स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार र कुटपिटप्रति मन्त्रालयको ध्यानाकर्षण
दाङ, २२ जेठ । पछिल्लो समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपिट र दुव्र्यवहारप्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रबक्ता डा. विकास देवकोटाले भने– ‘चिकित्सकलाई डेराबाट निकाल्ने, स्वास्थ्यकर्मी कुटपटगर्ने जस्ता घटनाहरुप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’
मन्त्रालयले ‘जेल विदआउट बेल’को मर्मअनुसारको व्यवस्था गरेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासम्बन्धी ऐन २०६६ मा संशोधनका लागि संसद अधिवेशनमा पेश गर्ने तयारीसमेत थालेको छ ।
कोरोना नियन्त्रण र रोकमथामका खटिएका १४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको अवस्थामा मन्त्रालयले स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनपर्ने आवश्यकता समेत औंल्याएको छ ।
‘गृह मन्त्रालयलाई तीन दिनभित्र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने, दुव्र्यवहार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गर्ने निर्णय मन्त्रालयले गरेको छ’, देवकोटाले भने– ‘त्यसैगरी सिसी क्यामेरा फुटाइएका घटनाहरुका सन्दर्भमा पनि ती प्रमाणहरु सुरक्षित राख्ने र तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयमा आग्रह गरेका छौं ।’
स्वास्थ्यकर्मीमाथिको कुटपिट र दुव्र्यवहारको अध्ययन गरेर ७ दिनभित्र प्रतिवेदन तयार गर्ने र त्यो प्रतिवेदन अनुसार काम गर्ने मनस्थितिमा मन्त्रालय पुगेको छ । ‘यसमा मन्त्रीज्यूले पनि प्रतिबद्धता जनाउनुभएको छ’ प्रबक्ता डा. देवकोटाले भने ।
उनले स्वास्थ्यकर्मीको मनोबल बढाउन र विधिको शासनलाई मान्न मन्त्राललयको तर्फबाट सबैमा आग्रहसमेत गरेका छन् । मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि गरिसकेको छ । त्यसका लागि मन्त्रालयको सचिवलाई आधिकारिक व्यक्तिका रुपमा तोक्ने काम पनि मन्त्रालयले गरेको छ ।
कोरोनाका संक्रमित संख्या २६३४, मृतकको संख्या १० पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिने संख्यामा दाङका १५ जनासमेत रहेका छन् ।
प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कूल संख्या २ सय ९० पुगेको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ८४ हजार १ सय ३४ परीक्षणहरु गरिएका छन् ।
त्यसैगरी संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्वारेन्टाइनमा रहेका थिए ।
श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा १, बाँकेमा १, गुल्मीमा १, बाराका १, ललितपुरका १, अर्घाखाँचीका १, दैलेखका १, बाजुराका १ र दोलखाको १ गरी ९ जनाको मृत्यु भएको थियो ।