बालाराम खड्का
कोइलाबास, २१ जेठ । कुनै बेला सयौं व्यापारीहरुको भीडभाड, हजारौं नेपालीको नून खरिद गर्ने नजिकको नाका र नेपालको वीरगञ्जपछिको दोस्रो ठूलो भन्सारका रुपमा रहेको त्यो कोइलाबासको प्रतीक्षामा फेरि स्थानीयवासीहरु आशावादी छन् । त्यही क्षणको जस्तो व्यापारिक कारोवार हुने अधैर्य प्रतीक्षामा उनीहरु कोइलाबासलाई ब्यूँताउने आशामा छन् ।
खण्डहर बनेको कोइलावासमा फेरि चहल–पहल बढ्दै गएपछि उनीहरुमा यो आशा पलाएको हो । कोइलावासलाई पुनर्जीवित बनाउने प्रयासस्वरुप सडकदेखि अन्य विकासका कामहरु पनि शुरु भएका छन् । त्यहाँसम्म पुग्ने सडक कालोपेत्रका साथै पुरानो कोइलावास बजारमा अन्य विकास निर्माणका कामहरु पनि तीव्र गतिमा अगाडि बढेका छन् ।
कुनै समयमा नेपालको दोस्रो नाकाको रुपमा रहेको दाङको कोइलाबास नाका केही बर्षदेखि खण्डहर बनेको थियो । दाङ र भारतको सीमानामा पर्ने गढवा–८ मा पर्ने कोइलावास कुनै समयमा व्यापार व्यवसायका साथै राजश्व संकलनमा पनि दोस्रो स्थानमा थियो । पूर्व–पश्चिम राजमार्गको लमही बजारबाट ३३ किमि दूरीमा मात्र रहेको छ ।
त्योसँगै देशकै दोस्रो धार्मिक आस्थाको रुपमामा रामजानकी मन्दिर पनि त्यही रहेको छ । साविक राप्ती अञ्चलको मूलद्वारको रुपमा रहेको कोइलावास नाका विस्तारै २०४४ सालदेखि सुक्दै गएको जानकारहरु बताउँछन् । तर पछिल्लो समयमा हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणसँगै कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ । सडक खण्डमा पर्ने सबै खोलाहरुमा पक्की पुल निर्माण सम्पन्न भइसकेका छन् ।
लामो समयदेखिको मुआब्जा विवाद मिलेसँगै सडक कालोपत्रेको काम पनि करिब–करिब अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । सडक सुविधासँगै अब त्यो पुरानो कोइलावास पुनर्जीवित बन्ने स्थानीयहरु बताउँछन् । महेन्द्र राजमार्ग निर्माणका साथै अन्य नाकाहरु सञ्चालनमा आएसँगै सो नाका सुक्दै गएको स्थानीय रेशमबहादुर खड्काले बताए । ‘हामीहरुले नूनदेखि सुन किन्ने नाका कोइलावास हो’, उनले भने ।
खड्काले साविक राप्तीसँगै अन्य पहाडी जिल्लाका मानिसहरु पनि त्यही नाका भएर आउने गरेको बताए । उनले सडकको सहजतासँगै अब कोइलावासले पुनर्जीवन पाउने बताए । त्यस्तै २०२८ सालदेखि आफू पनि कोइलावास नाकासँग परिचित भएको भन्दै पहिलेको कोइलावास अहिले हेर्दा खण्डहर बनेको स्थानीय कृष्णकुमार गिरीले बताए ।
‘पहिले २०२४ सालमा पनि कच्ची सडकसँगै यहाँ गाडीहरु सञ्चालन भएका थिए पहिले यस्तो सहजता थिएन’, उनले भने । गिरीले पहिले कोइलावास आउँदा बाटोको अवस्था त्यति राम्रो नभए पनि हाल भने सडक कालोपत्रेसँगै सहजता थपिएको बताए । त्यस्तै अर्का जानकार उमाकान्त पन्तले पनि खण्डहर कोइलावास पुरानै अवस्थामा आउने आशा व्यक्त गरे । ‘अहिले लमहीबाट एक घण्टामा कोइलाबास सहजै आउने अवस्था छ’, उनले भने ।
त्यसैगरी कोइलावससम्म आउने ३३ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेसँगै कोइलावासको विकासका लागि अन्य योजनाहरु पनि शुरु भएको वडाध्यक्ष सद्दाम सिद्धिकीले बताए । उनका अनुसार कोइलावाससम्म कालोपत्रे बाटो पुगेको र वडामा खानेपानी, आँखा उपचार केन्द्रको भवनसमेत निर्माण शुरु गरेको बताए । उनले कोइलावास पुरानो बजार क्षेत्रमा रहेका सडकको आरसिसी गर्नुका साथै यहाँ ३५ लाख वडाको बजेटबाट भ्यूटावर र फनपार्क निर्माणदेखि विभिन्न नाकामा विद्युत पु¥याउने प्रयास भएको बताए ।
यस आर्थिक बर्षमा भारतीय तथा आन्तरिक पर्यटकका लागि ३५ लाखमा भ्यूटावर निर्माण गर्ने र आँखा उपचार केन्द्रका लागि प्रदेश सरकारबाट प्राप्त करिब ३० लाख लागतमा आँखा उपचार केन्द्रको भवन निर्माण गरेको बताए । ‘कोइलावासलाई पुनर्जीवित बनाउनेमा हामीहरु लागेका छौं, त्यसका लागि विकासका कामहरु भइरहेका छन्’, अध्यक्ष सिद्धिकीले भने ।
हाल सो क्षेत्रमा बसाई–सराई गरेर अन्यत्र गएकाहरुले पनि आफ्नै ठाउँमा फर्केर घर निर्माण गरिरहेका छन् । सिद्धिकीले लकडाउन हुनुभन्दा पहिले सयौं भारतीयहरु नेपालको चुरेपर्वत र त्यहाँ रहेको झुलुङ्गे पुल हेर्न आउने गरेको बताए । ‘यहाँ पार्क र भ्यूटावर निर्माण गर्न सकियो भनेमात्र धेरै पर्यटक आउने हाम्रो आँकलन छ, त्यसमा पनि आँखा उपचार केन्द्र सञ्चालन आयो भने मित्र राष्ट्रका पनि धेरै सेवा लिन आउनुहुन्छ’, उनले भने । कोइलावास पुनर्जीवित हुने आशामा धेरै व्यक्तिहरुले त्यहाँ जग्गासमेत किनिसकेका छन् ।
दाङबाट यातायातको सुगमतासँगै कोइलाबास भारतको तुलसीपुरलगायतका बजारहरु नजिक पर्ने गर्दछ । यसरी सडक तथा अन्य विकासले तीव्रता लिएसँगै कोइलावास पुरानै अवस्थामा फर्कन सक्ने आशा सबैले गरेका छन् ।