संक्रमितको संख्या बढेको बढ्यै : स्वास्थ्य संकटकालको तयारी

दाङ, २१ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ भने मृतकको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्ड अनुसार ‘रेड जाने’मा पर्नेको संख्या पनि बढ्दै गएको छ । संक्रमण देशका ६४ जिल्लामा फैलिसकेको छ । संक्रमितहरुमध्ये २ सय ७८ जना निको भएर फर्केका छन् ।

यो अवस्थाको विश्लेषणसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने तयारी मन्त्रालयको रहेको छ । संक्रामक रोग ऐन २०२० को दफा २ मा ‘नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने’ व्यवस्था छ ।

मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषदले स्वीकृत गरेपछि जारी गर्ने जानकारी दिएका छन् ।

डा. लोहनीको अनुसार संक्रमणको रफ्तार बढ्दै जाँदा अस्पतालको बेड, क्वारेण्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो । ‘संक्रमणको रफ्तार बढ्दै गएपछि पहिलेभन्दा बढी सचेत हुनुपर्छ, सोही कारण यो निर्णय गरिएको हो’, उनले भने ।

स्वास्थ्य संकटकाल घोषणा गर्नको लागि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने गरि मापदण्ड बनाएको छ ।

दाङमा ५ जना थपिए संक्रमित
यसैगरी दाङमा बुधवार ५ जना कोरोना संक्रमित थपिएका छन् । बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाका ५ जनामा कोरोना संक्रमित थपिएका हुन् । योसँगै दाङमा संक्रमितको ५६ पुगेको छ । तीमध्ये ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको पछिल्लो स्वाब परीक्षणबाट बंगलाचुली गाउँपालिका–७ र ६ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु १७ वर्ष र २२ वर्षका पुरुषहरु रहेका छन् । उनीहरु सरस्वती मावि जवरकोट र सुधा मावि झेलनेटा क्वारेनटाइनमा बसेकाहरु हुन् ।

त्यसैगरेर राजपुर गाउँपालिकाका–५ र १ का ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वडा नं ५ का १९ वर्षीया १ महिला र वडा नं १ का १९ वर्षीया महिला र २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । उनीहरु सबौ राजपुर गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्दै आएका छन् । बुधवार कोरोना पुष्टि हुनेमा ३ जना महिला र २ जना पुरुष रहेका छन् ।

त्यसैगरेर प्यूठान जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका २ जनामा कोरोना संक्रमण देखिएको हो । प्यूठानको माण्डबी गाउँपालिका–१ का १२ वर्षीय र २ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी सल्यानको कपुरकोट गाउँपालिका–६ निवासी २९ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।