महाव्याधीको फैलावट थेग्नै मुस्किल

भूवन पोख्रेल

समयको रफ्तारसँगै व्यस्त हुने सडक सुनसान छन् । गाडी ग्यारेजमा थन्किएका छन् । सहर शान्त र ‘एकांकी’ छ । बजारका सटरहरु बन्द छन् । चहलपहल शून्य छ । व्यस्ततापूर्ण मानव जीवनलाई विश्रान्ती मिलेको छ, तर म वेचैन छ । जीवन सन्त्रास र भयमा बाँचेको छ । अनिश्चित भविष्यको चिन्ताभन्दा वर्तमान जीवनको चिन्तनमा बाच्न सक्नुपर्ने भएको छ ।

जीवनका रंगहरु फिका–फिका लाग्ने भइसके । भेटघाट, जमघट, भ्रमण, पार्टी, पिक्निक र सामाजिक अन्तक्र्रियामा रमाउने मानव मनहरु अहिले बन्द कोठामा बन्दी जीवन बिताउन अभ्यस्त हुँदै छन् । यदि सामाजिक सञ्चाल नहुँदोहो त मानवले कसरी अन्तक्र्रिया गर्दथ्यो त्यही सामाजिक सञ्जालको भरमा घण्टौँ कोठाभित्र बस्नसकेको हो ।

अब कोरोना संक्रमणको महामारीको परिणाम स्वरुप पहिलेका दिनहरुमाझैँ मान्छे–मान्छे नजिक हुने छैनन्, मानवीय वयवहारमा निकै परिवर्तन हुने छ । सँगै बसेर भलाकुसारी गर्ने, एउटै टेबलमा धेरैजना बसेर चिया पिउने, जमघट गर्ने, एउटाले सुतीृ मिचेको धेरैले बाँडेर खाने, सँगै ड्रिङ्क्स गर्ने, पार्टी, पिक्निक, भ्रमणजस्ता क्रियाकलाप अब बन्द हुने छन् । अंकमाल गर्ने, हात मिलाउने, गला मिलाउने, चुम्बन गर्ने आदि पश्चिमा संस्कारको अन्त्य हुने छ र टाढैबाट नमस्कारमा अभिवादन सीमित हुने छ ।

संक्रामक रोगकै कारण मानवीय व्यवहार, खानपान, रहनसहन, बसउठ र जीवनयापनमा निकै परिवर्तन हुने छ । संकटले विनाश मात्र होइन विकास पनि हुन्छ । समयले सबैलाई घुँडा टेकाउँदो रहेछ, समय जति बलवान कोही छैन । हिजो यो दिन आउला घरभित्र थुनिएर बस्ने वाध्यता झेल्नुपर्ला भन्ने कसैले कल्पना गरेको थिएन । समय व्यवस्थापनमा जहिले तनाव झेल्नुपर्ने मानिस अहिले फुर्सदिलो बनेको छ । दुई महिनाभन्दा बढी लामो लकडाउनका बीचमा समय मानिसलाई पट्यारलाग्दो भएको छ, समय काछ्न निकै गाह्रो भएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोनाको जोखिमबाट अब नेपाल अछूतो रहन सक्ने भएन । नेपालमा महाव्याधीको फैलावट दिन दुई गुणा र रात चौगुणाका दरले फैलिएको छ । महामारी बढ्दै जाँदा सरकारलाई जनताको ज्यान जोगाउन चुनौती थपिएको छ । महामारी घण्टी बजाएर आउने होइन तर नेपालको सन्दर्भमा कोरोनालाई हेर्ने हो भने पूर्व तयारी र सावधानीका लागि प्रशस्त समय थियो ।

छिमेकी मुलुक चीनमा पुस महिनामा कोरोना देखाएर महामारीको रुप लिँदै गर्दा नेपाल सचेत भई विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई नेपाल फर्किने व्यवस्था मिलाउन सकेको भए अहिले छिमेकी मुलुकबाट फर्किने यति ठूलो भीड र कोरोनाको भयावह स्थिति सामना सरकारले गर्नुपर्ने थिएन । जब भारतमा संक्रमको गति कम थियो त्यो बेला नेपालको सीमानाकामा कडाई गरी लकडाउन ग¥यो । नागरिक जुन देशमा छन् यही देशमा सुरक्षित बस्नुपर्ने नियम बनायो । नेपाल फर्कन चाहने नेपाली नागरिक स्वदेश छिर्न सकेनन् ।

अहिले महामारीले उग्र रुप लिइसकेपछि भारतबाट रोजगारी गुमाएर फर्कनेहरुको लर्को लागेको छ, सीमा नाकामा । संक्रमित भइसकेका नेपाली नागरिकलाई दिनहुँ हजारौँको संख्यामा नेपाल भिœयाइँदै छ, तर तिनलाई राख्ने क्वारेन्टाइन व्यवस्थित र मापदण्ड अनुसारका छैनन् । त्यही क्वारेन्टाइनमा मृत्यु भइरहेको छ र आत्महत्या गरिरहेका छन् ।

संक्रमणको लक्षण देखिएका लागि छुट्टै आइसोलेशन बेडको व्यवस्था छैन । व्यक्ति क्वारेन्टाइन भित्रै संक्रमित हुने सम्भावना बढेको छ । अहिले भारत वाहेक तेस्रो मुलुकबाट पनि नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारीमा सरकार जुटेको छ, तर देशभित्र उनीहरुलाई कसरी सरक्षित राख्ने भन्ने प्रबन्ध मिलाउन भने सरकार अझै चुकिरहेको छ ।

सरकारसँग पर्याप्त तयारी गर्ने समय हुँदाहुँदै पनि संक्रमण रोकथाम र नियन्त्रणका लागि खासै कदम चाल्न नसकेका कारण अहिलेको अवस्था झेल्नुपरेको हो । गत चैत्र ११ गतेदेखि भएको लकडाउन अहिले जेठ ३२ सम्म निरन्तर छ । यही लकडाउनकै बीचमा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । जनताले सरकारले भनेको मानेर घरभित्र बसिरहँदा सरकारले यसबीचमा व्यापक तयारी गरिसक्नुपथ्र्यो ।

लकडाउनले दैनिक जीवन अस्तव्यस्त बनाएको छ । कोरोना नियन्त्रणका लागि सरकारले अपनाएको एउटा उपाय लकडाउन नै हो तर अन्य तयारी शून्य छ । लकडाउनलाई लिएर जनताले आलोचना गर्न थालिसके । लकडाउन अचुक औषधि होइन महामारीलाई केही पर धकेल्ने र संक्रमणको फैलावट घटाउने, अस्पतालको क्षमता बढाउने अवसरको रुपमा सरकारले लिनुपर्ने थियो, तर लकडाउनको बीचमै संक्रमण फैलिनुलाई सरकारको तयारी नपुगेको देखिन्छ ।

लकडाउन हट्ने एकीन छैन, पहुँच हुनेहरु पास लिएर गाडीमा हुइँकिइरहेका छन्, हुने खानवर्गको तुलनामा हुँदा खानेवर्गमा लकडाउनको पूर्ण असर देखिएको छ । श्रमिक, ज्यालामज्दुरी गरेर खाने निम्नवर्गको दैनिकी निकै कष्टकर देखिएको छ । घण्टौँ भोकभोकै पैदल यात्रा गर्दा बाटोमै विरामी पर्ने र मृत्यु हुनेसम्मका घटना देखिएको छ ।

कोरोनाको कहर अलि लामो समयसम्म लम्बियो भने के गर्ने भन्ने पूर्ण तयारीमा सरकार चुकेको छ । सरकारले लकडाउनको स्वरुपमा परिवर्तन गर्न नसक्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित बन्न पुगेको छ । सरकारले स्वास्थ्य क्षेत्रको सक्षमता बढाएर चेकजाँच तीव्रता ल्याउन नसक्ने हो भने महामारी नियन्त्रणमा ल्याउन हम्मे–हम्मे पर्ने छ ।

परीक्षण किट, जनशक्ति अभाव हुँदा नमुना परीक्षण रोकिएको छ भने संकलित भएका हजारौँ नमुना परीक्षण भइृ नतिजा चाँडै आउन सकेका छैनन् । सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन । हजारौँ, लाखौँको संख्यामा भारतबाट नेपाली स्वदेश भित्रिएका छन्, आउने क्रम अझै रोकिएको छैन, तर सरकारले क्वारेन्टाइनको क्षमता बढाउने, चेकजाँचको दायरा बढाउनेतर्फ ध्यान दिएको छैन । १४/१५ दिनसम्म क्वारेन्टाइनमा बसिसक्दा पनि उनीहरुको जाँच हुन सकेको छैन ।

करोडौँ रकम कोरोना नियन्त्रणका लागि छुट्याइएको छ तर पनि जाँचमा किन ढिलाई हुन्छ ? दिनहु दुई सय जति नयाँ विरामी थपिइरहँदा पनि सरकारको थप स्वास्थ्य सामग्री, परीक्षण किट आदिको बढी संख्यामा व्यवस्थापन गर्न नसक्नु सरकारका लागि चुनौती हो । सय जना क्षमता भएको क्वारेन्टाइनमा तीन÷चार सय जना कोचेर राख्नुपर्ने वाध्यताका कारण कोरोना फैलिने बढीभन्दा बढी सम्भावना रहन्छ । परीक्षणका लागि आवश्यक संख्यामा किट अभाव, स्वास्थ्यकर्मी अभाव, स्वास्थ्य सामग्री अभाव हुनुलाई सरकारको अदूरदर्शी निर्णय ठान्नु पर्छ । सीमानाकाबाट बिना चेकजाँच मान्छेहरुदलाई स्थानीय तहमा पठाइएको छ । स्थानीय तहका स्कूल, कलेज भरिभराउ छन् ।

स्कूल कलेजलाई क्वारेन्टाइन बनाइएको छ । खानेपानी, शौचालय, सरसफाई, खानपानको राम्रो प्रबन्ध हुन नसक्दा स्थिति भयावह र नियन्त्रणभन्दा बाहिर जाने सम्भावना छ । क्वारेन्टाइन अस्तव्यस्त छन्, व्यवस्थित हुन सकेका छैनन् । लकडाउन सरकारले जति थपे पनि यसमा कडाई हुन नसक्दा सोचेझैँ परिणाम हासिल हुनसकेको छैन । अहिले जुन गतिमा परीक्षण भएको छ त्यो एक–डेढ महिना अघि भइसक्नुपथ्र्यो ।

परीक्षण व्यवस्थापन अस्तव्यस्त भएको छ । हजारौँ नमुना आएका छन्, तर तुरुन्त परीक्षण हुन सकेका छैनन् । नमुना संकलन भएको ५/७ दिनपछि मात्र रिपोर्ट आएका छन् । मान्छेको मृत्यु भइसकेपछि मात्र कोरोना प्रमाणित भएको रिपोर्ट आउनुलाई नेपालमा विडम्बना ठान्नुपर्छ । यस किसिमको ढिलो परिणाम आउँदा संक्रमणको गति तीब्र ढङ्गले बढिरहेको सहजै अनुमान गर्न सकिन्छ ।

यसरी परीक्षण व्यापक रुपमा नबढ्नुको परिणाम स्वरुप संक्रमणको फैलावट बढिरहेको छ । सरकारी क्षमता नभएको हो कि, जनशक्ति नभएको हो कि, सामग्री आयात गर्न नसकेको हो कि, जवाफदेही नभएको हो कि सरकारका सामू प्रश्न चिह्न लागेको छ । संक्रामक रोग नियन्त्रणका लागि पूर्व तयारी नपुग्नु, परीक्षणका बारेमा गृहकार्य नहुनु, नेपालमा भएका जनशक्ति परिचालन राम्रोसँग गर्न नसक्नु सरकारका असक्षमता हुन् ।

नेपाल जस्ता मुलुकको कन्टयाक्ट ट्रेसिङको संख्या बढाएर महामारी नियन्त्रणमा ल्याइसके । नेपालमा भने मान्छे कहाँबाट कति आए रेकर्ड छैन । कन्ट्याक्ट ट्रेसिङमा धेरै मान्छे खटाउन सकेको छैन । मान्छे भेडाबाख्राझैँ क्वारेन्टाइनमा हुलिनुले महामारी झनै फैलिने सम्भावना बढेको छ ।

उच्च सुरक्ष सतर्कता अपनाएर अब अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने छ । त्यसका लागि स्वास्थ्य सतर्कता कायम राखेर व्यवसाय खोल्ने हो भने गरिखाने श्रमजीविको समस्या धेरै हदसम्म समाधान हुने थियो । सामाजिक दूरी कायम राख्दै उद्योग, व्यापार, व्यवसाय खोल्न सरकारले अनुमति दिनुपर्छ । बन्दाबन्दी थप्दै मात्र जाने र अन्य वैकल्पिक उपाय नअपनाउने हो भने श्रमिकवर्गले दुःख पाउँछन् । मान्छेलाई घरभित्र थुनेर राखेर कति दिन समस्या समाधान गर्न सकिन्छ ? यो दीर्घकालीन समस्या समाधान नभई आपतकालीन उपाय मात्र हो ।

सरकारले व्यापक तयारी गरेर मात्र लकडाउन खोलनुपर्छ । यही लकडाउनका बीचमै अन्य रोगी अस्पताल पुग्न नसकी मृत्यु वरण गर्न वाध्य छन् । अस्पताल पुगेका प्रसुती तथा दुर्घटनाका विरामी उपचार नपाई अलपत्र छन् । अस्पतालहरु कोरोनाका विरामी हुन कि भन्दै अन्य विरामी चेकजाँच गर्न सशंकित छन् । यसरी थपिँदै गरेका संक्रमितलाई सम्हाल्ने कसरी ? सरकारका लागि चुनौती थपिइरहेको छ । निजी अस्पताललाई महामारीको जटिल संक्रमणकालीन अवस्थामा पनि परिचालन गर्न नसक्नु सरकारी संयन्त्रको असक्षमता ठान्नु पर्छ ।