सदैव राजनीति, राष्ट्रियता र आर्थिक विकास कहाँ छ ?

रोमनप्रसाद पुलामी

राजनीतिक लडाईंले मात्र देशको विकास हुन सम्भव रहेनछ । यसको ताजा उदाहरण हो, नेपाल । नेपाली नेतागणहरुले राजनीतिक लडाईंको मैदानमा मात्र नभएर अब राष्ट्रियता र आर्थिक विकासको लडाईको मैदानमा होमिनु बाहेकको अरु विकल्पहरु खोज्नु भनेको नेपाली जनताको भविष्यमाथि खेलवाड हुनसक्छ ।

देशमा धेरै पटक रानीतिक मैदानहरुमा लडाईंहरु भए र राजनीतिक मैदानका लडाईंमा नेपाली जनताले नेताहरुलाई सदैव साथ दिएको कुरा सबैमा अवगत नै छ । त्यस बखतका राजनीतिक लडाईंका परिणामहरु आज हामी सबैले देखिरहेका र भोगिरहेका छौँ पनि । मुख्य गरी २००७ सालको १०४ वर्षीय जहानिया राणा शासन विरुद्धको आन्दोलन, २०४६ सालमा निरंकुश शासन विरुद्धको आन्दोलन र २०६२/०६३ को विशाल जनआन्दोलन गरी मुख्य तीन राजनीतिक मैदानमा नेपाली लडिसकसकेको अवस्था हो भने यी वाहेकका साना राजनीतिक मैदानका लडाईंहरु पनि नेपालीले भोगिसकेका छन् ।

विश्वका धेरै देशहरुमा राजनीतिक लडाईंहरु नभएका होइनन्, तर पनि ती देशहरु अहिले विश्वका विकसित देशको रुपमा समेत गनिन्छन् ।

आजको विश्वमानचित्रमा भूपरिवेष्ठित देश हुँदाहुँदै पनि आर्थिक, सामाजिक, राष्ट्रियता र विकासको क्षेत्रमा उच्च स्थानमा छन् । स्वीजरल्याण्ड र उजवेकिस्तान । यसै सन्दर्भमा नेपाललाई हेर्ने हो भने नेपाल धेरै तल्लो अवस्थामा रहेको देखिन्छ । यद्यपि नेपालसँग विकास गर्ने प्रचुर सम्भावना भएको पाइन्छ ।

किनकि नेपाल आकारमा सानो देश, काम गर्नसक्ने धेरै जनशक्ति (working age Population) भएको देश, जलस्रोतमा विश्वको दोस्रो ठूलो देश, प्रशस्त मात्रामा खेतीयोग्य भूमि भएको देश, प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश, गौतम बुद्ध र सगरमाथाको देश र विश्वमा एक यस्तो देश जो सधैँ स्वतन्त्र र कसैको उपनिवेश नभएको देश हुँदाहुँदै पनि विकास र राष्ट्रियताको सवालमा भने माथि उठ्नसकेको अवस्था भने छैन ।

नेपाललाई आजसम्ममा धेरै राजनीतिक लडाईंका मैदानहरु बनाइए जसको कारण धेरै प्रकारका राजनीतिक परिवर्तनका परिणामहरु नेपालीले भोग्नुप¥यो । जुन विश्वका कमै देशले भोगेका होलान् भन्दा अत्तियुक्ति नहोला । नेपालले सदैव राजनीतिक लडाईंमा होमिरहँदा छिमेकी देशहरु र अन्य देशहरु भने आर्थिक र राष्ट्रियताको विकासको लागि मैदानमा लडिरहेका थिए र ठूला–ठूला आर्थिक र राजनीतिक उचाईहरु चुम्नमा व्यस्त थिए । त्यसैको सन्दर्भमा होला नेपाललाई कसैले ‘नेपाल दुई ठूला ढुङ्गाबीचको तरुल’ भने ।

हामीले सोच्नैपर्ने बेला आएको छ, नेपाल नामको यस तरुललाई कतै हामीले मलजल गर्न त बिर्सेनौँ ? त्यसको फलस्वरुप आजको दिन त आएको होइन, यस विषयमा नेतागणहरुको ध्यान जान पनि अतिआवश्यक भएको पाउन सकिन्छ ।

नेतागणहरुलाई स्मरण रहोस् आम नेपालीले विभिन्न समयमा विभिन्न उपलब्धि पाउनको लागि नेतागणहरुलाई साथ दिँदै नेपाली जनता पनि धेरै लडाईका मैदानमा होमिएका हुन् र भविष्यमा पनि आवश्यक परेमा पुनः होमिन अवश्य पनि तयार रहनेछन् । यद्यपि यसको लागि नेपाली नेतागणहरुले सदैवजस्तै गरी राजनीतिक लडाईंमा मात्र होइन राष्ट्रहित, राष्ट्रियता र नेपालको आर्थिक विकासको लडाईंको नयाँ मैदानकोे लागि ध्यान दिनु जरुरी हुन पनि सक्दछ ।

नेपाली नेताहरुको राष्ट्रियता र नेपालको आर्थिक विकासमा ध्यान नदिएर केवल राजनीतिक लडाई र विषयमा मात्र ध्यान दिनाको परिणाम पनि हुन सक्दछ । आज भारत र चीनले विभिन्न समयमा फरक–फरक तरिकाले नेपालमाथि विभेद गरिरहेका छन् । नेपाली भूमि अतिक्रमण गर्नेदेखि लिएर नेपालीलाई गरिने अमानवीय व्यवहार र यसको एउटा ताजा परिणाम पनि हुन सक्दछ ।

भारतले वि.सं. २०७२ साल असोज महिनामा नेपालमाथि लगाएको नाकाबन्दी । उक्त नाकाबन्दी नेपाली नेतागणहरुले त भुलिसक्नु पनि भयो होला । तर आम नेपाली जनताले भने अवश्य नै त्यसलाई भुलेका छन् जस्तो लाग्दैन ।

किनकि त्यसैको सम्झनाले पनि हुनसक्छ, आज भारतले नेपाली भूमि मिच्दा केही आवाजहरु गुञ्जिन थालिसकेका छन् तर एक पटक राजनीतिक स्वार्थका लागि नाकाबन्दी गर्ने भारतले अहिलेको चर्चामा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमानामा भइरहेको गतिविधि, उसकै शब्दमा ‘भारतीय भुमिलाई नेपालले आफ्नो नयाँ नक्सामा समावेश गर्नु गलत रहेको भनि भनिरहँदा’ र नेपालको भनाईमा ‘हाम्रो पुर्खाहरुले लडेर प्राप्त गरको उक्त क्षेत्रलाई भारतले आप्नो नक्सामा समावेश गरी, सैनिक क्याम्पहरु राखी नयाँ बाटो समेत बनाउनु भनेको अमानवीय र अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरको भनिरहँदा’ के भारतले पुनः नेपालमाथि नाकाबन्दीको अवस्था दोहो¥याउने त होइन ?

यदि नाकाबन्दी गरिहाल्यो भने नेपाल कुन बाटोबाट र कुन तरिकाले अगाडि बढ्न सकिन्छ भनेर त्यस विषयको औषधि आज र अहिल्यैबाट बनाउनसकेमा अतिउत्तम हुनेछ अन्यथा ‘जब प¥यो राति तब बूढी ताती’ भन्ने उखान मात्र प्रयोगमा नआउला भन्न सकिन्न । अर्को कुरा के भने अहिले विश्वमा कोरोनाको जोखिममा परेका नेपाली नेपाल ल्याउन नसक्नुको मुख्य कारण हामीसँग केवल ४/५ वटा मात्र हवाइजहाज छन् भनेको सुनिरहँदा र विदेशमा रहेका नेपालीलाई पनि यसैको कारणले गर्दा छिटोभन्दा छिटो ल्याउन नसक्नुको कारण पनि यही हो ।

हामीले दूरगामी सोचका साथमा पहिल्यैदेखि नै आर्थिक विकासलाई अगाडि बढाउन नसक्नु नै हो । नत्र हाम्रो नेपालको वायु सेवा निगम सँगसँगै सुचारु गरिएका थाइएयरवेज र सिंगापुर एयरलायन्स अहिले कुन अवस्थामा छन् भनेर हाम्रा नेतागणहरुलाई भनिराख्नु उचित नहोला । यस विषयमा नेपाली नेतागणहरुको ध्यान कहिले जानसक्ला ? के नेपाली जनता सदैव केवल राजनीतिक लडाईंमा मात्र जाने हो र ? राजनीतिक स्वार्थका लागि मात्र के नेपाली जनताले बलिदान दिएका हुन् ?

जति पटक पनि नेपाललाई राजनीतिक लडाईंका मैदान बनाइए त्यसमा कहीँकतै राष्ट्रियता र आर्थिक उन्नति विषयका कुराहरु कुनै न कुनै कुनामा नभएका भने अवश्य नै होइनन् । तर पनि आम नेपाली जनताले राजनीतिक परिवर्तनका लागि भए पनि नेतागणहरुलाई नेपाली जनता पूर्ण रुपले साथ दिएका हुन् ।

अहिले नेपालले भोगिरहेको सीमानाको समस्या भविष्यमा पनि नदोहोरिएला भनेर कसले भन्न सक्छ ? अहिलेको जस्तो जल्दोबल्दो समस्या नेपालले पहिले पनि नभोगेको भने अवश्य नै होइन । नेपालले कहिल्यै पनि आफ्नो घरको ढोका लगाउने बारेमा सोचेन, सदैव केवल चोरी भयो भनेर मात्र अरुले चोरेको सामान फिर्ता गर्ला भनि सोच्यो, त्यसमा पनि भारतीय भनाईमै ‘रोटी र बेटीका रिस्ता’ को विश्वासले तर एउटा कुरा भने हामीले भुलेका छौँँ नेपाल र भारत नै यस्ता देश हुन् जहाँ दैनिक रुपमा दाजुभाइ र परिवारबीच भएका घटनाका समाचार सुन्न पाइन्छ । यस्तो अवस्थामा भारतीय भनाइलाई विश्वास गर्नु भनेको ठूलो मूर्खता पनि हुन सक्ला ।

‘भाइ फुटे गवाँर लुटे’ भन्ने भनाई नेपालको राजनीतिमा परिपे्रक्षमा सदैव लागू भएको पाइन्छ । किनकि नेपाली सधैँजसो नै राजनीतिक मैदानमै लडाई गर्दै आए । नेपाली नेतागण र नेपाली जनता एक आपसमा राजनीतिक लडाई लडिरहँदा त्यसको सम्पूर्ण फाइदाहरु क–कसले उठाए भनेर भनिरहनु नपर्ला । यसरी नै सदैव राजनीतिक लडाईं मात्र लड्ने हो भने नेपाली जनतालाई उज्ज्वल भविष्यको सपना नेपाली नेतागणहरुले नदेखाउँदा नै बेश होला ।

नेपाली जनता राजनीतिक लडाईहरु धेरै लडेर थाकिसकेका छन् । त्यसैले भविष्यको राजनीतिक बाटो सही र सबल बनाउनु छ भने नेपाली नेतागण र नेपाली जनताले राष्ट्रियता र आर्थिक विकासकोे लडाईको मैदानमा होमिनु बाहेकको विकल्प नहोला ।