स्थायी शिक्षकको नियुक्ति हातपर्दा …

  •   
  •  

‘मेरो जीवनको सबैभन्दा खुशीको क्षण भनेको २०४५ सालमा मावि तहको शिक्षक सेवा आयोग उत्तीर्ण गरी आदर्श मावि लालमटियामा स्थायी शिक्षकको नियुक्ति प्राप्त गर्दाको हो । उत्तीर्ण लिष्टमा नाम देख्दा हर्षविभोर भई घरमा आएको पनि पत्तै भएन । अति नै खुशी भएँ । नियुक्ति लिएर लालमटिया गएँ ।’

घोराही–१८ महदेवा निवासी गोविन्द पौडेलको सबैभन्दा ठूलो खुशीको क्षण हो, यो । खुशीको यो क्षण स्मरण गर्दै गर्दा उनले आफ्नो अर्को खुशी पनि सम्झिहाले ।

‘जब म २०६३ सालमा शिक्षक सेवा आयोगबाट लिइएको मावि तहको बढुवा लिखित परीक्षामा उत्तीर्ण भई द्वितीय श्रेणीमा बढुवा भए, त्यो मेरो लागि दोस्रो महत्वपूर्ण खुशीको क्षण थियो । २०६२ सालमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा म बढुवामा पर्न सकेन । दुःख लागेको थियो तर २०६३ सालको सफलताले अति नै खुशी हुनपुगेँ । अरुले दिने बढुवाभन्दा आफ्नो क्षमताले आफूले लेखेर बढुवा हुनु ठूलो कुरो होजस्तो लाग्यो । कार्यसम्पादन मूल्याङ्कनका आधारहरुमा समायोचित सुधार र परिवर्तन गर्न आवश्यक छ भन्ने सुझाव पनि सम्बन्धित निकायलाई दिन चाहन्छु ।’

३६ वर्ष लामो शिक्षण पेशाबाट निवृत्त भएपछि अहिले घरमा फुर्सदको समयालाई सदुपयोग गरिरहेका पौडेलले आफ्नो जीवनका खुशीको क्षणलाई यसरी स्मरण गरे । २०७५ साल असार महिनाबाट सेवा निवृत्त भएपश्चात अहिले घरमै बसेका उनी यो क्षणलाई आरामको क्षण भन्छन् । ‘आराममा छु, घरको करेसाबारीमा तरकारी रोप्ने, गोडमेल गर्ने जस्ता सामान्य कामहरु घरको काममा सघाउने गर्छु । बाँकी समय साहित्यकारहरुका कीर्तिहरु पढ्छु, गीतसंगीत सुन्ने, साथीभाइ भेटेर गफगाफ गरेर बिताउने गर्छु ।’

उनले खुशीको क्षण स्मरण गर्दै बाल्यकालतर्फ पुगे ।

‘मेरो प्राथमिक तहको शिक्षा १ देखि ३ कक्षासम्म प्राथमिक विद्यालय हरिद्वारमा भएको हो । मेरा पिता श्री केशवराज उपाध्याय तत्कालीन समयमा पट्वारी नन्दराम उपाध्याय रेग्मीको घरमा बस्नुहुन्थ्यो, उहाँ मेरी आमाको फुपाजु हुनुहुन्छ । त्यहाँ पठनपाठनको राम्रो व्यवस्था देखेर पिताजीले मलाई पनि आफूसँगै राख्नुभएको थियो । त्यहाँ हामीलाई साँझविहान पढाउने छुट्टै व्यवस्था पनि थियो । शिक्षक अलि कडा हुँदा म भागेर घर आउने गर्थें । बरगद्दी र महदेवा नजिकै भएकाले यो सम्भव पनि थियो । भागेर सताएपछि मलाई पिताजीले माध्यमिक विद्यालय रझेनामा कक्षा ४ मा भर्ना गरिदिनुभयो । त्यहाँ पनि म कक्षा ४ मा फेल भएँ । त्यही कक्षामा अर्को वर्ष प्रथम भएँ । त्यो खुशी मनमा अझै ताजै छ । त्यो मेरो र मेरो परिवारको लागि सबैभन्दा खुशीको क्षण थियो ।’

२०३२ सलमा एसएलसी उत्तीर्ण गर्दा र २०३७ सालमा डिप्लोमा तह उत्तीर्ण गर्दाको खुशी पनि उनले बिर्सेनन् ।

लामो समयको शिक्षण पेशा पनि गोविन्द पौडेलको खुशी हो । उनी इछ्याएर यो पेशामा प्रवेश गरेका थिएनन् । लोकसेवा लडेर अरु जागिरतर्फ उनको अकर्षण थियो । तर परिस्थितिले उनलाई शिक्षक बनाइदियो । तर, यो पेशा उनको जीवनको खुशी र सन्तुष्टिको पेशा हुनपुग्यो ।

‘त्यतिबेला धेरै पढ्नुपर्छ, धेरै अङ्क ल्याउनुपर्छ अनि राम्रो अङ्क आएपछि भनेजस्तो जागिर पाइन्छ भन्ने थियो । मिहिनेत गरी पढियो, राम्रो अङ्क ल्याएर प्रमाणपत्र तह र स्नातक तह उत्तीर्ण गरियो । दुइ पटक लोकसेवा आयोगको परीक्षा पनि दिएको हो । पछिल्लोपटक पास भएँ तर अन्तर्वार्तामा असफल हुन पुगेँ । त्यसै वर्ष २०४५ सालमा शिक्षक सेवा आयोगमा मावि तहको सामाजिक अर्थशास्त्र विषयको विज्ञापन खुल्यो । त्यहाँ भने पास भएर २०४५ साल माघ १७ गते मावि तहको शिक्षकको नियुक्ति लिई आदर्श मावि लालमटिया दाङ देउखुरीमा स्थायी शिक्षक हुन पुगेँ । यो भन्दा अघि म २०३८ सालदेखि मावि रझेना दाङमा निमावि तहको अस्थायी शिक्षक भएर काम गरेको थिएँ । यसरी मावि रझेनामा ६ वर्ष, मावि लालमटियामा १३ वर्ष, जनता मावि गढवामा प्रधानाध्यापक भई १३ वर्ष, अन्त्यमा पद्मोदय पब्लिक भरतपुर दाङमा ५ वर्ष गरी ३७ वर्ष शिक्षण कार्यमा जीवन समर्पण गरियो । अध्ययनको क्रममा शिक्षक नै हुन्छु भन्ने कुनै उद्देश्य थिएन, तर पनि जीवनको लामो समयसम्म शिक्षक भएर बिताएँ ।’

उनी ०४५ सालमा लालमटियामा शिक्षकका रुपमा गएपछि आफ्नो स्वर्णकाल सुरु भएको बताउँछन् ।

‘मेरा साना १/२ कक्षामा पढ्ने दुई छोरा, ८ कक्षामा पढ्ने जेठा छोरा र कक्षा ६ मा पढ्ने छोरी लिएर त्यहाँ गएको १३ वर्ष उतै बिताएँ । त्यहाँ पठन–पाठन अति राम्रो थियो । लालमटिया मावि राम्रो पढाई हुने विद्यालयमा औँलामा गनिन्थ्यो । मेरा सबै छोराछोरीले त्यहाँबाट एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । लालमटियाको यो बसाई मेरो लागि स्वर्णकाल थियो ।’

सरकारी स्कूलमा पढेर त्यो बेला सबै छोराछोरी प्रथम श्रेणीमा हुनु पनि गोविन्दको जीवनको महत्वपूर्ण खुशी हो ।

पद्मोदय पब्लिक भरतपुर दाङबाट सेवा निवृत्त भएका उनले २०७२ सालको वार्षिकोत्सव कार्यक्रममा शिक्षाप्रेमी एवं समाजसेवी गजराज शर्माद्वारा स्थापित उत्कृष्ट शिक्षक पुरस्कार प्राप्त गरेका छन् ।

भर्खरै अर्को विद्यालयबाट आएको शिक्षक पुरस्कार पाउँछु होला भन्ने उनलाई आशा पनि थिएन ।

‘वार्षिकोत्सवमा मञ्चबाट मेरो नाम उत्कृष्ट शिक्षकको रुपमा बोलाइएको र पुरस्कार स्थापनाकर्ता गजराज शर्माज्यूको हातबाट उत्कृष्ट शिक्षकको पुरस्कार लिन पाउँदाको क्षण पनि मेरो लागि अविष्मरणीय खुशीको क्षण बन्यो । जीवन एउटा ईश्वरीय वरदान हो । यसलाई मैले चौथो नम्बरकै खुशी मानेको छु’–भावुक हुँदै उनले भने ।

उनी लेखक संघ दाङको उपाध्यक्ष छन् । त्यो भूमिका पनि उनका लागि एउटा खुशी हो ।

‘उपाध्यक्ष भए तापनि म आफूमा साहित्यिक प्रतिभा त्यस्तो केही देख्दिनँ । त्यस्तैमा एकपटक लेखक संघका अध्यक्षज्यूले मलाई अशोक लामिछानेज्यूद्वारा रचित अनुभूतिको आकाश कविता संग्रहको समीक्षा गर्न जिम्मा दिनुभयो । नाई भनौँ उपाध्यक्षले पनि कसरी हुन्न भन्नूँ ? संकोच लागिरहेको थियो । तैपनि जे पर्ला पर्ला भनी हुन्छ भने । र कविता संग्रहका सबै कविता बढेर मुख्य बुँदाहरुको टिपोट गरी तयार गरेँ । कार्यक्रममा विशिष्ट अग्र्रज साहित्यकारहरुको उपस्थिति थियो । भित्रभित्रै उकुसमुकुस लागिरहेको थियो । तैपनि मञ्चमा गएर जानेबुझेसम्म समीक्षा गरेँ । पछि सबैले अतिराम्रो भनी प्रशंसा गर्दा म निकै खुशी भएँ । यो पनि मेरो एउटा जीवनको खुसीको क्षण नै थियो’ उनी सम्झन्छन् ।

साहित्यमा रुचि भएकाले कहिलेकाहीँ गोविन्दको मनमा फुर्ने गर्छन् । ‘ती भावनालाई गीत वा कविताका माध्यमबाट उतार्ने गर्छु । मलाई छन्द कविता राम्रो लाग्छ । तर मलाई योसम्बन्धी ज्ञान छैन, तर पनि जानीनजानी छन्दमा कविता कोर्ने जमर्को गर्छु’–उनी भन्छन्, ‘गाउँघरमा पूजाआजा भयो भने म भजनकीर्तनमा व्यस्त रहन्छु ।’

शिक्षासेवी गोविन्द पौडेल हाल लेखक संघ दाङका उपाध्यक्ष हुन् ।

प्रस्तुती : सुलोचना गौतम