दशवटै स्थानीय तहमा ५० बेडको आइसोलेसन केन्द्र बनाउने निर्णय

दाङ, २१ जेठ । दाङका दशवटै स्थानीय तहमा कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेसन केन्द्र बनाइने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति दाङको बुधवार घोराहीमा बसेको बैठकले जिल्लाका दशवटै स्थानीय तहहरुमा ५० बेड क्षमता रहेको आइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ । कोरोना संक्रमित बढेसँगै उपचार गर्न समस्या हुन थालेपछि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरुको उपचार गर्ने उद्देश्यले सम्बन्धित गाउँपालिकामै ५० बेडको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमित देखिएका बिरामीहरुलाई सोही केन्द्रमा राखेर उपचार गरिने भएको छ । सम्बन्धित पालिकाहरुमा रहेका स्वास्थ्यकर्मीहरुले केन्द्रमा उपचारको व्यवस्था मिलाउनेसमेत समितिले निर्णय गरेको छ । त्यस्तै केन्द्रमा आउने बिरामीहरुको खाना र बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहले ब्यर्होने समेत निर्णय गरेको छ । समितिले केन्द्रमा एउटा एम्वुलेन्स अनिवार्यरुपमा राख्ने र उपचारत बिरामी थप समस्या देखिए बेलझुण्डीमा रहेको कोरोना अस्पतालमा उपचारका लागि ल्याउने व्यवस्था मिलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।