दाङ,२१ जेठ । कोरोना संक्रमितको उपचारका लागि बेलझुन्डीमा स्थापना भएको कोरोना विशेष अस्पतालमा बिरामी भरिएपछि १५ जना विरामीहरु क्वारेन्टाइनमा रहेका छन । उनीहरु मध्य घोराही उपमहानगरपालिकाका नौ जना र बंगलचुली गाउँपालिकाका ६ जना कोरोना संक्रमित विरामीहरु रहेका छन ।
दाङका बंगलाचुली र घोराही उपमहानगपालिकामा सोमबार र मंगलबार १७ जनामा कोरोना संक्रमण देखिएको थियो । १७ संक्रमित मध्य राप्ती गाउँपालिका दुई जना बिरामीलाई नेपालगंज लगिएको छ । सोमवार कोरोना संक्रमण देखिएका घोराहीका ९ जनालाई घोराही उपमहानगरपालिकाले वडा नं. ३ को कुइरेपानीमा रहेको क्वारेन्टाइन राखिएको छ ।
बंगलाचुली मंगलवार कोरोना संक्रमण देखिएका ६ जना संक्रमितलाई कमिरेचौरमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन । उनले अस्पतालको क्षमता बढाएर विरामीको उपचार गर्ने बेला केन्द्र सरकारले सहयोग नगर्ने र प्रदेश सरकार पन्छिन खोज्दा बिरामीहरु गाउँमै मर्ने अवस्था आएको बताए ।
एक सय बेड क्षमता रहेको कोरोना विशेष अस्पतालमा ५१ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । उनीहरु मध्य पोजिटिभ रिपोर्ट आएका बिरामीहरुलाई बेड परिवर्तन गर्न भन्दै बाँकी विरामी लिन अस्पतालले मानेको छैन । जसका कारण कोरोना संक्रमितहरुले उपचार पाउन सकेका छैनन् ।
बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा एक सय बेड को क्षमता भएपनि जनशक्ति र अन्य व्यवस्थापनका कारण थप बिरामी राख्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन ।
अहिले थप संक्रमितलाई उपचारका लागि आइसोलेसन अस्पताल बनाउने काम भैरहेको समेत बताए । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा १६ वटा अस्पतालहरुमा १६६ आइसोलेशन बेड तयार भएको जनाएको छ । तर ती अस्पतालहरुले कुनै पनि विरामीहरु लिन मानेका छैनन् ।