सुप्रिया मां
मानिसले जीवनमा धेरै प्रकारका सुनौला सपनाहरु देखेको हुन्छ । जस्तै ‘म जीवनमा यस्तो व्यक्ति बन्छु, यस्तो सफलता प्राप्त गर्छु’ आदि । आफूमा रहेका यस्ता सपनाहरु पूरा गर्न मानिस जीवनभर प्रयत्नशील रहन्छ । तर यस्ता सपनाहरु पूरा नहुँदै घेरै किसिमका समस्याहरु र चुनौतीहरु आई पर्दछन् ।
समस्या र चुनौतीहरु नहुने हो भने सबैले देखेका सपनाहरु पूरा हुने थिए र मानिसले निराश, उदासीन र पीडाको अवस्था सामना गर्नु पर्दैनथ्यो । तर जीवनमा त्यस्तो हुँदैन, कुनै न कुनै प्रकारको समस्या आई नै रहन्छ । जीवनमा आइपरेका समस्याहरुबाट कसरी माथि उठ्ने, जीवनलाई सरल र सहज कसरी बनाउने, सफलतातिर कसरी अगाडि बढ्ने, आफूभित्र रहेका सपनाहरु कसरी पूरा गर्ने ? यो हाम्रो चिन्तनको विषय हो ।
विश्वका विभिन्न देशहरुका फरक–फरक वातावरणमा गरेर यो पृथ्वीमा अहिले सात अर्बभन्दा धेरै मानिसहरु छन् । कतिपय मानिसहरु भोका, गरिब र नाङ्गा छन् भने कतिपय मानिसहरु धनी, समृद्ध र नानाप्रकारका व्यञ्जनहरुबाट अघाएर वाक्क पनि भएका छन् ।
कतिपय मानिसहरु मानसिक दरिद्रताको बन्धनमा बाँधिएका छन् भने कतिपय मानिसहरु बौद्धिक रुपमा सबल र सक्षम पनि छन् । कसैलाई शारीरिक र मानसिक रोगले पिरोलेको छ भने यो संसारमा स्वस्थ रहने मानिसहरु पनि धेरै छन् । कोही मानिस परिवारमा खुशी भएर बसेका छन् भने कोही परिवारबाटै दुःखी पनि छन् । सबै मानिसहरुले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको समस्या र चुनौती झेलिरहेका छन् र विभिन्न परिस्थिति र अवस्थामा बाँचेका छन् ।
समस्या सबैको जीवनमा रहेको छ र हुन्छ पनि । कसैले त्यसलाई सहज रुपमा लिन्छन् र समस्याभन्दा माथि उठेर सुखी, खुशी र आनन्दको जीवन बाँचेका हुन्छन्, तर कसैले त्यसलाई गम्भीर रुपमा लिन्छन्, त्यसैमा अल्मलिन्छन्, निराशातिर जान्छन् र जीवनभरि दुःख, निराश र पीडामा बाँचेका हुन्छन् । खुशी, सुखी, सफल र आनन्दित जीवन चाहने मानिसले जीवनमा आइपर्ने सबै प्रकारका समस्या र चुनौतीहरुभन्दा माथि उठ्न जान्नु पर्दछ ।
हाम्रो जीवन साश्वत र अनन्त छ, अहिलेको यो जीवनमा मात्र सीमित छैन । एउटा जीवात्मा विभिन्न रुपहरु फेर्दै अनन्तकालदेखि यो संसारमा घुमिरहेको छ र धेरै जन्म र मृत्युको चक्रलाई वरण गरिरहेको छ । यो क्रममा हामीले विश्वका विभिन्न ठाउँमा जन्म लिएर विभिन्न परिस्थितिको सामना गर्दै धेरै प्रकारका जीवन बिताइसकेका पनि हुन सक्छौँ । हाम्रो जीवन पाहडबाट बग्ने एउटा सानो खोलाजस्तै हो । जसले विभिन्न सानातिना नालाहरुलाई आफूमा समेट्दै कहिले विस्तारै त कहिले वेगसँग बगेर महासागरमा गएर विलिन हुन्छ ।
मानिसले पनि जीवनमा धेरै प्रकारका अनुभवहरु लिएर निखारिँदै अन्त्यमा परमात्मा स्वरुप ईश्वरीय महासागरमा विलिन हुन्छ । अन्त्यमा हाम्रो आत्मा गएर परमत्मामा विलिन हुन्छ । सबै मानिसहरु अफ्ना छुट्टै यात्रामा, विभिन्न कुराहरु र परिस्थितिको अनुभव गर्दै, पाठ सिक्दै, निखारिँदै अगाडि बढिरहेका छन् । हामीले यो कुरालाई बुझ्न र मनन् गर्न आवश्यक छ ।
‘मैले पनि जीवनमा पाठ सिक्न विभिन्न परिस्थितिको सामना गर्दै छु । अनुभवहरुबाट निखारिँदै छु र एउटा परिपक्व र आत्मविश्वासले भरिएको मानिस बन्दै छु । म सही मार्गमा आफ्नो गन्तव्यतिर आगाडि बढिरहेको छु ।’ यसरी मनन् गर्ने र यस्तो सोच बनाउनेबित्तिकै आफूमा सकारात्मक ऊर्जा, शाहस, सहनशीलता र उत्साह बढेर आउँछ र समस्याहरु समस्या नरहेर विभिन्न कुराहरुको अनुभव गर्ने र जीवन शिक्षा लिने अवसर बन्दछ । यस्ता कुराहरुमा ध्यान दिने हो भने जीवनमा आइपर्ने समस्या र चुनौतीहरुबाट माथि उठ्न सकिन्छ ।
१. समस्या र चुनौतीहरुलाई सफलताको सिँढी बनाउने
समस्यालाई अवसरको रुपमा स्वीकार गर्ने हो भने त्यसबाट धेरै पाठ सिक्न सकिन्छ । चुनौतीलाई स्वीकार्नेबित्तिकै त्यसको राम्रो पक्षतिर हेर्ने मौका मिल्छ र त्यसभित्र रहेका राम्रा पक्षहरुलाई लिएर सफलताको सिँढी पनि बनाउन सकिन्छ । संसारमा सफल र समृद्ध भएका मानिसहरुको जीवनी हामीले हेर्ने हो भने उनीहरुको जीवनमा धेरै चुनौतीहरु आएका छन् र उनीहरुले त्यसलाई शाहसपूर्वक सामना गरेको पाइन्छ । जसले समस्या र चुनौतीहरुलाई सफलतातिर जाने सिँढी बनाउँछ त्यो व्यक्ति सफल, सुखी र खुशी हुँदै जान्छ र जो व्यक्ति चुनौतीहरु र समस्याहरु देखेर डराउँछ, निराश हुन्छ र टाउको समातेर बस्छ त्यो व्यक्ति असफल, निराश र दुःखी हुँदै जान्छ । मानिसले जतिधेरै समस्याहरुको सामना गर्दछ त्यति नै शाहसिलो, निडर र परिपक्व बन्दछ ।
२. चिन्तन गर्ने र अवसरहरु खोज्ने
चिन्तनले अवसरहरु खोज्दछ र चिन्ताले निराशातिर लैजान्छ । यस्तो अवस्थामा अब मैले के गर्न सक्छु र कसरी अगाडि बढ्न सक्छु भनेर त्यतातिर ध्यान दिने हो । जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि राम्रो र नराम्रो दुवै पक्ष रहेको हुन्छ । समस्या र चुनौतीहरु आउनेबित्तिकै चिन्ता होइन चिन्तन गर्ने हो र त्यसमा रहेको सकारात्मक पक्ष र अवसरहरु खोजेर अगाडि बढ्ने हो ।
३. पाठ सिक्ने अवसरको रुपमा लिने
समस्याहरु र चुनौतीहरु आउनेबित्तिकै मलाई यस्तो किन आइप¥यो भनेर चिन्ता गरेर बस्नुको सट्टा मलाई यो परिस्थितिले के पाठ सिकाउन आयो भनेर त्यतातिर सोच बनाउने हो भने त्यो परिस्थितिबाट धेरै कुरा सिकेर अगाडि बढ्न सकिन्छ ।
४. सकारात्मक सोच, धैर्य, शाहस र आँट बनाउने
सकारात्मक सोच, धैर्य र शाहस नभइकन जीवनमा केही पनि गर्न सकिँदैन । सकारात्मक सोच बनाउने, सफल भएका मानिसहरुको जीवनी पढ्ने र उनीहरुले चुनौतीहरुलाई कसरी सामना गरे त्यसलाई हेर्ने, सकरात्मक ऊर्जा दिने साथीहरुको सम्पर्कमा रहने, शाहस र आँट गरेर पहिला साना–साना कामहरुलाई लिएर केही गर्न सुरु गर्ने हो ।
५. आफूभित्र रहेको अनन्त शक्ति, ऊर्जा र ज्ञानको स्रोतसँग जोडिने
कठिन परिस्थितिमा सबैभन्दा बुद्धिमानी प्रयत्न भनेको आफूभित्र रहेको शक्तिको केन्द्रसँग जोडिने हो । हाम्रो शरीर बाहिर देखिने भौतिक शरीर मात्र होइन, धेरै तहहरुले बनेको छ । हाम्रो शरीरका सातवटा तहहरु छन् र हामीभित्र अस्तित्वको अनन्तसँग जोडिएको विशाल शरीर छ । भित्री अंश विश्व ब्रह्माण्डलाई चलाइरहेको स्वयम् परमात्मासँग जोडिएको छ । हामीभित्र असीमित शक्ति छ र हामीलाई मार्गदर्शन गर्ने दिव्य प्रकाशको स्रोत छ । हाम्रो जीवन अनन्तसँग जोडिएको एउटा महासागर हो । अनन्त ऊर्जा, दिव्यशक्ति, शाहस, प्रेम र आनन्दजस्ता ईश्वरीय गुणहरु हामीभित्रै छ । हामी आफूलाई सानो र सीमित ठानेका छौँ भने त्यो गलत हो, हामीले त्यो शक्तिलाई उजागर गरेकै छैनौँ । अब त्यो शक्तिलाई उजागर गर्न आवश्यक छ ।
धेरैजसो मानिसहरुलाई त्यो अनन्त शक्तिको अनुभव भएको हुँदैन । त्यसकारणले आफूलाई शक्तिहीन, सानो, मार्गदर्शन नपाएको र शाहस नभएको एउटा सानो प्राणीको रुपमा मानिरहेका हुन्छन् । हाम्रो स्वरुप त्यस्तो छैन, हामी यो विशाल अस्तित्वको एउटा अंश हौँ । योग, प्राणायाम र ध्यानले हामीलाई आफूभित्र रहेको त्यो दिव्यशक्ति र ज्ञानको प्रकाशसँग जोडिदन्छ र हामीभित्र रहेका सबै ईश्वरीय शक्तिहरु उजागर गरइदिन्छ । हामीलाई खुशी, उत्साह, उमङ्ग, शाहस, ऊर्जा र प्रेमजस्ता ईश्वरीय गुणहरुको अनुभव हुन्छ ।
अब बाहिरको विपरित परिस्थिति, समस्या र चुनौतीहरु सानो लाग्छ र आफूलाई अनन्तसँग जोडिएको एउटा ठूलो, शाहासिलो, ऊर्जावान् व्यक्ति लाग्छ । ऊर्जा नभएको र शक्तिहीन भएको अवस्थामा समस्या ठूलो लाग्छ । ऊर्जा र शक्तिले भरिनेबित्तिकै समस्याहरु सानो लाग्छ । आँखा बन्द गरेर भित्र शक्तिको केन्द्रमा प्रवेश गर्ने बित्तिकै सबै उदासीनता र नकारात्मक विचारहरु हराएर जान्छन् ।
ध्यान गर्ने मानिसलाई अब सबै कुराहरु राम्रो हुन्छ, मलाई अब पुग्छ, म गर्न सक्छु, म अब गर्छु जस्ता सकारात्मक विचार र भावनाहरु आउँछन् र जस्तोसुकै कठिन परिस्थिति पनि सानो र सहज लाग्छ । समस्या र चुनौतीहरु साना लहरहरु हुन् र हाम्रो जीवन विशाल महासागर हो । बारम्बार ध्यान गरेर आफ्नो शक्तिको केन्द्रमा जानुपर्छ र त्यसले हामीलाई चुनौतीहरुको सामना गर्न सहयोग गर्छ ।
६. अस्तित्वको मंगलमयप्रति श्रद्धा र विश्वास
भविष्य अनिश्चित छ । भोलि के हुन्छ त्यो हामीलाई थाहा छैन । तर अस्तित्व एउटा मंगलमय यात्रामा अगाडि बढिरहेको छ र यहाँ जे हुन्छ त्यो सबै हामीलाई राम्रो हुनका लागि हुन्छ । त्यसकारणले यहाँ जे हुन्छ त्यो सबै हाम्रा लागि मंगल वा राम्रो भएको हुन्छ । सबै प्रकारका समस्याहरु र परिस्थितिहरु हामीलाई राम्रो हुनका लागि नै भएको हुन्छ । भविष्यमा जे भए पनि मेरो लागि सबै मंगल र राम्रो हुने छ भनेर मनमा अस्तित्वप्रति श्रद्धा र विश्वास गर्ने हो । अस्तित्वप्रति गरिने श्रद्धा र विश्वासले हामीलाई धैर्य र मनमा एकप्रकारको शान्ति बनाउँछ र चुनौतीहरुको सामना गर्न सहयोग मिल्छ ।
जीवनमा आउने सबै प्रकारका समस्या र चुनौतीहरुलाई शाहस, धैर्य र सकरात्मक सोचविचारका साथ सामना गरेर त्यसबाट माथि उठ्न सकिन्छ । समस्या र चुनौतीहरुलाई जीवनमा पाठ सिक्ने अवसरको रुपमा लिन सकिन्छ र सफलतातिर जाने सिँढी पनि बनाउन सकिन्छ । आजलाई यत्ति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।