संक्रमितप्रति खेलवाडको व्यवहार नगर

कोरोना संक्रमण देखिएकाहरुलाई उपचार गर्नका लागि भनेर दाङमा प्रशस्त आइसोलेशन बेड तयार गरिएको जानकारी यो संकटको प्रारम्भताका नै गरियो । कोरोना विशेष अस्पताल नै निर्माण गरियो । अन्य अस्पताल र सेवाप्रदायक निकायहरुको सक्रियतामा जिल्लामा १६६ वटा आइसोलेशन बेडहरु तयार भएको प्रचार गरियो ।

तर, अहिले ती बेडहरु संक्रमितहरुका लागि प्रयोग हुन नसकेको र संक्रमितहरु क्वारेन्टाइनमै बस्नु परेको समाचारहरु सुन्न बाध्य हुन परेको छ । संक्रमितहरुका लागि भनेर बनाइएका ती आइसोलेशन बेडहरुको औचित्यमाथि अहिले प्रश्न चिह्न नै उब्जिएको छ । विभिन्न वहानाबाजी गरेर छुट्याइएका भनिएका बेडहरुमा विरामी राख्न नमान्ने कुरालाई गम्भीरताका साथ लिनु पर्दछ । यसतर्फ स्थानीय प्रशासन, स्थानीय सरकार र जनप्रतिनिधिहरुको ध्यान जान आवश्यक छ ।

मानवीय सेवालाई सबैभन्दा ठूलो सेवाको क्षेत्र मानिन्छ । अझ संकटको समयमा त यस्तो सेवाका लागि सबै तत्पर हुनुपर्ने हो । तर, किन यसरी विरामीका लागि भनेर छुट्याइएका बेडहरुमै विरामी राख्न आनाकानी भइरहेको छ ? यसको कारण पत्ता लगाई आवश्यक कार्वाही गर्न जरुरी छ ।

एकातर्फ संक्रमितको संख्या थपिँदै जाँदा पर्याप्त बेडको अभावमा घरमै आइसोलेशन बेड बनाएर बस्नुपर्ने रणनीति सरकारले बनाउँदै छ भने अर्कोतिर निर्मित बेडहरु खाली छन् र त्यहाँ संक्रमित राख्न नमानिरहेको अवस्था छ । यो बेलामा सरकारी तहबाट त्यस्ता निकायलाई तत्काल कारवाही गर्न पहल हुनुपर्ने हो । तर, यसतर्फ पनि गम्भीरतापूर्वकको अग्रसरता देखिएको छैन । आशा गरौँ छिट्टै त्यस्तो महशुस गर्न पाइने छ ।

तर, जुन संस्था र निकायले सुरुमा बेडको तयारी गरेको स्वघोष गरे, उनीहरुले नै अहिले संक्रमितलाई ती बेडमा राख्न आनाकानी गर्नु कुनै पनि हालतमा उपयुक्त कदम हुन सक्दैन । यो कुनै पनि वहानामा स्वीकार गर्न सकिने कुरा पनि होइन । बेडको हालको अवस्थितिका कारण यस्तो भनिएको भए पनि गलत हुन्छ । पूर्व घोषित बेडको दायित्व लिएर अन्यत्र पनि व्यवस्था गरी उपचार प्रदान गर्नु उनीहरुको धर्म हुन आउँछ ।

हरेक संस्था र व्यक्तिको संकटको समयमा नै असली अनुहार प्रदर्शित हुन्छ । यस्तो समयमा गरिएको यो व्यवहार राज्यको नोटिसमा रहनु पर्दछ र राज्यप्रदत्त सेवा सुविधामा उनीहरुको हकलाई कटौती गर्ने योजना बनाउनु पर्दछ । एउटा उदाहरण हेरौँ, घोराहीको कुइरेपानी क्वारेन्टाइनमा बसेका आमा–छोरीमध्ये छोरीलाई संक्रमण देखियो, आमालाई देखिएन । त्यस्तै अर्की आमालाई देखियो बच्चालाई देखिएन । उनीहरु सबै अझै त्यहीँ बसेका छन् ।

जिल्लाका आइसोलेशन बेड भएका अस्पतालहरुले पनि संक्रमितलाई उपचार गर्न आनाकानी गरेका कारण जोखिमका साथ संक्रमित र संक्रमण नदेखिएकाहरु सँगै बस्न वाध्य छन् । यो वाध्यताले संक्रमण अरुमा पनि फैलने खतरा देखिएको छ । यस्तो अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन । आइसोलेशनमा राख्दा उनीहरुले पाउने स्वास्थ्य सुविधा क्वारेण्टाइनमा भन्दा निश्चय नै फरक हुन्छ । संक्रमण नदेखिएका आफन्तलाई उनीहरुबाट जोगाउने व्यवस्था गर्न पनि सहज हुन्छ । तसर्थ, सुन्दै लाज लाग्ने व्यवहार कसैले पनि प्रदर्शन नगरौँ ।