्जनका लागि कृषि र युवा रोजगार कार्यक्रमहरुमा केन्द्रित गरी आगामी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । विश्व नै कोभिड–१९ को संक्रमणले आक्रान्त छ ।
कोरोना महामारीको विश्व संकटकाबीच आउन लागेको नीति तथा कार्यक्रममा पनि कृषि, रोजगार र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिने पालिकाहरुले जनाएका छन् । कोभिड–१९ का कारण बैदेशिक रोजगारीमा भारतलगायतका विभिन्न शहरमा रहेका नेपाली अहिले आफ्नो घर फर्कने क्रम जारी छ । भारतबाट दैनिक हजारौं फर्किरहेका छन् ।
उनीहरुमध्ये धेरै अब छिट्टै नै काममा वा आफ्नो रोजगारीमा फर्कने सम्भावना कम छ । यसैले अहिले गाउँघरमा प्रवासी नेपालीले भरिएका छन् । स्थानीय पालिकाले नीति तथा कार्यक्रम र बजेटमा उनीहरुलाई रोजगारी दिने योजनाहरु तय गर्ने जनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषि, रोजगार र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले त्यसका लागि प्रदेश सरकार, केन्द्र सरकारसँग पालिकाले युवाहरुलाई तरकारी खेतीमा अनुदान दिन विभिन्न योजनाहरु माग गर्ने बताए ।
त्यसैगरी कृषिमा अनुदान दिने, विदेशबाट फर्किएकाहरुलाई विभिन्न कृषि रोजगारीहरु सिर्जना गरी अनुदान दिने, बाँझो जग्गा खेतीका साथै विभिन्न आयोजनाहरुमा काम लगाउने बताए । उनले हाल प्रदेश सरकार तथा केन्द्र सरकारमा बजेट माग गर्ने तयारी गरेकोसमेत बताए ।
त्यस्तै लकडाउनको समयमा श्रम बैंक स्थापना गरी श्रमलाई खाद्यान्नमा जोडेको पालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्र्तगत यस बर्ष प्रदेश संघ र सरसफाईमा लगाएको बताए । त्यस्तै बाँझो जमिन राख्नेलाई कारबाही गर्ने यसअघि नीति लिएको उपमहानगरपालिकाले कृषिमा उत्पादकत्व वृद्धि गर्दै भूमि बैंकको कार्यक्रम ल्याउने र बैंकमार्फत भूमिहीनलाई भूमि उपलब्ध गराई उत्पादनमा प्रोत्साहन गर्ने हो कि भन्ने विषयमा पनि छलफल भएको सूचना अधिकारी बाबुराम न्यौपानले बताए । तुलसीपुर उपमहानगरपालिकाले जेठ अन्तिमसम्म नीति तथा कार्यक्रम ल्याउने गरी तयारी गरेको जनाएको छ ।
यसैबीच घोराही उपमहानगरपालिकाले पनि कृषि, रोजगार र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । उनले अहिलेको जल्दो–बल्दो समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताए ।
‘हाम्रो पनि पहिलो प्राथमिकता कृषि, रोजगारी सिर्जना र स्वास्थ्य नै हुनेछ, त्यसका लागि के–के गर्ने भन्ने तयारीमा हामीहरु छौं’, उनले भने । केसीले अहिले नै यो यो नीति कार्यक्रम छ भन्ने अवस्था नभएको र नीति तथा कार्यक्रमको तयारीमा जुटेको बताए । उनले अहिलेको महामारीसँग लड्न र पछि आउन सक्ने खाद्यान्न संकटलाई मध्यनगर गरी नीति तथा कार्यक्रम केन्द्रित हुने बताए ।
उनले पछिल्लो अवस्थामा करिब दुई हजार बढी श्रमिकहरु नगरमा आएको र उनीहरुलाई रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्नेमा आफूहरु लागेको बताए । त्यसैगरी घोराही उपमहानगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्र्तगत करिब ६१ लाख रकम आएको र सो काम हुन नसकेको बताएको छ ।
अहिले शून्य अवधि भएकाले यस बर्ष सो कार्यक्रम के कसरी सञ्चालन गर्ने भन्ने टुंगो नलागेको उनले बताए । घोराही उपमहानगरपालिकाले पनि जेठको अन्तिम सातामा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
त्यस्तै लमही नगरपालिकाले पनि कोरोना भाईरस नियन्त्रण रोकथाम र राहतका साथै कृषिमा रोजगारी सिर्जना जस्ता योजनालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसीले दिएका छन् । ‘‘स्वास्थ्य, कृषिमा रोजगारीका साथै शिक्षानै अहिलेको प्रमुख प्राथमिकता हुने छ’ केसीले भने ।
उनले विदेशीएका युवाहरुलाई आयआर्जनका लागि केन्द्रित कार्यक्रम पनि ल्याउने तयारीमा लागेको जानकारी दिए । ‘विशेषगरि दाङको लमही क्षेत्र कृषिको पकेट क्षेत्र मानिन्छ, त्यसैमा यो कुरालाई केन्द्रबिन्दूमा राखेर कार्यक्रम ल्याउने सोंच बनेको छ’ केसीले भने ।
उनले हाल नीति तथा कार्यक्रममाथी जनप्रतिनिधिहरुसंग पालिकाले छलफलमा अगाडि बढाएको र असारको पहिलो हप्तासम्ममा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए । जिल्लाका अन्य स्थानीय गाउँपालिकाले पनि यसैलाई प्राथमिकतमा राखेर नीति तथा कार्यक्रमहरु बनाउने काम सुरु भएको जनाएका छन् ।