दाङ, २१ जेठ । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले संविधान संशोधन विधेयक दर्ता गरेको छ । देशले संघीयता धान्न नसक्ने भएकाले संघ र स्थानीय तह कायम हुनेगरी संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।
सरकारले नयाँ नक्सासहितको निशान छाप संविधानको अनुसूचिमा राख्न संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संविधानका अन्य प्रावधानहरुमा पनि संशोधन हुनुपर्ने आवाज उठिरहेको समयमा जनमोर्चाले पनि आफ्नो बिगतदेखिको एजेण्डाका आधारमा संशोधन प्रस्ताव दर्ता गराएको हो ।
अन्य दलका तर्फबाट पनि संशोधनको प्रस्ताव दर्ता गर्ने क्रम चलिरहेको छ । राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन विधेयक दर्ता गरेको छ ।
जनमोर्चाको संशोधनमा संघीयता खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनले बताए । नेपाल पछाडि पर्नुको कारण एकात्मक शासन प्रणाली नभएको उल्लेख गर्दै उनले संघीय प्रणालीले समस्या समाधान नहुने बताए । आफूहरुले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको उनले बताए ।